बस्तीतर्फ बढ्दै डढेलो, वन्यजन्तु पनि बस्ती बस्न थाले

|

सर्लाही : सर्लाहीका विभिन्न वन क्षेत्रमा लागेको डढेलो तीव्र रुपमा फैलिँदै गएको छ। आगो निभाउने प्रयास नहुँदा विभिन्न सामुदायिक तथा साझेदारी वनहरुमा लागेको डढेलो झन् फैलिँदै गएको हो। अहिले जिल्लाका अधिकांश वन क्षेत्रमा डढेलो लागेको छ। 

डढेलो निभाउन वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दाले चासो देखाएका छैनन्। एक/दुई ठाउँमा भने बस्तीतर्फ आउन लागेको डढेलो स्थानीय मिलेर निभाएका छन्। वन सखाप हुने गरी लागेको डढेलो निभाउन सरोकारवालाको ध्यान पुग्न नसकेको पनि उनीहरूले आरोप लगाएका छन्। 

ईश्वरपुर नगरपालिकास्थित फूलजोर बाबा साझेदारी वन क्षेत्रमा एक साताभन्दा बढी दिनदेखि डढेलो लागिरहेको स्थानीयवासीले जानकारी दिएका छन्। डढेलोका कारण सयौं हेक्टरको रुख, बिरुवा जल्दा वन क्षेत्र उदांगो बन्दै गएको १२ नम्बरका वडाध्यक्ष नागेन्द्र पाख्रिनले जानकारी दिए।

लामो समयदेखि पानी नपर्दा यस वर्ष वन क्षेत्रमा धेरै डढेलो लागेको छ। वन क्षेत्रमा अहिले पातपतिङ्गर झरेकाले चर्को घाम लाग्ने दिउँसोको समयमा थप डढेलो बढ्ने गरेको त्यस क्षेत्रका स्थानीयको भनाइ छ।

यस्तै, जिल्लाको चुरे भेगका वन, जानकीनगर, मुर्तिया, बाँके क्षेत्रका वनहरुमा पनि डढेलो लागिरहेको छ। जताततै डढेलो लाग्दा स्थानीयले केही दिनदेखि बाहिर हिँड्दा आँखा पोलेको महसुस गरिरहेका बागमती नगरपालिका–३ जिरातका स्थानीय नवराज अधिकारीले गुनासो गरे।

डढेलोबाट ज्यान जोगाउन वनहरुमा रहेका हरिण, बँदेल, बाँदर, निलगाईजस्ता वन्यजन्तु मानव बस्ती र किसानको खेतबारीमा पस्न थालेका छन्। यही मौकामा वन्यजन्तुको चोरी सिकारी बढेको बताए।

सबडिभिजन वन कार्यालय मूर्तियाका सहायक वन अधिकृत चन्द्रप्रकाश रायले शिकारीहरुले वन्यजन्तु शिकार गर्न उनीहरुले नै जंगलमा आगो लगाउने गरेको पनि बताए।  

यता डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले सबैतिर एकैपटक डढेलो लाग्दा आगो निभाउन गाह्रो परेको बताए। उनका अनुसार सीमित स्रोत, साधनका कारण पनि वनका कर्मचारीबाट केही ठाउँमा लागेको डढेलो निभाउने काम भइरहेको जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.