खर्कमा आगलागीको जोखिम

|

ताप्लेजुङ : अघिल्ला वर्षहरुमा यो समय ताप्लेजुङको हिमाली वस्ती घुन्सालाई हिउँले ढपक्कै ढाक्थ्या। त्यहाँका बासिन्दा जाडो छल्न तल्लो क्षेत्र झर्थे। यस्तै, पाथिभरा क्षेत्रको देउराली, काफ्लेपाटी, ठूलो फेदीसम्म हिउँ खेल्न आउनेको घुइँचो नै हुन्थ्यो। खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। 

तर, यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठ लाग्दा देखिएको छ। खेतबारी मरुभूमिजस्ता भएका छन्। पछिल्ला वर्षहरुमा हिउँ पर्न छाडेको छ। शुक्रबार सदरमुकाम फुङलिङको तापक्रम दुई डिग्री सेलसियस मापन हुँदा माथिल्ला वस्तीहरु ओलाङ्चुङगोला, घुन्सा, याङ्मालगायत क्षेत्रमा माइनसमा झरेको छ। कुवा र धारामा पानी जमेर सिसा जस्तै भएको छ। तर, हिउँ पर्न सकेको छैन।

‘चिसो अत्यधिक बढिरहेको छ। अकाश खुला हुँदा हावा चलिरहेको छ,’ घुन्साका तेञ्जिङ शेर्पाले भने, ‘तर, अघिल्ला वर्षहरुमा हिउँले ढपक्क ढाक्ने पहाड काला छन्।’ स्थानीयबासीका अनुसार बाह्रै महिना हिउँले भरिने उच्च पहाडहरुमा हिउँ क्रमशः घट्दै गएको छ। नाङ्गा डाँडा र फुङ्ग उडेको मैदान मात्र देखिन्छ।

किसानहरु भने अझै हिउँ पर्छ कि भन्ने आशमा छन्। घुन्साका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ।’ यो समयमा हिउँबिनाको ओलाङ्चुङगोला र घुन्साको अर्थ हुँदैन। त्यहाँ मात्र होइन, यो वर्ष पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि हिउँ परेको छैन। तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस्, यो वर्ष पुसमा बाक्लो तुसारो पनि नपरेको माथिल्लो फेदीका स्थानीयहरु बताउँछन्। 

हिउँ नपर्दा स्थान पिच्छेका बासिन्दालाई फरकफरक पीडा पनि छ। गोला, घुन्साका स्थानीयलाई बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथिभरा क्षेत्रका स्थानीयलाई हिउँ खेल्न आउने ग्राहक नआउने हुन् कि भन्ने पिरलो छ। मौसमअनुसार हिउँद यामको मौसममा जमिनको तापक्रम चिसो हुने र त्यस समय परेको हिउँ जमिनको भित्री तहसम्म पुग्ने भएकाले कृषि उत्पादनका लागि फाइदाजनक मानिन्छ। तर, बेमौसममा परेको हिउँले प्राकृतिक विपद् निम्त्याउनुका साथै किसानका लागि बेफाइदा हुने गर्दछ। बेमौसमको हिमपातले हिमताल फुट्ने, नदी कटान र भूक्षयको जोखिम निम्त्याउने गर्छ। अनुकूल मौसमको हिमपातले जमिनको भित्र तहलाई चिस्यान भर्न रिचार्ज गर्ने भएकाले हिउँदयामको हिउँ बरदान मानिएको हो। अनुकूल मौसमको हिमपातले जमिनको उर्वराशक्ति बढाउनुका  साथै अन्नबालीमा लाग्ने विभिन्न रोगहरुको राकथाम गर्न सघाउ पुर्याउने गर्छ।

खर्कमा आगलागीको जोखिम

केही समयअघि पाथीभरा क्षेत्रको वनमा लगेको डढेलो नियन्त्रणका लागि हम्मेहम्मे पर्यो। करिब दुई सातापछि मात्रै डढेलो नियन्त्रणमा आयो। डढेलोले प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर नै जोखिममा परेको थियो। हेलिकप्टरबाट पनि डढेलो नियन्त्रणको प्रयास गरियो। दुई साताभन्दा बढी लागेको डढेलोले रुख र गोब्रे सल्लाका वर्षौं पुराना रूख जलेका छन्।

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले हाब्रेको आहार मालिंगोसमेत जल्दा कति दुर्लभ रेडपाण्डा (हाब्रे) तितरबितर भएको बताउँछन्। डढेलो लागेको क्षेत्र हाब्रेको बासस्थलसमेत हो। 

हिउँदमा पर्ने हिउँले कृषि तथा चरन क्षेत्रलाई फाइदा पुग्छ नै, आगलागीको जोखिमलाई पनि घटाएको हुन्छ। हिमाली बस्तीमा प्रायः सबै घरको छानो काठले बनाएको हुन्छ। हिउँ पर्दा सुकेको काठलाई ढपक्कै ढाकेको हुन्छ। आगोले काठ भेटे पनि हिउँका कारण बल्न पाउँदैन। तर, हिउँ नपरे आगलागीको जोखिम बढ्ने स्थानीयहरुको भनाइ छ।

‘हिउँ नपर्दा पानीका मुहान र धारा पनि सुक्न थालेका छन् भने चिसोले पानी जमेको छ,’ पापुङका स्थानीय छेतेन शेर्पा बताउँछन्, ‘यस्तो समयमा आगलागी भयो भने नियन्त्रणमा लिन सकिँदैन।’ चिसो अत्यधिक बढेकाले कोही चौरी गोठसहित बेसीतर्फ र्झन थालेका छन्। हिउँ नपरे चिस्यान पुग्दैन, त्यसैले यसपटक जौ, उवा र आलु बालीमा असर गरेको छ। यो वर्ष अन्न उत्पादनमा कमी आउने सम्भावना रहेको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.