रुकुम (पूर्व) : रुकुम पश्चिमको एक बुडुमष्टको मन्दिरमा चोरी भएको छ। बाँफिकोट गाउँपालिका–५ काँडास्थित मन्दिरमा आइतबार राति चोरी भएको हो।
मन्दिरबाट तीन लाख ५ सय ४० रुपैयाँ नगदसहित २ तोला सुन, ४ तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चोरी भएको हो। मन्दिरमा पूजापाठ गर्न आउनेहरूले ती मुद्रा मन्दिरमा चढाएका थिए।
मन्दिरको उत्तरतर्फको गेट फोडेर मन्दिरभित्र पसेर चोरी भएको बुडुमष्ट क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरभित्र रहेको दराज फोडेर नगद र धातु चारी भएको कोषका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिए।
मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू भने चोरी भएको छैन। उक्त नगद मन्दिरमा भेटीबापत चढाइएको रकम हो। सोमबार बिहानै पूजापाठका लागि मन्दिर पुगेका पुजारीले मन्दिरमा चोरी भएको थाहा पाएका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बाँफिकोटले त्यसको मुचुल्का उठाएको छ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले चोरी भएको खबर आएपछि बाँफिकोट इलाका प्रहरी कार्यालयलाई आवश्यक अनुसन्धानका लागि परिचालन गरिएको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।