|

पर्सा : अवैध हतियार र लागुऔषध कारोवारीलाई लुटपाट गर्ने प्रहरी जवानसहित आठ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अवैध हातहतियार र लागुऔषध पनि लुटपाट गर्ने प्रहरीसहितको गिरोहलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको हो।

अवैध हातहतियार र लागुऔषध कारोवारीलाई प्रहरी जवानसहितको लुटेरा समूहले वीरगन्जको बसपार्कस्थित मनकामना गेष्ट हाउसबाट लुटेको प्रहरीले जनाएको छ। लुटपाट गर्ने प्रहरी जवान रौतहट सखुहवा नगरपालिका–१ घर भई पर्सामा कार्यरत अवधेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी जवान यादवको लुटेरा समूहमा वीरगंज महानगरपालिका–१२ का ४३ वर्षीय लालबाबु सिंह, ४२ का कुँवर सिंह, ३१ वर्षीय रोशन सिंह, २४ वर्षीय नन्दन सिंह, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता र ३५ वर्षीय श्यामबाबु कुशवाहा रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। कुशवाह र गुप्ता प्रहरी आउँछ कि भन्दै बाहिर हेर्ने र अरु भित्र पसेर लुटपाटमा संलग्न रहेको खुलेको खनालले जानकारी दिए।

त्यो समूहले मकवानपुर मनहरी गाउँपालिका–५ का २५ वर्षीय राजु रानामगर र ठेगाना नखुलेका काठमाडौं बस्ने राम प्रजापतिले अवैध रुपमा भारतको रौक्सौलबाट खरिद गरी ल्याएको १ थान स्वचालित पेस्तोल, २ थान म्याग्जिन लुटेको फेला परेको छ। त्यसैगरी लागुऔषध नुर्फिन एक सय थान, डाइजोपाम एक सय थान, फेनार्गन एक सय थान र नाइट्रोभेट एक हजार दुई सय ट्याबलेट पनि अभियुक्तसँगै बरामद भएको खनालले बताए। रानामगर लागुऔषध दुर्व्यसनमा फसेको र रक्सौलबाट काठमाडाैं लागुऔषध पुर्याएर बिक्री गर्दै आएको खुलेको छ। 

कुँवर अपराधकर्मका पुराना खेलाडी     

कारोवारीले भारतबाट सो सामान अवैध तरिकाले खरिद गरी मनकामना गेष्ट हाउसको रुम नम्बर १०५ मा भण्डारण गरेका थिए। पहिले पनि आपराधिक गतिविधिमा लागेका कुँवर सिंहले चलाएको अटो रिक्सामा रानामगर र प्रजापती सामान लिएर आएकोले उनको समूहलाई सूचना पाउन अटोरिक्सा चालक सजिलो माध्यम बनेको बुझिएको छ।

अवैध हातहतियार, लागुऔषध किनाउने लुट्ने र पुनः अर्कोलाई बेच्ने प्रहरी जवानसहितका लुटेरा गिरोहको पुरानै काम भएको खुलेको प्रहरीले जनाएको छ। 

अर्को पेस्तोल लिन जाँदा पक्राउ 

गेष्ट हाउसबाट सामान लुटिएपछि रानामगर गएको चैत ८ गते पुनः अर्को एक थान पेस्तोल र दुई थान म्याग्जिन लिन रक्सौल गएको खुलेको छ। उनी त्यो सामान लिएर आउँदै गर्दा वीरगन्जको शंकराचार्य गेट नजिक पक्राउ परेपछि सबै कुरा सतहमा आएको पर्सा प्रहरीले जनाएको छ।

रानामगरसँग काठमाडाैंबाट आएका राम प्रजापति भने गेष्ट हाउसमा लुटिएपछि काठमाडाैं तर्फ नै गएकोले उनी पक्राउ नपरेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

अवैध हातहतियार कारोवार गर्ने र त्यो पनि लुटपाट गर्ने आठै जनालाई लागुऔषध, हातहतियार खरखजाना र संगठित अपराध गरेको कसुरमा कारबाही अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.