|

गोरखा : संयुक्त सचेत दलित संघर्ष समितिले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रदर्शन गरेको छ।

आइतबार जिल्ला सदरमुकाममा समितिले कालोपट्टी बाँधेर मानव–मानवबीचको जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन माग गर्दै प्रदर्शन गरेका हुन्।

शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, हामी नबोले को बोल्ने, आवाज उठाऊ युवाहरु, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने लगायतका नारा लेखिएका प्लाकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनमा सहभागी आनन्द नेपालीले उच्च जातका भनिएका समाजका केही व्यक्तिद्वारा सिंगो दलित समुदायमाथि सामाजिक, सांस्कृतिक र अन्य रुपमा छुवाछुत तथा दमन गर्ने जस्ता क्रियाकलाप भइरहेको बताए। जातीय विभेद हट्न नसकेकाले प्रदर्शनमा उत्रिनु परेको उनले बताए।

हालै जातीय विभेद गरी काठमाडौंमा रुपमा सुनारलाई कोठा भाडामा नदिएको तथा गोरखाको भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु सेवा कार्यालयबाट खटिएका कर्मचारीलाई खोप लगाउने जस्तो कार्यमा विभेद गरिएको लगायतका प्रतिनिधिमूलक घटनाले सिंगो राज्यको नीति तथा दलित समुदायप्रतिको राज्यको धारण के छ भन्ने सवालमा समेत चुनौती देखिएको संघर्ष समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.