|

काठमाडौं : स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षभित्रमा देशभरका सबै जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गर्ने भएको छ। नेपालका अधिकांश महिलाहरूको मृत्युको मुख्य कारणको रूपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनीकरणका लागि मन्त्रालयले देशभरि सेवा विस्तार गर्ने भएको हो। 

नुवाकोटको विदुरमा भएको प्रजनन स्वास्थ्य मेलालाई शुभकामना सन्देश पठाउँदै  स्वास्थ्यमन्त्री गगन थापाले महिलासम्बन्धी रोगहरूको उपचार सेवा र चेतना वृद्धिका कार्यक्रमहरू तीव्र रूपमा विस्तार गर्ने उल्लेख गरेका छन्। नुवाकोटमा भएजस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा सञ्चालन गर्ने जानकारी उनले दिए। 

त्यस्तैे पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सिन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा सञ्चालन भइरहेको उनले उल्लेख गरेका छन्। आगामी वर्षदेखि यस्ता कार्यक्रम क्रमशः सबै गाउँपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्‍याउने लक्ष्य रहेको मन्त्री थापाको भनाइ छ। 

मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा. नरेशप्रताप केसीले २ सय ७१ जनाको परीक्षण गरिएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.