बितेको केही महिनादेखि पूर्व-प्रधानमन्त्री माधव नेपाललाई बुद्धि नभएको नेता भन्नेको संख्या यति बाक्लियो त्यसको कुनै सीमा नै छैन। केही खड्गप्रसाद ओलीका अनुचरहरूले गरेको टिप्पणी यस्तो तल्लो स्तरको छ त्यो सभ्य समाजका लागि पाच्य हुने विषय नै होइन।
यस्तो अवस्थामा पनि माधव नेपालले आफूभन्दा भिन्न पार्टीलाई किन भोट दिनुभयो भन्ने प्रश्न अनेकको मनमा छ। यदि माधव नेपालले त्यो निर्णय नगरेको भए नेपालको वर्तमान संविधान एकप्रकारले समाप्तिको दिशा वा सनकतन्त्रमा गइसकेको थियो र सम्भवतः स्वयं उहाँको राजनीति नै समाप्तितिर।
निवर्तमान प्रधानमन्त्री ओलीले दिशाहीन रूपमा देश हाक्नुभएको थियो। एकातिर समृद्ध नेपालको सपना अर्कोतिर चाइनाको रेलको गफ। तेस्रोमा अनावश्यक नागरिकता अध्यादेश, चौथोमा राष्ट्रपति कार्यालयको दुर्दान्त लछारपछार। पाँचौँमा आमनागरिकको कोरोनाका कारण भइरहेको मृत्यु।
अन्धाधुन्द नातावाद, चाकडीबाज, हुक्के, बैठके, पाउस्पर्श पारंगतहरूलाई गरिएका नियुक्ति, नेताहरू र लोकतन्त्रको अपमानको कालो अवधीलाई बिदाई गर्नुपर्ने बाध्यतामा नेपालले लोकतन्त्र बचाउने काम गर्नुभएकै हो। ओलीका हातले च्यातिन लागेको संविधान नेपालको साथ पाएर जोगिएको छ यसपटक।
पार्टी र व्यक्तिगत आंकाक्षाभन्दा देशको भविश्य बचाउनु राम्रो हो भनी माधव नेपालको समूहले देउवालाई भोट दियो। तर, वास्तवमा अहिलेको प्रधानमन्त्री स्वयं देउवाभन्दा माधव नेपाल नै हो उहाँको इशाराबिना देउवाले केही पनि गर्न सक्नुहुन्न। यही कुरा बुझेर ओलीले दोस्रो अध्यक्षको पासो फाली सक्नुभएको छ।
उहाँले अझै पनि माधव नेपाललाई चिन्न सक्नुभएन किनकि यो बेला माधव नेपाललाई मात्र अध्यक्ष होइन संसदीय दलको नेता समेत बनाउन आवश्यक छ। अनि मात्र एमाले एकजुट रहन सक्छ।
बालकोटको बार्दलीबाट नेपाल गद्दार हो उसलाई पार्टीमा ठाउँ छैन भनेर कोटेश्वरमा नेपालको घर घेर्न पठाउने ओलीले १४४ घण्टाभित्रमा दोस्रो अध्यक्ष दिन्छु त्यसै भन्नुभएको छैन। ओली स्वयंको कार्यकालमा भन्दा देउवाको कार्यकालमा एमालेका स्वतन्त्र कार्यकर्ता बढी लाभान्वित हुनेछन्। अवस्था त्यो आइसक्यो।
अहिले नेपालको जिम्मा नेपालकै हातमा छ। अब बजेट बनाउने चर्चा छ त्यसमा माधव नेपालले जे भन्नुहोला त्यो प्रावधान नराखेमा बजेट पास हुँदैन। त्यसअर्थमा नेपालले कोटेश्वरमा बसेर सिंहदरबारका हरेक कार्यका आफ्ना कार्यकर्ताको भावनाअनुरूप काम गर्नुहुनेछ।
हिजोसम्म बाँदरको मुखौटो लगाएर घाममा नेपालको हुर्मत लिने कार्यकर्ताहरू नेपालको सहयोगबाट विभिन्न अवसर प्राप्त गर्ने ठाउँमा पुग्नेछन्। विचरा बुद्धि पुर्याएर बाँदरको मुखुण्डोभित्र मुख लुकाएछन्।
हिजोसम्म परमादेशबाट विश्वमा सरकार बनेको छैन भनी आलोचना गर्नेहरूले श्रावण ३ गते १६५ भोट पाएर विश्वासको मत लिइसकेपछि पनि परमादेश भन्न छोडेका छैनन्। उनीहरूले एउटा कुरा के बिर्सेका छन् भने २७१ जनामा १४९ जनाले संविधानको धारा ७६(५) बमोजिम दस्तखतसहित व्यक्ति तोकेर निवेदन दिएपछि स्वयंसिद्ध तथ्यअनुसार प्रधानमन्त्री बनीसक्नु पर्नेमा विघटन गरेपछि परमादेश आएको हो।
अदालतको फैसलामा ७६(५) बमोजिम बनेको सरकारलाई जसले जता मत हाले पनि पार्टीको ह्विप लाग्दैन भनेको छ। धेरैले यो आदेशलाई साउन ३ गतेसम्म मात्र लागू हुन्छ भनेका छन्। तर, त्यो आदेशअनुसार यो सरकार रहेसम्म अर्थात् ७६(५) को सरकार रहेसम्म पार्टीगत ह्विप लाग्दैन। किनकि संविधानबमोजिम नै यो आदेश भएको छ। आउँदा कुनै दिनमा पनि एमालेको ओली समूहले एमाले ( नेपाल) लाई कारबाही गर्न सक्दैन।
जताबाट जस-जसले धारे हात लगाए पनि माधव नेपाल समूहको एमाले सुरक्षित विन्दुमा छ। अहिले ओली एमालेको सरकारलेभन्दा यो सरकारमार्फत धेरै कार्यकर्ताको संरक्षण गर्ने अवसर छ।२०४७ मा एमाले उहाँले नै बनाएको हो त्यो छोड्ने कुरा भएन, सरकार पनि आफ्नो मिहिनेतले बनाएको हो त्यो पनि छोड्ने कुरा भएन।
विस्तारै नेपाल एमालेको संगठन विस्तार यस्तोसँग हुनेछ उस्तै परे माधव नेपाल केन्द्रीय कमिटीमा बहुमतमा पुग्नु हुनेछ, नभए पनि २ वर्षपछिको चुनावमा माधव नेपाललाई सम्मानित रूपमा पार्टीमा नलगे दुवैपक्ष कमजोर हुनेछ। त्यसैले अहिले अर्को पक्षको टाङमुनि छिरेर सम्झौता किन गर्नुपर्यो।
यो सरकार नेपालकै सहयोगबाट बनेको हो भने आफ्नै बच्चा मारेर अहिले किन टाँसिने भन्ने संकेत नेपालबाट आइसकेको छ।
ओली एमालेमा पनि त्यति बुझ्ने मानिस त पक्कै होलान् केबल नक्सामा देश गाँसेर राष्ट्रवाद हुँदैन, गतवर्ष जेठमा नक्सामा लिपुलेक जोड्ने कामबाहेक त्यस सम्बन्धमा थप कूटनीतिक के प्रयास गरियो। के राष्ट्रवाद भनेको नक्सा गाँसेर मात्र हुन्छ कि भूमि फिर्ता गर्न सक्नुपर्छ? माटोबिनाको नक्साले भोट पाउने भए राष्ट्रवादका नाममा चन्द्रमालाई नेपालको नक्सामा जोडे भयो।
हैन भौतिक रूपमा नै हो भने त्यहाँ सेना पठाएर झण्डा गाड्नुपर्ने थियो, यस्तोमा राष्ट्रवादी बन्नु कति ठिक र त्यसैलाई आधार मानेर आफूलाई पृथ्वी नारायण शाहको समकक्षताको अनुमतिपत्र खोज्नु पनि कति व्यावहारिक होला?
नक्सालाई शुभकामनामा लुकाएर सावन्तहरूलाई खुसी पार्दै फेरि त्यसैको ब्याजस्वरूप माधव पक्षलाई लात हान्नु कति चातुर्य हो; स्वयं ओलीले पनि आत्म समीक्षा गर्नुहोला।
माधव नेपालले एकपटक विपक्षीको सहयोगमा सरकार बनाउनुभएको थियो। अहिले विपक्षलाई साथ दिएर सरकार बनाउनुभयो। किनकि संसदलाई अकालमा मारेर जनतामाथि चुनावको आर्थिक बोझ दिने काम भएको थियो, कठिन परिस्थितिमा पार्टीभन्दा देश माथि देखेका माधव नेपाल पछिल्ला दिनमा चट्टानी अडान भएका नेताको रूपमा चित्रित हुँदै गएको सत्य हो।
केही भ्यागुता प्रवृत्तिका उभयचरी नेताले साथ नदिएर तटस्थ बसे पनि ओली पक्षकै स्वाभिमानी नेताहरू पनि यता आए। जे होस् कोरानाले देश तहसनहस भएको समयमा जनता खान, भाडा तिर्न नसकेर छटपटाएको बेलामा चुनाव गर्नुभन्दा त्यसलाई १८ देखि २४ महिना पर सारेका कारणले पनि माधवमा एक फरक क्षमता देखियो।
अहिले माधव नेपाललाई जे गरिएको छ हिजो गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई गर्नुभएकै हो। बानेश्वरबाट कृष्णप्रसाद हराएबापत गिरिजाबाट बक्सिस तथा नजराना पाउनेहरू अहिले पनि कांग्रेसमा छन्। त्यो तरिकाले माधव नेपाल पछि हट्ने जस्तो देखिँदैन। जुन कुरा ओलीले बुझिसक्नुभएको संकेत पुष्पलालको स्मृतिसभाको भाषणमा साउन ७ गते सुनियो।
भन्नेले नेपाललाई पनि विदेशीले चलाएको भन्छन्। यो प्रत्येक नेपाली नेतालाई लगाइने आम आरोप हो। यस्तो आरोपबिना कुनै प्रमाण नलगाउने गरौँ। कसैको चरित्र हत्या गर्न सजिलो छ निर्माण गर्न असम्भव छ।
देउवा, प्रचण्ड, ओली, नेपाल, भट्टराई, यादव, ठाकुर,पौडेल कुनै न समूहले मानेका नेता हुन्। केही क्षमता नभई नेता बनिँदैन त्यसैले कसैको चरित्र हत्या प्रमाणबिना नगरौं।
तपाईंको ईमेल गोप्य राखिनेछ ।