|

सर्लाही : सर्लाहीको किसानले उत्पादन गरेको मकैको उचित मूल्य नपाएपछि चिन्तित भएका छन्।

कोरोना माहामारीका कारण किसानको आर्थिक अवस्था जर्जर बनेका बेला जिल्लाको उत्तर-पश्चिम क्षेत्र बरहथवा, शंकरपुर, हजरिया, जानकीनगर, राजघाट,पत्थरकोट मुर्तिया, ईश्वरपुरलगायत क्षेत्रमा उत्पादित मकैले यसपालि पनि उचित भाउ पाउन सकेन। 

किसानले अपेक्षा गरेभन्दा मकैको मूल्यमा भारी गिरावट आएपछि किसानहरूलाई मकै बेच्न पनि अफ्ठ्यारो हुन थालेको छ। 

लकडाउनका कारण गत वर्ष पनि मकै किसानले प्रतिक्विन्टल २ हजार रुपैयाँमै चित्त बुझाएका थिए। यस वर्ष पनि मकै बिक्री गर्ने समयमा कोरोना महाव्याधिका कारण निषेधाज्ञा भएपछि व्यापारीले मकैको मनपरी भाउ तोकेका छन्। एउटै गाउँमा कतै २ हजार एक सय कतै २ हजार दुई सयमा किसानले मकै बिक्री गरिरहेका छन्।

परार साल ३ हजार रुपैयाँसम्म बिक्री भएको मकै यस वर्ष भने औसतमा प्रतिक्विन्टल २ हजार एक सय रुपैयाँमा  बिक्री भइरहेको बागमती–१० का किसान मंगली मुर्तुजाले गुनासो गरिन्। 

उनका अनुसार गएको वर्ष पनि किसानले लकडाउनका कारण उचित मूल्य पाउन सकेका थिएनन्। यसवर्ष पनि मूल्य पाइएला भने पनि पोहोरको जस्तै हालत भएको उनले बताइन्।

बन्दाबन्दीको बहाना बनाएर व्यापारीले किसानलाई लुटिरहँदा पनि सम्बन्धित निकायले यसतर्फ ध्यान नगएको उनको गुनासो छ। अहिलेको मूल्यमा मकै बिक्री गर्दा घाटा हुने भएकोले कतिपय किसानले तयार पारिएको मकै निषेधाज्ञा खुलेपछि बढी मूल्य पाउने आशामा भण्डारण गरेर राखेका छन्। 

१५ वर्षदेखि व्यावसायिक रुपमा दुई बिघामा जमिनमा वर्ण शंकरजातको मकै खेती गर्दै आइरहेका बरहथवा नगरपालिका ५ हाथीडण्डाका जगलाल महतोले कोरोना माहामारीका कारण समयमा पर्याप्त मल र बिउ नपुग्दा र यस वर्ष हिउँदमा वर्षा नहुँदा मकै उत्पादनमा कमी आएको बताए।

'अघिल्लो वर्षहरुमा प्रतिकठ्ठा चार क्विन्टल बढी हुन्थ्यो, यस वर्ष तीन क्विन्टल मात्र उत्पादन भयो। एकातिर भाउ छैन। अर्कोतिर उत्पादनमा पनि कमी आयो,' उनले भने, 'कुनै समय यही जमिनमा उत्पादन भएको मकैबाट ४ लाख ५० हजार लिएको थिएँ। परार दुई बिघामा १ सय ६० क्विन्टल मकै उत्पादन भएको थियो।'

जारी निषेधाज्ञाका कारण पर्याप्त गाडी नचल्नु र मकै खरिद गर्ने दाना उद्योग नचल्दा मकैको माग नभएकाले मूल्यमा गिरावट आएको व्यापारीहरू बताउँछन्।

सर्लाहीमा  ११ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.