|

पोहोरको कुरा हो, चार वर्षसम्म गुप्तबास बसेका विभिन्न जिल्लाका साथीहरूको फोनले मोबाइल गुञ्‍जिन थाल्यो। सन्दर्भ थियो २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन। जुन अन्तरकलह र सत्ता समीकरणका खेलले जन्माएको विशेष परिस्थितिको कारण सम्भव हुन सकेन। 

होओस्‌ पनि कसरी! १३ औँ महाधिवेशन समापन भएको मितिले ६ महिनाभित्र गठन गर्ने भनिएको विभिन्न समितिले त हालसम्म पूर्णता पाइसकेका छैनन्‌। मनोनयन अझै जारी छ। धेरै संघर्षपछि केपी ओलीलाई हटाएर बनेको गठबन्धन सरकारले नै पूर्णता पाएको छैन।

विगतमा सरकार र पार्टी नेतृत्व सम्हाल्न असक्षम घोषित भएका देउवाजीले फेरि पनि आफ्नो छवि सुधार्ने मौका पाएका छन्। उहाँको यो कार्यकाल सफल हुनेछ भनी आशमात्रै गरौँ भर नपरौँँ। जे होस्‌, उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना!

शुभकामनाभित्र नैराश्यता

शुभकामनापछि लागौँ आसन्न महाधिवेशन (नयाँ मिति मंसिर ९-१३ २०७८) र बजिरहेका मोबाइल फोनतिर।

केहीले मेरो सदस्यता नवीकरणको इच्छा बुझ्न खोजे, केहीले वडादेखि केन्द्रसम्मका सभापति उम्मेदवारको प्रचार गर्न थाले र केहीले आफ्नो दावेदारी पेश गर्ने उद्देश्यले सम्झेका रहेछन्। जे होस्, फोनका यी घण्टीहरूले पार्टीमा आस्था राख्नेहरूको महापर्व शुरू भएको संकेत प्राप्त भयो।

यो संसारमा सत्य बोले बात लाग्छ, झुटो बोले पाप रे! जे भएपनि बोल्नैपर्‍यो। बात र पाप त थाहा भएन, तर, मेरो दुर्भाग्य! नबोली बस्न सकिनँ। बीचमा केही वर्ष विदेशमा रहँदा बाहेक २०४६ सालदेखि बुझेर-नबुझेर झण्डा बोकेको पार्टी, देउवा, कोइराला, निधि र सिंह झैँ पारिवारिक रूपमा कुनै हदसम्म अंशको दाबेदारी राखेको हुनाले होला, चाहेर-नचाहेर यसपटक पनि पार्टीको क्रियाशील सदस्यता नवीकरण गरियो। कुनै बेला यस सदस्यताको महत्व जे जति थियो, त्यो हाल नरहेकोले होला, नवीकरण गर्दा खासै उत्साहित भइएन।

त्यसै नैराश्यता पोख्न सामाजिक सञ्‍जालमा एउटा स्टाटस राखियो, ‘रू २०० तिरेर भ्रष्टाचारी र देशद्रोही सदस्यता नवीकरण गरियो।’ यो धेरैलाई अपाच्य भएरै, फेरि फोनको घण्टी बज्न थाल्यो र अधिवेशनलाई मध्यनजर गर्दै यो राख्नु उचित होइन भन्ने सुझाव आयो। तत्‌पश्चात सोही अनुरूप त्यसलाई रेकर्डबाट हटाइयो र अधिवेशनको तयारीमा जुट्ने अठोट लिइयो।

१४ औं महाधिवेशनमा पार्टी हाँक्न आफ्नो सक्षमता दाबी गरी रहेका महारथीमध्ये एक हुन्-१३ औं महाधिवेशनबाट चुनिएका सभापति। उनीलगायत उनको टीमले आफ्नो कार्यकालमा खासै सन्तोषजनक कार्य सम्पन्न गरेको देखिएन। यो उनको कार्यसमितिको असक्षमता हो।

बाह्रौं महाधिवेशन एकताको महाधिवेशन थियो, खोइ त एकता? तेह्रौं महाधिवेशनको नारा थियो, ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान।’ पार्टी भित्र संगठन निर्माण र विस्तार गर्न नसक्ने झुण्डले राष्ट्र निर्माण कसरी होला?

अबको नारा के ?

जताततै सुनिने आजको माग युवा नेतृत्व हो। तर, युवा भनेको के हो? राष्ट्रिय युवा नीति, २०७२ मा १६ देखि ४० वर्षसम्मका नागरिकलाई युवा मानिने उल्लेख छ। नीतिको पृष्ठभूमिमा ‘युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो। युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन्’ भनि उल्लेख छ।

उक्त परिभाषा सही हो या होइन-त्यो विश्लेषणको विषय होला। तर, नेपाल सरकारद्वारा मान्यताप्राप्त परिभाषा हो। यो परिभाषालाई आधार मान्दा ४० वर्षभन्दा माथिका कि त प्रौढ भए या वृद्ध!

यो त भयो नीतिका कुरा, अब ‘राष्ट्रिय राजनीति सर्वमान्य सिद्धान्त’ मा उल्लेख भएअनुसार पहिलो चरणका युवा समूहमा १६ देखि ४० वर्ष उमेरकालाई राखिएको छ भने दोस्रो चरणका युवा समूहमा ४१ देखि ६० वर्ष उमेरकालाई राखिएको छ। अनि, तेस्रो चरणका युवा हुन् ६१ वर्षभन्दा माथिका उमेर समूहका मानिसहरू।

झण्डा बोक्ने र सडकमा संघर्ष गर्ने बेला अग्रपङ्‌क्तिमा चाहिँ पहिलो चरणका युवाहरूको आवश्यकता पर्दोरहेछ। तर, दुर्भाग्य! सत्ता र पार्टी संचालनको फ्रन्टलाइनमा पर्न भने तेस्रो पुस्ताको युवा नै हुनुपर्ने बाध्यता छ। को हुन् त यी तेस्रो पुस्ताका युवाहरू? ‘राष्ट्रिय  राजनीति सर्वमान्य सिद्धान्त’ को व्याख्या हेर्ने हो भने ६१ भन्दा माथिका उमेर समूहलाई यो युवा समूहमा राखिएको छ।

कुनै बेला ७० वर्ष कटिसक्दा पनि गिरिजाबाबु र सुशील दालाई उनका चेला चपेटाहरूले युवा भनी सम्बोधन गर्थे। ३६-३७ वर्षको उमेरमा महेश आचार्य पहिलोपटक मन्त्री  हुँदा ‘दूधे बालक!’ भनि सम्बोधन गरिन्थ्यो।

यसरी हेर्दा नेपाली कांग्रेस पार्टी साँच्चिकै अब दुधे बालकहरूले हाँक्ने बेला आएको छ, सेवा निवृत्त उमेर समूहकाहरूले होइन। अझ चुनावको बेला त प्रचारमा होमिएका १६ वर्ष मुनिकालाई कुन समूहमा राख्ने?

यसअघि नेपाली कांग्रेसमा चार लाख ७० हजार हाराहारी क्रियाशील सदस्यहरू काठमाडौंमा सम्पन्न हुन गइरहेको महाधिवेशन तयारीमा जुटेका थिए। नेताहरूले त्यस संख्यालाई १० लाख पुर्‍याउने उर्दी जारी भएलगत्तै संगठन विस्तारमा पहिलो पुस्ताका युवाहरू जुटे।

जब कि, तेस्रो पुस्ताका युवाहरू केन्द्र आफ्नो ठाउँ सुरक्षित राख्ने कसरतमा जुटे गर्न लागिपरे। ढुक्कका साथ भन्नुपर्दा १० लाख होइन, नेपाली कांग्रेसले क्रियाशील सदस्यता संख्या २० लाख पुर्‍याउन पनि ठूलो कुरा थिएन, तर, प्रारम्भिक तथ्यांक हेर्दा ९ लाख हाराहारी पुग्ने अनुमान गर्न सकिन्छ।

कांग्रेसको १२ औ र १३ औ महाधिवेशनको उदाहरण हेर्ने हो भने विदेशमा बस्ने, चुनावमा अन्य पार्टीमा मत हाल्ने, चुनावमा भोट नै नहाल्ने, पार्टीको आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गर्ने, विद्रोही र घर-घर गएर कांग्रेस हराउनुपर्छ भनी प्रचार गर्नेलाई पनि नेताहरूले क्रियाशील सदस्यता बेचेका छन्। यस्ता महान व्यक्तित्वहरूलाई कसरी यस ऐतिहासिक र गौरवशाली पार्टीको सदस्यताबाट वञ्‍चित गर्न सकिन्छ?

केही समयदेखि विदेशमा बस्दै आउनु भएको मित्रसँग करिब एक वर्षअघि सम्पर्क भयो। उहाँले पहिले पनि पटकपटक भएका वार्तामा नेपाल नफर्कने मनसाय व्यक्त गर्नुहुन्थ्यो।

कुरा गर्दै जाँदा नेपालको भावी राजनीति र महाधिवेशनतिर लाग्नु भयो। उहाँको अनुपस्थिति र अनुमतिबिनै गृह जिल्लामा क्रियाशील सदस्यता नवीकरण भएको जानकारी मलाई दिनुभयो। यो उहाँको लागि ठूलो कुरा भएन। उहाँ त पुरानो कांग्रेस तर दुःखको कुरा के भने विदेश जाने पक्का भएकालाई नै क्रियाशील सदस्यता उपहार दिएर पठाइएको छ। 

यो अवस्थामा १० लाख सदस्यता बलले बिक्री (force selling)​ गर्न त्यति ठूलो कुरा नहोला। विगतको निर्वाचनमा नेपाली कांग्रेसलाई ३१ लाख हाराहारी मत खसेको थियो। आखिर चुनावमा गैह्र कांग्रेसी भोटर पनि त क्रियाशील हुँदा रहेछन्।

वि.सं. २००४ सालमा बीपी कोइरालाद्वारा नेपालीहरूलाई भारत स्वतन्त्रताको आन्दोलनमा सहयोग गर्न र नेपालमा प्रजातन्त्र स्थापना निम्ति एकजुट हुन जारी गरिएको आह्वानलाई साथ दिँदै बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (पछि नेपाली राष्ट्रिय कांग्रेस) र कलकत्तामा अखिल भारतीय गोर्खा कांग्रेस स्थापना भयो। यही आह्वान र बिचार विभिन्न समूहसँग सहकार्य गर्दै र रुपान्तरण हुदै हालको नेपाली कांग्रेस हुन पुग्यो।

कांग्रेस यहाँसम्म आइपुग्दा धेरै संघर्ष, बलिदान र विचारका मन्थन भए। कांग्रेसको बिल्ला भिरेका धेरैले उनका महाबाणीको अर्थ नबुझी बीपीको नाम बेचेर कांग्रेसको राजनीति गरिरहेका छन्।

नेपाली कांग्रेसभित्र बिचार र सिद्धान्तभन्दा पैसा र पाखुरा हावी हुँदै गएको पाइन्छ। जो नेतृत्वमा आउँछ, त्यो अवश्य पनि विगतमा झैँ युवा नै आउँछ। तर, पार्टी भित्रको बेथिति चिर्न नसके बीपीको सपना नारा मै सीमित हुनेछ। बीपीको सपना साकार पार्न नसके त्यसलाई सपना मै सीमित राखौँ, बदनाम नगरौँ।

कुशल नेतृत्वको कार्यक्षमता भनेको आफ्नो उत्तराधिकारी तयार पार्नसक्नु पनि हो। सधैँ ठाउँ ओगटेर बस्न खोज्नु होइन। ठाँटले उभिएको बुढो रुख पनि एकदिन ढल्नैपर्छ। उमेरले अजम्मरी कोही हुँदैन। त्यसकारण घाँसीले झैँ कुवा बनाउन नसकेपनि मुहान नटालौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.