हाम्रो शिक्षा जागिरमुखी छ‚ लगानीमुखी छैन। खरिदमुखी छ‚ बिक्रीमुखी छैन। उपभोगमुखी छ‚ उत्पादनमुखी छैन। रटाइमुखी छ‚ अनुसन्धानमुखी छैन। इतिहासको अध्ययनमा जोड दिन्छ‚ इतिहास रच्न सिकाउँदैन।
दुध खाँदा मीठो, स्वादिलो पौष्टिक हुन्छ भन्ने सिकाउँछ। तर‚ त्यो दुध उत्पादन गर्ने किसानलाई सम्मान गर्न सिकाउँदैन। हाम्रो शिक्षा सुटबुट र टाईमुखी छ। खेत जोत्ने ट्याक्टर चलाउने, पहाडमा हलो चलाउने, हिमालमा चौरी चराउनेसँगको सामाजिक र कार्यगत चक्रसँग हामी आवद्ध छौं भन्ने सिकाउन सक्दैन।
पाठ्यक्रममा नै बालबालिकाको सोच बदल्ने र लगानी बढाउने किसिमका तत्व राख्नु आवश्यक देखिन्छ। शिक्षा कमाउन सक्ने हुनुको साथै समाज र प्रकृतिको महत्त्व बुझ्ने किसिमको हुनुपर्छ। यसको अन्तिम लक्ष्य जागिर खाने भन्दा दिने हो र प्रारम्भिक लक्ष्य समाज र व्यक्तिलाई प्रकृतिसँग समायोजन गर्न सक्ने एक महत्त्वपूर्ण कडीको रुपमा स्थापित हुनु पर्ने हो।
आजका विद्यार्थी एकातिर खाटभन्दा ठूलो २०० वटा च्यानल आउने टेलिभिजनको अगाडि बसेर मोबाइलमा ६ हजारभन्दा बढी अनावश्यक गेम र परिष्कृत नगरिएका हजारौं सूचनासँग खेलिरहेका छन्। यसैलाई आधुनिकता भन्ने गरिएको छ। यसले मात्र बालबालिकाहरूमा सिर्जनशीलता, उद्यमशीलता‚ जोश‚ जाँगर र हौसला प्राप्त हुन सकेको छैन। यसरी ग्याजेट, नेट र टिभीको अन्धाधुन्द प्रयोग हुन थालेको बढीमा एक दशक भयो। त्योभन्दा पहिलाको शिक्षाले पनि आशा गरिए जति उपलब्धि दिन नसकेकाले आजसम्म नेपाल जहाँको त्यहीं छ।
पाठ्यपुस्तकमा भलाद्मी‚ जेन्टलमेन भन्नाले टाईसुट लगाएको‚ मोटो मोटो रसिलो मानिसको फोटो देखाइएको हुन्छ। के जेन्टलमेनले टाई लगाउनै पर्छ? यस्ता फोटोहरू एलकेजी, कक्षा १‚ २ का किताबमा देखाइएको हुन्छ।
नायिका भनेर फिल्ममा खेल्ने पाइन्ट र लाली‚ पाउडरवाला युवती देखाइन्छ। के वास्तविक जीवनका नायक‚ नायिका त्यस्तै हुन्छन्? यस्तै हुनुपर्छ? यस्तो पढाइले गर्दा बालबालिकाहरूले खेती गर्ने‚ धुलो मैलोमा खेल्ने, ठेलामा तरकारी बेचेर बालबालिका पाल्ने बुवा र घरमा मैलाधैला कपडा लगाएकी आमालाई कहिल्यै न त जेन्टलमेन देख्ने भयो न त नायिका।
यस्ता शिक्षाले गर्दा बालबालिकाको अगाडि जेन्टलमेन बन्न सकिनसकी टाइ, कोट, लालीपाउडर लगाउने बाध्यता जन्मिरहेको छ। मेहनतको आदत तिलाञ्जलि दिएर अन्धाधुन्द आधुनिकीकरणका लागि मिल्ने र सक्नेले भ्रष्टाचार गरिरहेका छन्। किनकि‚ आज समाजमा सुटबुटवाला जेन्टलमेन बन्ने होड चलिरहेको छ। हामी सुझबुझवाला समाजबाट टाढिँदै गएका छौं।
पाठ्यपुस्तकमा लोग्ने मानिसको विपरीतार्थ स्वास्नी मानिस, धर्तीको विपरीतार्थ आकाश, दिनको विपरीतार्थ रात भनेर सिकाइन्छ। के यी उल्टो शब्द हुन्? पक्कै होइनन्। यी समपुरक शब्द हुन्। एक अर्को नभई यिनको अस्तित्व नै रहँदैन। तर‚ त्यसलाई उल्टो भनेर पढाउने कि हरेक शब्द एक आपसमा आश्रित छन् भनेर सिकाउने? यिनीहरु एक नभए अर्कोको अर्थ रहँदैन।
के मैलो किसानले खेती नगर्ने हो भने कोही सफा जेन्टलमेन बाँच्ने आधार छ? मालिकको उल्टो नोकर। के यो मिल्दो छ? को मालिकको नोकर, तथाकथित नोकर नभए कुनै संगठन नै चल्दैन। कसैसँग सिप होला‚ कसैसँग श्रम होला‚ कसैसँग कला होला। त्यसपछि कसैले तलब दिन्छ। तसर्थ पाठ्यक्रममा समेटिएका स–साना कुराहरूले विद्यार्थीको दिमागमा पर्ने छापबारे सोचेर पाठ्यक्रम बनाउने सन्दर्भमा सोचौं।
यसबाहेक शिक्षामा वितृष्णा ल्याउने अर्को कारणमा नोकरीको समस्या पनि हो। देशका ९९ प्रतिशत विद्यार्थीलाई ऊ भोलि के बन्न चाहन्छ भन्ने सोधेमा नोकरी गर्न चाहन्छु भन्ने जवाफ दिन्छ।
अधिकांशको सपना नोकरी छ। किनकि त्यहाँ आकर्षक तलब छ। पेन्सनको व्यवस्था छ। प्रत्येक शिक्षक अभिभावकले आफ्नो बालबालिकालाई सरकारी नोकरीको सान‚ हैकमबारे जानकारी दिएको छ।
वर्षमा लगभग चार लाख विद्यार्थीले कक्षा १२ र दुई लाख जतिले स्नातक उत्तीर्ण गर्छन्। ती सबैले सरकारी नोकरी पाउने होइन। जसले पाउँदैन‚ त्यसले के गर्ने भन्ने सन्दर्भमा शिक्षाले जीवनको वैकल्पिक आकर्षण दिन सकेको छैन। यो ज्यादै ठूलो मानसिक दुघर्टनाको विषय बन्न सक्ने भएकाले यसबारे सोचिनु पर्छ।
पहिलो कुरा त विद्यार्थीमा नोकरीको मानसिकता हटाउन जरुरी छ। उद्यमशीलताको मानसिकता ल्याउन जरुरी छ। यसका लागि पेन्सन प्रणालीलाई हटाउन आवश्यक छ। जसले गर्दा विद्यार्थीले सरकारी नोकरीभन्दा अन्य आफ्नो पेशाबाट धेरै कमाउन सक्छु भन्ने मानसिकता बनाउन सकोस्।
दोस्रो कुरा नागरिक तथा नागरिकतालाई केही अख्तियार सुनिश्चित गर्न जरुरी छ। यहाँ संविधानका ३२ अधिकारबारे केही भन्न खोजेको पनि होइन। केही अख्तियार नै आमनागरिकलाई आवश्यक छ। जसले गर्दा राष्ट्रसेवक बन्नका लागि सरकारी नोकरीमा जानै पर्छ भन्ने नहोस्। आफ्नो उद्यम गरेर पनि राष्ट्रबाट दिइने विभिन्न कार्यमा संलग्न हुन पाइयोस्।
२०४४ सालमा एसएलसी दिनेले पनि नेपाल एक अल्पविकसित देश हो भन्ने पढेको हो। ३८ वर्षपछि आजको एसईईमा पनि हामी अल्पविकसित नै छौं। किनकि हाम्रो शिक्षा नै जागिरमुखी भयो। उद्यमशीलतामुखी बनाउन सकिएन।
यसमा परिवर्तन गरेर नोकरी, पेशा आदि भन्दा उद्यमशीलतासम्बन्धी दिमागले धेरै काम गर्छ भन्ने बारे सानो उमेरदेखि नै सिकाउन सक्ने हो भने यसले धेरै फरक पार्छ। त्यसैले सानो उमेरदेखि नै उद्यमी व्यावसायिका गाथा र उनीहरूलाई सम्मानित गरिएका विषयहरू पढाऔं‚ सिकाऔं, कर्मशील व्यक्तिलाई सम्मानित गरौं पनि।
पद सिर्जना भएपछि एकजना त्यो पदमा पुग्छ। तर फेसबुक, ट्विटर बनाउने काम, एप्पल, हुवावे, टोयोटा आदिको उत्पादन विशेष व्यक्ति नजन्मेको भए अर्कोले बनाउन सक्दैनथ्यो। त्यसैले बालबालिकाको दिमागमा उद्यमशीलता, पैसाको मूल्य आदिको बारेमा सिकाउने प्रयास शिक्षामा समावेश गराउनु आवश्यक छ।
शिक्षा कहिल्यै पनि समस्या देखाउने विषय होइन। यो आफैंमा समाधान हो। शिक्षा आफैंमा जहिले पनि अपूर्ण छ। पूणर्ताको खोजका लागि, पूणर्ता भेट्न शिक्षा दिइन्छ। जुन समयमा जुन आवश्कता छ‚ त्यसैअनुसार शिक्षा परिमार्जन गर्ने हो। आजको आवश्यकताअनुसार शिक्षाले वातावरण संरक्षण गर्नु पर्छ। भ्रष्टाचार रोक्न सक्नु पर्छ। परिवारमा समाजमा शान्ति कायम गर्न सक्नुपर्छ।
सीप विकास (स्किल डेभलपमेन्ट) फरक कुरा हो। यसमा धेरै प्रयास भएको छ। तर‚ आवश्यकता योजना विकास र कार्यान्वयन (स्किम डेभलपमेन्ट) को हो। केही बनाउनु पर्छ र त्यसमा ब्राण्ड हासिल गर्नु पर्छ भन्ने अवधारणा सानैदेखि सिकाउने गरी पाठ्यक्रममा सुधार गरौं।
९९ प्रतिशत विकासमा आर्थिक विषय जोडिने भएकोले शिक्षालाई आयआर्जनसँग जोड्ने गरी नयाँ बहसको शुरुवात गरौं। सामसुङ र किया भन्ने दुई ब्राण्डले दक्षिण कोरियाको अर्थतन्त्र धानेको छ। एप्पल, गुगल, एमाजनले अमेरिका धानिएको छ। आजदेखि शिक्षालाई केन्द्रमा ल्याउ र १२ वर्षपछि एक नेपाली युवाले विश्वका लागि एक अद्भूत ब्राण्ड बेच्न सकोस्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।