|

काठमाडौं : ठमेलको वैशाली होटलमा एक महिनादेखि एक इरानी समूह पाँचवटा कोठा बुक गरेर बस्दै आएको थियो। समूहमा पाँच वर्षका बच्चादेखि ७० वर्षसम्मका गरी १२ जना थिए।

उनीहरूले दुईवटा गाडी र केही मोटरसाइकल भाडामा लिएका थिए। गाडी लिएर उनीहरू सबेरै होटलबाट निस्कन्थे, प्रायः बेलुका अबेर नै फर्किन्थे। कुनै भीआईपी पर्यटक भएको होटलका कर्मचारीको अनुमान थियो।

शुक्रबार प्रहरी होटलमा पुगेपछि मात्र उनीहरूले थाहा पाए ती भीआइपी पर्यटक नभएर ‘भीआईपी चोर’ थिए, जसले नाटकीय तरिकाले राजधानीका करिब दुई दर्जन पसलहरूबाट लाखौं रुपैयाँ चोरिसकेका थिए। 

गाडी लिएर घुम्न नभई उनीहरू चोरी गर्न निस्कन्थे। समूहका ६ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ भने अन्य ६ जना फरार रहेका छन्। १२ जनाको समूह नै नेपालमा चोरी गर्न आएको प्रहरीले जनाएको छ।

समूहका ७० वर्षीय ग्लाम बलबम र उनका छोरा मोहम्मद रियाजेलाई प्रहरीले दिउँसो दरबारमार्गबाट पक्राउ गरेको हो। सो समूहका चारजना भने स्वयम्भूबाट समातिएका हुन्। उनीहरूले सामान किन्ने बहाना गरेर पसलको घर्राबाट नाटकीय तरिकाले रुपैयाँ निकालेर भाग्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी नवराज अधिकारीले बताए।

राजाको फोटो भएको तथा लालीगुराँसको चित्र भएको हजारका नोट चाहिएको भन्दै पसलेलाई झुक्याएर उनीहरूले ठग्ने गरेको प्रहरीले जनाएको छ। हालसम्म १५ वटा उजुरी प्रहरीमा परिसकेका छन्। अरु धेरैलाई ठगी गरेको प्रहरीको अनुमान छ। बिहीबार कुलेश्वरमा उनीहरूले पुक्ष्प केसीको पसलमा पुगी मदिरा किन्ने भन्दै झुक्याएर घर्रामा रहेको ४४ हजार रुपैयाँ चोरेर भागेका थिए।

कुलेश्वरकै अन्य पसलबाट त्यही शैलीमा उनीहरूले चोरी गरेको प्रहरीले बताएको छ। त्यस्तै स्वयम्भूबाट ६ जनाले उजुरी दिएको डीएसपी कोमल शाल बताए। उनीहरूले पक्राउ परेका बाबुछोराले नै ठगी गरेको सनाखत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.