|

निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दू राष्ट्र’ शब्दावली हटाएको छ। तर यतिले मात्र हुँदैन। राप्रपाको चुनाव चिह्न गाई पनि हटाउनुपर्छ। राप्रपा संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्रको नारा र गाई चिह्न लिएर चुनावमा जाने गरेको छ।

नेपालको संविधान, २०७२ को धारा ४ मा व्यवस्था भएअनुसार राप्रपाको विधान संविधानविपरीत देखिएको आधारमा निर्वाचन आयोगले राजतन्त्र र हिन्दू राष्ट्र शब्दावलीलाई हटाएर मात्र यो संविधानको अक्षरशः पालना हुँदैन। संविधानकोे धारा ९ को ३ अनुसार राष्ट्रिय जनावरको रूपमा मान्यता दिइएको गाई चिह्नलाई पनि हटाउनुपर्छ। एक त राष्ट्रिय चिह्न कुनै दलविशेषलाई दिनु सरासर गलत हुन्छ। संविधानको धारा ९ मा राष्ट्रिय गान इत्यादिको उपधारा (३) मा ‘नेपालको  राष्ट्रिय  फूल  लालीगुराँस, राष्ट्रिय  रङ  सिम्रिक,  राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुनेछ’ व्यवस्था छ।

अर्को, गाई हिन्दू धार्मिक परम्पराअनुसार पुजिने जनावर हो। हिन्दू धर्मावलम्वीहरूले पवित्र लक्ष्मीको रूपमा पुज्ने गर्दछन् गाईलाई। राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०५८ को दफा (८ को उपदफा (१) को खण्ड (ग) मा दलको नाम, उद्देश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न इन्कार गर्न सक्ने उल्लेख छ। दल दर्तासम्बन्धी यही व्यवस्थाअनुसार गाई चिह्न यसै कारण राप्रपा या कुनै दलको खातामा हुनुहुन्न।

निर्वाचन आयोगको जिम्मेवारी स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने हो। यस्तो निर्वाचन चिह्नले सोझै एउटा धार्मिक समुदायलाई साँस्कृतिक रूपमा संवेदनशील सौदावाजी गर्छ। राजनैतिक दल दर्तासम्बन्धी ऐनअनुसार ‘दलको नाम, उद्देश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको’ भएमा कानुनतः दल दर्ता हुँदैन। यो वाक्यांशको आधारमा गाई चिह्नले यिनै कुरालाई आकर्षित गर्छ। यसले मुलुकको राष्ट्रिय राजनीतिलाई विचार, दर्शनको आधारमा होइन, अमुक धर्म सम्प्रदायको आधारमा विभाजित गर्छ। तसर्थ यस्ता गैरराजनीतिक धाँधलीका तुरुपहरूलाई बेलैमा सच्याउन जरुरी छ।

पहिलो जनआन्दोलनपछि गठित निर्वाचन आयोगले काजिमान कन्दङ्वाले नेतृत्व गरेको जनजाति पार्टीलाई दल दर्ता गर्न इन्कार गरेको थियो। पार्टीको नाम नै कुनै जातीय सम्प्रदायलाई सम्बोधन गर्ने भएको आधारमा आयोगले इन्कार गरेको थियो। दल दर्ता नभएपछि उनले विचारसिंह कन्दङ्वाको नेतृत्वमा जन पार्टी नामको अर्कै दल दर्ता गराएका थिए।

राष्ट्रिय, चिह्न, राष्ट्रिय विभूतिहरू कुनै मानेमा पनि निर्वाचनका औजार हुन सक्दैनन्। उदाहरणको लागि, सिद्धार्थ गौतम बुद्धलाई निर्वाचन प्रयोजनको लागि चुनाव चिह्न बनाइयो भने के हुन्छ? सारा बौद्ध धर्मालम्बीले चिह्नको आधारमा मत दिँदा त्यसको राजनीतिक प्रभाव कता भँडालिन्छ?

नेपालको संविधानको धारा (४)मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।’ संविधानको धारा (४) मा उल्लेख भएको धर्मनिरपेक्ष तथा गणतन्त्रसम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको आधारमा मात्र निर्वाचन आयोगले उक्त शब्दावली हटाएको छ। तर राप्रपाको विधानमा कहीँ कतै समावेशी, लोकतन्त्र, समाजवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको विपरीत विधानमा उल्लेख छ भने त्यो पनि हटाएर मात्र दल दर्ता गर्नुपर्दछ। किनभने प्रमुख राजनीतिक दलहरूलगायत दोस्रो संविधानसभाबाट नियमानुसार पारित दस्तावेज नै नेपालको संविधान हो। धर्मनिरपेक्षताको सवाल र गणतन्त्रको सवाल मात्र संविधानको मान्यता होइन। संघीयता, समाजवाद, लोकतन्त्र पनि त्यत्तिकै अर्थपूर्ण छन्।

गएको फागुन ६ गतेदेखि फागुन १० गतेसम्म राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशनबाट पारित राप्रपाको विधानको प्रस्तावनाको चौथो बुँदामा उल्लिखित ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र एवं राजसंस्था’ उल्लेख गरेको थियो।

निर्वाचन आयोगले विगतका नजिरहरू पनि हेर्नुपर्छ। पहिलो जनआन्दोलनपछि गठित निर्वाचन आयोगले काजिमान कन्दङ्वाले नेतृत्व गरेको जनजाति पार्टीलाई दल दर्ता गर्न इन्कार गरेको थियो। पार्टीको नाम नै कुनै जातीय सम्प्रदायलाई सम्बोधन गर्ने भएको आधारमा आयोगले इन्कार गरेको थियो। दल दर्ता नभएपछि उनले विचारसिंह कन्दङ्वाको नेतृत्वमा जन पार्टी नामको अर्कै दल दर्ता गराएका थिए। यो त भयो विगतको प्रसङ्ग। संविधानलाई अक्षरशः पालना गर्न दललाई लगाउने हो भने संवैधानिक व्यवस्थालाई त्यही स्तरको निर्णय गर्नु उचित हुन्छ। तर, निर्वाचन आयोगको उक्त कदमविपरीत राप्रपाले गैरसंवैधानिक, गैरकानुनी चुनौतीपूर्ण बैठक गरिरहेको छ।

निर्वाचनमा चुनाव चिह्नको महत्त्वलाइ कम आँक्नुहुन्न। हाम्रो जस्तो अविकसित देशमा चिह्नको महत्त्वपूर्ण भूमिका हुन्छ। राजनीतिक सचेतताको अभावमा यस्ता चिह्नहरू भ्रम छर्ने औजार बन्दै आएका छन्। राजनीतिक विचारलाई सोझै ओझेलमा पार्छन्। चिह्नको महिमा–गान गाएर प्रमुख राजनीतिक मुद्दालाइ गौण बनाउने अराजनीतिक खेल हुँदै आएको छ।

यस क्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दोस्रो संविधानसभाको प्रयोजनको लागि मतदाता परिचयपत्र बाँड्ने क्रममा ताप्लेजुङमा पुगेर ‘सूर्य पूर्वबाट उदाउँछ’ भनेर सूर्य चिह्नको लागि घुमाउरो मत मागेको प्रसङ्ग राजनीतिकवृत्तमा चलेको थियो। उनी नेकपा (एमाले) को तर्फबाट नियुक्त भएकाले यस किसिमको भाषा प्रयोग भएको अड्कल धेरैले गरेका थिए, भलै उनले प्रसङ्गवस नै त्यसो भनेका किन नहुन्। उप्रेतीको यही वाक्यलाई एमालेले दोस्रो संविधानसभामा नगदीकरण गर्यो।

सूर्यलाई अर्घ्य दिने, लक्ष्मीलाई पुज्ने जस्ता अर्थहीन तर्क गरेर मतदातालाई प्रभावित गर्ने काम गरिन्छ भने त्यो झनै धाँधलीको तल्लो रूप हो। विगतको संविधानसभामा सुगा (सूर्य–गाई), रूगा (रूख–गाई)को नाममा मतदातालाई प्रभावित गरेको धाँधलीको रूप देखिएको थियो। पछि मत गणनाको परिणाम पनि सोहीअनुसार आएको जगजाहेरै छ। अतः सबै प्रकारका धाँधलीको सबै रूपको अन्त्य गरिनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.