|

गोरखा : लगातार तीन दिनदेखि परेको वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका-३, सल्लेरीमा चारवटा घर बाढीले बगाएको छ। गएराति बूढीगण्डकी नदीमा आएको बाढीले घर बगाएपछि त्यहाँका स्थानीयहरूले भीरपाखामा बसेर रात काटेका छन्। 

प्राप्त जानकारीअनुसार बूढीगण्डकी नदी बस्तीमा पस्दा स्थानीयवासी सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको हो। सल्लेरीमा २७ घरधुरी छ।

गएराति बूढीगण्डकी नदीमा आएको बाढीले सल्लेरीमा तीन घर बगाएको र आधा दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्‌।

उनले थाहाखबरसँग टेलिफोनमा भने, ‘चार घर  बगाइसकेको छ, सात/आठ घर उच्च जोखिममा छ भन्ने सूचना प्राप्त भएको छ। त्यहाँ प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिनुभएको छ।’

भौगोलिक विकटताका कारण थप उद्धारका लागि राहत समाग्री सहित टोली पठाउन नसकिएको प्रजिअ पौडेलले बताए। ‘त्यहाँ पाल र खाद्यान्नलगायत सामान लिएर टोली पठाउन सकिएको छैन, सवारीसाधन जानसक्ने अवस्था छैन। ठाउँठाउँमा पहिरो चलिरहेकाले हिँडेर जान पनि सम्भावना छैन’, उनले भने।

त्यहाँ प्रहरी टोलीले स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेको उनले बताए।

चुमनुब्री गाउँपालिकाका अधिकांश भूभागमा भीरपाखा रहेको छ। लगातार परेको वर्षाका कारण यहाँ पहिरोको पनि उच्च जोखिम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.