गुगलविरुद्ध मुद्दा हाल्ने तयारी

|

नवलपरासी : भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई गुगल म्यापले भारतमा देखाएको छ। 

वर्षौंदेखि भारतीय पक्षले अतिक्रमण गरेको यो गाउँ मात्र नभई साविकको नरसही गाविस, सुस्ता गाउँपालिका-४ पूरै र साविक कुडिया-४ हालको वडा नम्बर ३ को केही भाग पनि गुगल म्यापले भारतीय भूमिमा देखाएको छ। नक्सामा भारत देखाइएको भूमी विहार राज्यतर्फ देखाइएको छ।

भूमिलाई भारतमा देखाएकै कारण त्यस क्षेत्रमा बैंकहरूले लगानी गर्न नमानेका सुस्ता बौद्धिक समाज नेपालका अध्यक्षसमेत रहेको सुस्ता-३ का हरिलाल दुसाधले बताए।

अहिले त्यस क्षेत्रका स्थानीयले जग्गा बैंकमा धितो राखेर ऋण लिएर व्यवसाय गर्न चाहे पनि नपाउने अवस्थामा छ। उनीहरूसँग जमिनको लालपुर्जा छ। बैंकलाई बुझाउनुपर्ने सबै प्रमाणित कागजात पनि छ तर गुल म्यापकै कारण बैंकले लगानी गर्न नमानेकाले स्थानीय चिन्तित भएका उनले बताए। 

गुगलले नेपाली भूमिलाई भारतमा देखाएको विषयमा सम्बन्धित निकायहरू बेखबर भने छैनन्। सुस्तामा अवलोकनका लागि होस् या काम विशेषले पुग्ने संघ सरकार, प्रदेश सरकारका मन्त्रीहरू, सरकारी निकायका उच्च अधिकारीहरूलाई यसबारे पहिल्यै जानकारी गराउँदै आए पनि कतैबाट सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

यो अन्तराष्ट्रिय विषय भएकाले पनि सहजै समाधान नहुने भएकोले अन्तर्राष्ट्रिय न्यायालयमा गुगलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको पाण्डेले बताए।

'हामी यस विषयमा छलफलमै छौं। नेपाल सरकारमार्फत मुद्दा दर्ता गराउने कि गाउँपालिका आफैंले मुद्दा दर्ता गराउने भन्ने विषय छिट्टै टुंग्याएर मुद्दा दर्ता हुन्छ', पाण्डेले भने।

गुगलले अहिले आएर त्यस क्षेत्रलाई भारततर्फ देखाएको भने होइन। कहिलेदेखि भारततर्फ देखाएको भन्ने यकिन नभए पनि गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नै त्यसबारे सम्बन्धित निकायहरूमा जानकारी गराइएको उनको भनाइ छ।

नक्साकै कारण समस्यामा परेपछि नक्सा सच्याउन कूटनीतिक पहल गरिदिन र दशगजादेखि ३ किलोमिटरसम्मका क्षेत्रमा बैंकहरूले लगानी गर्न मानेका छैनन्। जसका कारण वित्तीय ऐन संसोधनका लागि ध्यानाकर्षण गराउँदै सुस्ता बौद्धिक समाज नेपालले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत अर्थमन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.