|

डडेल्धुरा : खानेपानी नभएर काकाकुल हुने नवदुर्गा गाँउपालिका–२ का गाउँमा खानेपानी पुगेपछि सर्वसाधरण्मा खुसी छाएको छ। अग्लो भागमा बस्ती रहेकाले यहाँका अधिकांश बस्तीमा खानेपानीको समस्या थियो।

यस वर्ष मात्रै दुईवटा लिफ्ट खानेपानी योजना सम्पन्न भएर गाँउमा पानी पुगेपछि दैनिकी नै फेरिएको नवदुर्गा गाउँपालिका–२ की स्थानीय देवी भुलले बताइन्। खानेपानीका लागि घण्टौं हिँड्नु पर्ने र रातभरि पालो कुरेर बस्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। 

पानीका लागि लामो समयसम्म संघर्ष गरेको भए पनि गाउँमा बल्ल पानी पुगेको स्थानीय धनादेवी भुल बताउँछिन्। उनले भनिन्, ‘स्थानीय सरकारको कारण हामीले घरमै नुवाइधुवाई गर्न पायौं। गाई, गोरूलाई पनि सहज भयो।’

पानीका लागि बिहान सबेरै न्वालामा गएर बसेको कलावती भुलको तीतो अनुभव छ। ‘कहिले काँही पानीका लागि राति जाग्राम बस्थ्यौँ,’ उनले भनिन्, ‘छोराछोरी भोकै बस्थें। अब त्यो समस्या समाधान भयो।’

नवदुर्गा गाउँपालिका र संघीय सरकारको सम्पूरक बजेटबाट योजना सम्पन्न भएको गाँउपालिका अध्यक्ष कविन्द्र विष्टले बताए। एक करोड रुपैयाँ लागतमा उक्त योजना सम्पन्न भएको हो। 

खानेपानी, सडक, विद्युत्लगायत विकासका पूर्वाधारको निर्माण आफ्नो प्राथमिकतामा राखेको अध्यक्ष विष्टको भनाइ छ। स्थानीय तहमा पहिलो सरकारका रुपमा काम गर्दा निकै सकस रहेको उनले बताए।

‘हरेक क्षेत्रमा शून्यबाट सुरु गर्नु पर्दा निकै कठिनाइहरु व्यहोर्नुपरेको छ,’ अध्यक्ष विष्टले भने, ‘बस्तीहरु डाँडामा रहेका र पानीका स्रोतहरु नहुँदा समस्या भए पनि लिफ्टका माध्यमबाट पानी पुर्‍याइएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.