पर्सा : मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट गत आर्थिक वर्षको सात महिनामाभन्दा चालु आर्थिक वर्षको ७ महिनामा खाना पकाउने एलपी ग्यासको आयात घटेको छ।
आर्थिक वर्ष ०७६/०७७ को सात महिनाभन्दा चालु आर्थिक वर्ष ०७७/०७८ को सात महिनामा खरिद मूल्यका आधारमा पनि ग्यास आयात घटेको पाइएको हो।
गत आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि माघ अर्थात् सात महिनामा वीरगन्ज नाकाबाट १६ करोड ८८ लाख ४५ हजार ७४० किलोग्राम एलपी ग्यास नेपाल भित्रिएको थियो। तर चालु आर्थिक वर्षको सात महिनामा भने वीरगन्ज भन्सार नाकाबाट १४ करोड ३३ लाख ५८ हजार ६०० किलोग्राम मात्र एलपी ग्यास भित्रिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
यो भनेको गत वर्षभन्दा २ करोड ५४ लाख ८७ हजार १४० किलोग्राम कम एलपी ग्यास भित्रिएको हो।
करिब २ अर्ब रकम बाहिरिनबाट जोगियो
मूल्यका आधारमा पनि मुलुकबाट ग्यास खरिदका लागि गतवर्ष बाहिरिएको रकमभन्दा चालु आर्थिक वर्षमा १ अर्ब ९९ करोड ४ लाख २ हजार रकम बाहिरिनबाट जोगिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
यसककारण कम आयात
स्वदेशमा नै विद्युतको उत्पादनमा वृद्धि र प्रयोगतर्फ सर्वसाधारणको आकर्षण बढ्दा ग्यांस आयाततर्फको व्यापार घाटा थोरै भए पनि कम भएको वीरगन्ज भन्सारका भन्सार अधिकृत शैलेश अधिकारीले बताए।
तथ्यगत आधारमा कम किलो ग्यास भित्रिनु र २ अर्ब जति रकम पनि मुलुकबाट बाहिरिनबाट जोगिनु सकारात्मक कदम भएको उनले तर्क गरे।
पेट्रोल पनि कम आयात
वीरगन्ज भन्सार नाकाबाट गतवर्षको सोही समयभन्दा चालु आर्थिक वर्षको सात महिनामा पेट्रोल पनि २० हजार २६१ किलोलिटर कम भित्रिएको छ। गतवर्षको साउनदेखि माघ सम्ममा वीरगन्ज भन्सार नाकाबाट पेट्रोल २ लाख १५ हजार ९ सय ३३ किलोलिटर भित्रिएको वीरगन्ज भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ।
चालु आर्थिक वर्षको सोही अवधिमा भने १ लाख ९५ हजार ६ सय ७२ किलोलिटर मात्र भित्रिएको भन्सार अधिकृत अधिकारीले बताए।
हाइस्पिड डिजेलको आयात बढ्यो
गत वर्षभन्दा ११ हजार ७ सय १७ किलोलिटर बढी हाइस्पिड डिजेल आयात भएको छ। गतवर्ष हाइस्पिड डिजेल ५ लाख ६९ हजार ४१५ किलोलिटर मात्र भित्रिएको थियो। तर, यो वर्षको सात महिनामा भने ५ लाख ८१ हजार १३३ किलोलिटर हाइस्पिड डिजेल भित्रिसकेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।