|

बैतडी : किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ। बुधबार जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप ५ दिनका लागि अनुमति मागेको हो। 

दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप लागेको छ। उनले उक्त आरोप स्विकारिसकेका छन्। गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो। पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी छ। 

अनुसन्धानका लागि प्रहरीले फागुन ५ पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र  बुधबार चौथो पटक म्याद थपेर अनुमति मागेको हो। नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ।

सोहीअनुसार अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन,' उनले भने, ' एक/दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौं', हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको हो। प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ। 

दिनेशको डिएनए परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकोले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ। यसअघि भागरथीको पनि भजाइनल स्बाव विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन। 

जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ। गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा बीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.