|

बुटवल : सरकारले बुुद्ध जन्मस्थल लुम्बिनीबाट भारत र चीन जोड्नका लागि महत्वाकांक्षी योजना अघि सारेको छ। दक्षिणको छिमेकी मुलुक भारतको सीमानाबाट शुरु भएर उत्तरको छिमेकी मुलुक चीन जोड्ने गरी मार्ग बनाउने महत्वाकांक्षी योजनाको तयारी सरकारले गरेको हो। 

यो राजमार्ग बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीबाट शुरु भएर रारा ताल हुँदै चीन जोडिने अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा. डा. पूण्यप्रसाद रेग्मीले बताए। यो योजना आगामी बजेटमा समेत समावेश हुँने उनले बताए। चीन र भारतलाई जोड्ने गरी निर्माण हुने उक्त सडकको डीपीआरका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने सैद्धान्तिक सहमति बनेको उनले बताए।

‘यो भारत र चीनसंगको महत्वपूर्ण लिंक रोड हुनेछ, एक कार्यक्रममा सहभागी हुन बुटवल आएका रेग्मीले भने ‘अवधारणाका बारेमा सैद्धान्तिक सहमति भइसकेको छ।’ यो सडकको अवधारणाका परिकल्पनाकार रेग्मीले चीनले चासो व्यक्त गरिसकेको बताए। लुम्बिनी–रारा–चीन जोडिने गरी अवधारणा बनेको यो सडकको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा समेत छलफल हुने रेग्मीले बताए। ‘केरुङको विषयमा छलफल हुँदा यो सडकको विषयमा पनि छलफल हुन्छ' उनले भने।

यो सडकका लागि जुम्लाको ताम्ती डाँडामा सुरुङ बन्ने छ। त्यो बाहेक हालकै लुम्बिनी–दाङ, दाङ–जाजरकोट सडकलाई स्तरोन्नति गरेर कायम गरिने छ। रारा पुगेको सडकलाई चीनसम्म जोड्ने योजना छ। यो सडक निर्माणका लागि चिनियाँ पक्षबाट इच्छा जाहेर भइसकेको रेग्मीले बताए। उनले बनाएको योजनाअनुसार बुद्धको जन्मभूमि लुम्बिनीबाट मुगुको राराताल ७ घण्टामै पुगिनेछ। लुम्बिनीदेखि मुगुको रारा ताल पुग्ने सडकलाई पर्यटन मार्ग भनिनेछ। 

रारा हुँदै चीन जोडिँदा यो सडक केरुङ सडक सञ्जालमा मिसिनेछ। यो भारत–नेपाल–चीन जोड्ने महत्वपूर्ण लिंक रोडका रुपमा विकास हुने अपेक्षा सरकारको छ। यो सडकको मुख्य उद्देश्य भारत र नेपालको तराईलाई सिधै हिमाल र चीनसंग जोड्दै नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउनु हो। तराईको रुपन्देहीमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी घुमेर भित्री मधेश, पहाडका दृश्यहरु, पर्यटकीय स्थलहरु घुम्दै रारा पुग्ने र एकैदिनमा हिमालको दृश्य सकिने सुविधा यो सडक निर्माण पछि हुने छ। यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनेछ। 

‘भारत र चीनका १०/१० प्रतिशत जनसंख्यालाई मात्रै नेपाल घुमाउन सकियो भने मात्रै पनि हाम्रो अर्थतन्त्र सबल हुनसक्छ’ सल्लाहकार रेग्मीले भने–‘यो सडकको लक्ष्य दुवै देशका पर्यटकलाई स्थलमार्ग हुदै नेपाल घुमाउने हो।’ सडक निर्माणको विस्तृत योजना भने छलफलमै रहेको छ । आगामी बजेटमा डिपिआर निर्माण गर्ने गरी बजेट बिनियोजन हुनेछ। 

लुम्बिनी–रारा सडक सञ्जालकै शाखाका रुपमा हिमाली राजमार्ग बनाउने योजना रहेको रेग्मीले बताए। लुम्बिनी–रारा–केरुङसम्म सडक जोडिएपछि रेलमार्ग सहितको चक्रपथ निर्माण हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.