यस्ता छन् राणाका भावी योजना

|

काठमाडौं : 'नेपालका राष्ट्र प्रमुख, प्रधानन्यायाधीश र सभामुख जस्ता महत्त्वपूर्ण स्थानमा महिला रहेका बेला निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको संघीय संस्थामा अध्यक्ष बन्न लाग्नुभएकी भवानी राणालाई बधाई दिन चाहन्छु' अध्यक्षको जिम्मेवारी लिन एक दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार भवानी राणालाई यसरी बधाई दिए।

राज्यका महत्त्वपूर्ण निकाय महिलाले नेतृत्व गरेका बेला नेपाल उद्योग बाणिज्य महासंघमा पनि महिला अध्यक्ष राणाले नेतृत्व गर्नुले महिलाहरूको सामर्थ्य र नेतृत्वदायी भूमिका बढेको उनको भनाइ थियो। पछिल्ला केही दिनदेखि भवानीको फेसबुक पेज बधाई र शुभकामनाले रंगिएको छ। मोबाइलमा समेत थुप्रै शुभकामनाका म्यासेजहरू आएका छन्। जति शुभकामना बढ्दै जान्छन्, राणा उति नै जिम्मेवारीबोध हुन्छ भन्छिन्। 

'सबै उद्योगी व्यवसायीको साझा थलो महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै छु, व्यवसायीका समस्या समाधान र देशको आर्थिक समृद्धिको लागि पुलको भूमिका निर्वाह गर्नुपर्छ', राणाले भनिन्, 'कस्ता मुद्दा उठाउने, कसरी विकासमा महासंघको भूमिका बढाउने जस्ता कुराले गम्भीरताबोध गराएको छ।' उनले यसका लागि केही योजना बनाएको पनि बताइन्। महिला भएकै कारण नेतृत्वमा पुग्न सकिँदैन भन्ने करा उनी मान्दिनन्।

भवानी वाणी 
'यहाँ काम गर्न सक्नुपर्छ, असल तवरले जिम्मेवारी निर्वाह गर्न सक्दा थप जिम्मेवारी बढाउँछ, यही नै नेतृत्वमा पुग्ने सूत्र हो। यो ठाउँमा पुग्नको लागि मसँग सपना थियो, त्यसको लागि मैले मिहिनेत गरेँ, सकारात्मक सोचका साथ काम गरेँ। यहाँसम्म पुग्न मैले धेरै संघर्ष पनि गरेँ, त्यसमा मेरो आत्मबलले सहयोगी भूमिका खेल्यो। महासंघमा चुनौतीसँगै अवसर पनि उत्तिकै छ, जहाँबाट मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ।'

तर, उनी सन् २००५ मा मनोनित सदस्यको रूपमा महासंघ छिर्दै गर्दा उनलाई महिला भएकै कारण त्यो पद पाएको हो कि भन्ने भएको थियो। त्यसपछिका कार्यकालमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपाध्यक्षमा जीत हासिल गर्दा र आज अध्यक्ष बन्दा भने निकै हर्षित भएको उनी बताउँछिन्। 'पुरुषहरू हावी भएको यो संस्थामा म प्रवेश गर्दा एक्लै थिएँ', राणा भन्छिन्, 'अघिल्लो कार्यकालमा मसहित पाँच जना भयौँ, अहिलेसम्म महिलाले नेतृत्व नसम्हालेको यो स्थानमा पुग्न पाउनु गौरवको विषय हो।' अहिलेसम्मको एक दशक बढीको लामो अनुभवको कारण आफूभित्र एक प्रकारको आत्मविश्वास पनि पैदा भएको उनले बताइन्।

नेतृत्व गर्ने चाहना

राणा परिवारमा जन्म लिए तापनि भवानी राणा व्यापारिक वा राजनीतिक पारिवारिक पृष्ठभूमिकी होइनन्। 'मेरो घरको पृष्ठभुमि व्यापार होइन, मेरो बुबा सरकारी सेवामा हुनुहुन्थ्यो', राणाले भनिन्, 'उहाँ अंचलाधीश हुनुहुन्थ्यो।'

तर आमा (मुमा)ले भने जहिले पनि उद्यमशीलतामा प्रेरित गरिरहेको उनको भनाइ थियो। बुबाको संगतले गर्दा जहाँ पनि नेतृत्व तहमा जानुपर्छ भन्ने आफूलाई लागेको कारण नै उनमा गैरसरकारी संस्था वा अन्य कुनै सामाजिक काम आफ्नै नेतृत्वमा गर्ने इच्छा रहेको खुलासा पनि गरिन् राणाले। 'अहिलेसम्म साना ठूला एक दर्जन त्यस्ता संस्थाहरूमा बसेर काम गरेकी छु', राणाले भनिन्।

सधै नेतृत्व गर्ने चाहना मेरो रह्यो, सायद उद्यमशीलतामा नलागेको भए कुनै दलविशेषको राजनीति गरिरहेकी हुन्थेँ

नेतृत्व गर्ने चाहनाकै कारण उद्यमशीलतमामा नलागेको भए आफू अहिले कुनै दलविशेषको राजनीति गरिरहेको हुनसक्ने बताउँछिन्। राणा भन्छिन्, 'सधैँ नेतृत्व गर्ने चाहना रह्यो, सायद उद्यमशीलतामा नलागेको भए कुनै दलको राजनीति गरिरहेकी हुन्थेँ।' उनको परिवारमा दाजुभाइ नभएका कारण परिवारभित्र छोरा र छोरीलाई विभेद भयो भन्ने कहिले महसुस गर्नुपरेन। छोरी भएको कारण कोही पनि बञ्चित भए भन्ने उनलाई भएन। 'सानैदेखि मुमाले जे काम गर्न पनि अभिप्रेरित गर्नुभयो, तँ छोरी होस्, यस्तो काम नगर कहिले भन्नुभएन', राणाले भनिन्। 

राणा भन्छिन्
म बच्चादेखि नै काठमाडौंमै हुर्कें, पढें। मेरो मुमाले प्रेरित गर्नुहुन्थ्यो महिला भएपछि पनि सबै कुरा गर्नसक्नुपर्छ भनेर। यही भएर मैले राम्रो शिक्षा पाएँ। मैले कहिल्यै पनि महिला भएपछि खाना पकाउने, कसलाई खुसी पार्नुपर्नेजस्तो संस्कार पाइनँ। त्यसले पनि मलाई सहयोग भयो। हामी दुई छोरी मात्र थियौँ। पौडी, गितार सिकाउने, घोडा चढ्नेजस्ता सिप सिक्न पाएँ। त्यही शिक्षा र संस्कारले पनि मलाई अघि बढ्न सहयोग गर्‍यो। पछि मैले विवाह गरेर गएपछि पनि मेरो घरको वातावरण सहयोगी नै थियो। मलाई अगाडि बढ्न उत्प्रेरणा प्राप्त भइ नै रह्यो। महिलालाई अगाडि बढ्नका लागि घरपरिवारबाट सहयोग अनिवार्य चाहिन्छ नै।

वैवाहिक जीवनभन्दा अगाडि व्यसाय बिस्तार र नेतृत्वमा पुग्न थप सहयोग पुगेको उनी बताउँछिन्। 'सासुआमा राजनीतिमा भएको कारण पनि मलाई सधैँ अगाडि बढ्न अभिप्रेरित गर्नुभयो', राणाले भनिन्, 'श्रीमान पनि निकै बुझ्ने हुनुहुन्छ।'

व्यवसायमा प्रवेश

फेसन डिजाइनसम्बन्धी अध्ययन गर्न भारत गएकी राणा त्यहाँबाट फर्किएपछि व्यवसायमा लागिन्। उनले सुरुमा दिदीसँग मिलेर गार्मेन्ट व्यवसाय गरे तापनि अहिले भने त्यो व्यवसायमा उनी संलग्न छैनन्। 'हामी दिदी-बहिनी मिलेर गार्मेन्ट, इभेन्ट म्यानेजमेन्टको काम सुरु गरेका थियौं। तर सन् २००० पछिको अवस्थामा गार्मेन्ट बन्द भयो', राणाले भनिन्, 'मैले गार्मेन्टकै लागि भनेर भारत गएर फेसन डिजाइनसम्बन्धी अध्ययन गरेर पनि आएँ तर त्यो काम लागेन।' 

विवाहपछि केही समय चिनी मिलसमेत सञ्चालन गरेकी राणाले चिनी मिल पनि केही वर्षमै बन्द गरिन्। उनी अहिले नेपालगंजमा रहेको होटेललाई बिस्तार गर्नेतिर जुटेकी छन्। कृषिमा आधारित व्यापार र अहिले बर्दियामा स्नेहा रिसोर्ट उनले संचालन गरिरहेकी छन्। 'पर्यटन, कृषिसँगै विभिन्न क्षेत्रमा हाम्रो लगानी रहेको छ। बैंकिङ,वित्त तथा बीमा क्षेत्रमा पनि लगानी रहेको छ', राणाले भनिन्, 'अबको केही समयभित्रै उत्पादनमूलक अन्य उद्योगमा पनि जाने तयारीमा छु।'

महासंघमा राणाको आवद्धता
दुई दशकदेखि नेपालगंज उद्योग वाणिज्य संघ र बर्दिया उद्योग वाणिज्य संघसँग आवद्ध भवानी राणा १२ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा मनोनित भएकी थिइन्। सन् २००५ मा मनोनित सदस्यको रूपमा महासंघमा प्रवेश गरेकी थिइन् राणा। सन् २००८ मा जिल्ला नगर क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भइन् उनी। सन् २०११ मा जिल्ला नगरकी उपाध्यक्ष बनेकी थिइन्। प्रदीपजंग पाण्डे महासंघका १६औँ अध्यक्ष बन्दा पाण्डे प्यानलमा देखिएकी राणा वरिष्ठ उपाध्यक्षमा भने हारेकी थिइन् तर परिस्थितिवस त्यही कार्यकालमा उनी वरिष्ठ उपाध्यक्ष बनिन्। लामो समयदेखि संशोधन गर्ने तयारी गरेर पनि पास हुन नसेकोको महासंघको विधान सन् २०१६ मा सर्वसम्मतिबाट पास भएपछि उनलाई विधानसम्मत अध्यक्ष बन्ने बाटो खुला भएको थियो र महासंघको १८औँ अध्यक्षको रूपमा भवानी राणाले जिम्मेवारी बहन गर्दै छन्।

अहिलेसम्मको अनुभव र काम

राणाले महासंघमा कृषि उद्यम केन्द्र, महिला उद्यम विकास समितिमा काम गरेकी छन्। उनले विभिन्न संस्थाहरूमा महिला तथा समुदायमा आधारित संघसंस्थामा आवद्ध भएर काम गरेकी छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष तथा महिला उद्यमी महासंघमा समेत जिम्मेवारी बहन गरेकी छन् राणाले।

लगानी बोर्डमा लगातार दोस्रो कार्यकाल सदस्य भएकी राणाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकी छन्। कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उत्तिकै सक्षम मानिन्छिन् राणा। राणासँग पारिवारिक व्यवसाय हस्पिटालिटी र टुरिज्मका अतिरिक्त बैंकिङ तथा बीमा एवं कृषि क्षेत्रमा व्यवसायको अनुभव छ।

अबको योजजना

राणाको आगामी योजना सम्पूर्ण उद्योगी व्यवसायीमा महासंघप्रतिको अपनत्व वृद्धि गराउने र देशको आर्थिक समृद्धिका लागि हातेमालो गर्ने रहेको छ। उनले 'लक्ष्य हाम्रो आर्थिक समृद्धि' भन्ने यजनासमेत बनाएकी छन्। महासंघलाई एकताबद्ध, चुस्त र व्यावसायिक हितमा लगाउने बताएकी छन्। सचिवालय व्यवस्थापनदेखि आर्थिक विकाससम्ममा निजी क्षेत्रको भूमिका जबर्जस्त रूपले स्थापित गर्ने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.