तिमी जे सोच्छौ : त्यही बन्छौ, जे महसुस गर्छौ : त्यही कुराप्रति आकर्षित हुन्छौ र जे कल्पना गर्छौ : त्यही सृजना गर्दछौ! - भगवान बुद्ध
आकर्षणको नियम र शक्तिबारे धेरै लेखक र विद्वत् वर्गका लेखहरू पढ्ने गरिन्छ। तर, भगवान बुद्धले आजभन्दा करिब २६०० वर्ष अघि नै हामीलाई दिनुभएको देशना कत्तिको पालना भएको छ, एकपटक मनन गर्नुपर्ने हुन्छ।
मानिसको स्वभाव न हो, मनबाट अनेक तर्क र सिद्धान्त सृजना गरेर जीवनबारे बुझ्नमै आफूलाई सुम्पिन्छ। जीवन त जीवन नै हो, अब यसलाई जीवन्त पार्नुपर्छ भनेर सोच्नु र व्यवहारमा उतार्नुभन्दा पनि जीवनको उद्देश्य हासिल गरौंला भन्नेमै समय बितेको पत्तै पाउँदैन।
जति पनि खोज, आविष्कार, अनुसन्धान र विज्ञान जन्मे : ती मानिसकै आकर्षणको शक्ति र मानिसले जे चाहन्छ-त्यही मिल्ने अस्तित्वको नियम नै हो। किनकी अस्तित्व मानिसको प्रार्थनाभन्दा पर जान सक्दैन।
गहन प्रश्न छ-मानवका लागि आखिर हामीले मागेका के छौं? आफ्नो जीवनमा, घर परिवारमा, समाजमा, राष्ट्रमा, राजनीतिक पार्टीमा, कुनैपनि व्यवसायिक, शैक्षिक संघ र संगठनमा के मागेका थियौं र के पायौं?
या मागेको चिजभन्दा फरक पाएका छौं? धेरै प्रश्न छन्-जसको जवाफ हाम्रो सोच र हामीले प्राप्त चिजका परिणामले जीवनमा देखाइरहेका छन्।
खुसीप्रति आकर्षण
जीवनमा आफूले चाहेजस्तै जीवन साथी मिलोस्, प्रेमी-प्रेमिका मिलोस्, घर, सन्तान, सवारी साधन, धन, पद र सम्मान जे पनि चाहना सबै मिलोस् भनेर त्यसप्रति आकर्षित भएकै कारण त आज मानिससँग चाहेको चिज उपलब्ध छ। यसमै खुसी मिलेको हुन्छ र यसलाई नै सफलता या आफ्नो कमाइ या आर्जन भन्ने गरिन्छ।
हाम्रो सोच अनुसार भावबाट इच्छा गर्यौं, कल्पना त्यही हुन थाल्यो र जीवनमा मिल्यो। तर, यसबीचमा पनि धेरैको जिज्ञासा अझै बाँकी छ। यो त मैले चाहेकै थिइनँ, तर भोगिरहेको छु। किन यस्तो भएको होला त? सोचकै बारेमा फेरि सोचौं? जे चिज पाउने इच्छा भयो त्यो पाउने माध्यम सकारात्मक, सत्य र इमानदारिताको थियो कि थिएन? जे पाउने इच्छा भयो-त्यसका लागि सही मेहनत र प्रयास थियो या चतुर्याइँ? त्यो पाउँदा अरूलाई दु:ख, कष्ट दिएर, ठगेर, झुठो व्यवहार गरेर पाइयो या सत्यको मिहिनेतले? चाहनाले प्राप्तिमा त लैजान्छ नै तर, कसरी चाह्यौँ : त्यो महत्त्वपूर्ण पक्ष हो।
मैले के कल्पना गरें, म किन आकर्षित भएँ र त्यो वास्तवमै मेरो लागि आवश्यक थियो या थिएन? जुन चिजको प्राप्तिले खुसी मिल्छ त्यो दीर्घकालीन हुन्छ कि हुँदैन? त्यसले मेरो जीवन ऊर्जालाई सकारात्मक रूपान्तरण गर्नमा मद्दत गर्यो कि गरेन? आफ्नो व्यवहार र सोचको परिणाम नै जीवनको उपलब्धि र खुसीको मापन हुने भएकोले त्यो खुसी प्राप्तिमा सदाचार, शिष्टता, साहस, धैर्यता, प्रशंसा, बोध, प्रफुल्लता, अहोभाव, विनम्रता र संवेदनशीलताका गुण आवश्यक हुन्छन्।
सोचाइको नियम
सोचको परिणाम जीवनशैलीमा उत्रिन्छ। यसलाई अनुभूति गर्न कुनै कठिन विज्ञान जान्नु जरूरी छैन। मानिसको सोचमा चुम्बकीय शक्ति नै हुन्छ। तर, उसले त्यो शक्ति सही कुरामा र निरन्तर लगाउन सकेको हुँदैन। त्यसैले, चाहेको जस्तो प्राप्त हुँदैन।
हाम्रो सोच र विचारको शक्ति यति शक्तिशाली हुन्छ कि हामीले सोच्नासाथ त्यो कम्पन ब्रह्माण्डसँग एकाकार हुन पुग्दछ। अब सबै अस्तित्व हाम्रो सोचाइलाई पूरा गर्नतिर लाग्दछन्। हाम्रो सोचाइ पूरा भएनन् भने त्यसमा हाम्रो मलजल पुगेन, ध्यान पुगेन, निरन्तरता भएन।
यस्तो अभ्यास समाजमा रहेका व्यक्तिहरूमा देखिएको पनि छ। होसपूर्ण, सकारात्मक सोचको नियमलाई आफ्नो जीवनमा अभ्यासमा ल्याउनेले शान्त, सफल, सम्पन्न र प्रेमिल जीवन बिताएका हुन्छन्। जीवनमा कष्टकर अवस्था आइपर्नु, समाजमा अराजकता फैलिँदै जानु, हानिकारक अभ्यासहरू र अमानवीयता बढ्दै जानु नकारात्मक सोचका परिणाम र अभ्यास हुन्।
जीवन रूपान्तरणको आकर्षण
प्रकृतिमा पशुपक्षी, वनस्पति आदिलाई रूपान्तरणको विज्ञान सिकाउनु र बुझाउनु जरूरी छैन। तर, मानिसलाई रूपान्तरणको विज्ञान नसम्झाउने हो भने अस्तव्यस्त र ग्रस्त हुन बेर लाग्दैन।
हामीले परिवर्तन खोज्यौं, रूपान्तरण खोजेनौँ, त्यसैले आज समाज र राष्ट्रमा हामीले चाहेको विकास नभएको महसुस हुन्छ। राजनीतिक अभ्यासदेखि लिएर नेतृत्व तहको भूमिका र परिणति हेर्यौँ भने सहजै अनुमान गर्न सक्छौँ-हामीले चाहेको विकास कहिले होला, स्थिरता कहिले आउला? यसको अर्थ हामी रूपान्तरण खोजिरहेका छौं।
सोच र तर्कले मात्र महत्वाकांक्षा गर्ने अभ्यासमा आफ्नो प्राकृतिक गुणवत्ता नै बिर्सिसकेको छ मानिसले। अस्तित्वले उपलब्ध गराएको ज्ञान, प्रज्ञा, सत्यता र संवेदनशीलताको प्रयोग मानिसले कहिले को माथि कसरी गर्ने हो?
त्यसैले, वर्तमानको क्षणिकतालाई दीर्घकालीन सुख र सन्तोषमा बदल्न मानिससँग रूपान्तरणको विज्ञान र कला हुनु जरूरी छ। आफ्नो जीवनशैली, स्वास्थ्य, मानसिक अवस्था र चिन्तनलाई स्व-मूल्यांकन गर्दै प्राकृतिक गुणवत्तामा स्थिर रहन स्वयंको सचेतना जरूरी छ।
जब हामी रूपान्तरणप्रति आकर्षित हुन्छौं तब हामीमा सकारात्मक ऊर्जाको विकास हुन्छ। सकारात्मक ऊर्जाको स्व-अनुभूति र त्यो ऊर्जाको सिञ्चन र हेरचाहमा तल्लीन हुनासाथ जीवन रूपान्तरण हुनेछ। स्व-यथार्थ बोध हाम्रो सफलता र ज्ञान हो भन्ने अनुभूति मिल्दछ।
आखिर चाहेको के?
जीवनका अनेक आपधापीको परिणाम हामीले चाहेको के भन्ने नै हो।
साधनको जोहोले जीवनलाई सहज बनाउँछ, त्यो जुटाउन गर्ने मिहिनेत ठीक छ। जीवन बाँच्न आवश्यक भौतिक सुविधाका लागि आवश्यक पुरुषार्थ गर्नैपर्छ। जीवन सरल, सहज र सन्तोषले जिउन सकियोस्-त्यसका लागि पनि प्रयास गर्नैपर्छ।
आवश्यक श्रम गरी सृजनात्मक बन्नु आफ्नो दायित्वभित्र नै पर्दछ। तर, यसकै बहानामा जीवनमा अनावश्यक परिश्रम, अनावश्यक सोच, अनावश्यक आर्जन गर्न पुगेका त छैनौँ? त्यो नसोच्ने हो भने आखिर जीवनमा चाहेको के हो थाहा पाउन सकिन्न। धेरैले जीवनको उत्तरार्द्धसम्म पनि थाहा नपाउनुको कारण पनि यही हो।
भ्रष्टाचार गरेर कमाएको सम्पत्ति, असत्य बोलेर कमाएको शत्रुता, अखाद्य वस्तु सेवन गरेर आर्जन गरेको अस्वस्थता, अस्थिर जीवनशैली पनि हाम्रै कर्मका परिणाम भएकाले यो रोजाई हाम्रो होइन भन्ने चेत खुल्नु जरूरी छ। सुख प्राप्तिको लागि भोगेका र आर्जन गरेका दु:खलाई सहजताको आयाममा परिवर्तन गर्नुछ।
हामी जे चाहन्छौं-त्यही प्राप्त हुन्छ। आफ्नो चाहनालाई ख्याल गरौँ र सकारात्मक कुराको चाहना राखौं। वर्तमानको जीवन र परमार्थको पनि ख्याल गर्दै होसपूर्ण सहज जीवन बिताउने कला विकास गरौं। जीवनको अन्तिम रोजाइ आत्मसन्तोष नै हो।
सन्तोषः परमो लाभः सत्सङ्गः परमा गतिः।
विचारः परमं ज्ञानं शमो हि परमं सुखम् ॥
तपाईंको ईमेल गोप्य राखिनेछ ।