|

मकवानपुर : मकवानपुरमा आज बिहीबारबाट मालपोत र नापी कार्यालय बन्द हुने भएका छन्।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार यी कार्यालय बन्द हुने भएका हुन्।

सेवाग्राहीको भिड हुने कार्यालयमा संक्रमण हुने जोखिमबाट सुरक्षित रहनका लागि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो। 

कार्यालयमा सेवाग्राहीको भिड नहोस् भन्नका लागि बन्द गरिए पनि आन्तरिक कार्यहरू भने हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

मकवानपुरमा कोरोना परीक्षण कार्यलाई सुधार गराउनका लागि पनि तयारी गरिएको छ। स्वाब संकलन कार्यलाई छिटो, छरितो र व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिकाले आवश्यक प्रबन्ध मिलाउने भएको छ। हेटौंडा १० स्थित गोरक्षश्वर मन्दिर परिसरमा कोरोना परीक्षणका लागि आवश्यक तयारी गर्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

यस्तै, कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन आपूर्तिमा समस्या नहोस् भन्नका लागि पनि सम्बन्धित पक्ष तयारी हालतमा रहने भएका छन्। मकवानपुरका अक्सिजन सिलिन्डर सप्लायर्सहरूले अस्पतालका चिकित्सकको सिफारिसका आधारमा मात्र व्यक्तिहरूलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउनुपर्नेछ।

कोरोना संक्रमण समुदायमा नफैलियोस् र स्थिति भयावह नबनोस् भन्नका लागि भारतलगायतले तेस्रो मुलुकबाट आउने नागरिकलाई होम क्वारेन्टाइन बस्नुपर्ने नियम पालना गराउन सरोकारवालाले ध्यान दिने भएका छन्।

यसरी बाहिरबाट आएका व्यक्ति होम क्वारेन्टाइनमा बसे नबसेको सम्बन्धित स्थानीय तहले अनुगमन गर्नुपर्ने भएको छ।

कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि मकवानपुरमा यसअघि नै भिडभाड हुने केही कार्यालय बन्द गरिसकिएका छन् भने सैलुन, ब्‍युटिपार्लर, मदिरा व्यापारलगायत बन्द भइसकेका थिए। बिहीबारबाट मालपोत, नापी कार्यालय पनि बन्द गरेर जोखिम न्यूनीकरणको कार्य गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत, सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए।

कोरोना संक्रमण तीव्र फैलिरहेको पर्सा तथा चितवनको छिमेकी जिल्ला मकवानपुर पनि उच्च जोखिममा रहेकाले संक्रमणबाट सुरक्षित रहनका लागि प्रशासनले आग्रह गरेको छ। मकवानपुरमा यातायातको चाप कम गराउन सवारीमा जोर विजोर कार्यान्वयन गरिएका छन्। मास्क नलगाई हिँड्नेलाई प्रहरीले सय रुपैयाँ जरिवाना लगाउने गरेको छ।

कोरोना भाइरस संक्रमणबाट मकवानपुरमा हालसम्म ३४ जनाको मृत्यु भएको भने सक्रिय संक्रमितको संख्या ३ सय १५ जना पुगेको छ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत, कोभिड फोकल पर्सन भोला चौलागाईंका अनुसार संक्रमण भएको १० दिनपछि संक्रमित सूचीबाट नाम हटाइने भएकाले आज २१ जना संक्रमणमुक्त सूचीमा हुनेछन्।

संक्रमितको संख्या बढ्दै गएर ५०० पुगेमा मकवानपुरमा पनि लकडाउन अथवा निषेधाज्ञा जारी गर्नुपर्ने फोकल पर्सन चौलागाईं बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.