|

काठमाडौः एमभी दुगड समूहले १ सय ५७ मेगावाट बराबरका तीन जलविद्युत् आयोजनाको निर्माण कार्य एकसाथ शुरु गरेको छ। ठूला घरानाले जलविद्युत् आयोजनाहरूमा न्यून लगानी गरेको भन्दै आलोचना भइरहेको बेला दुगड समूहले तीन जलविद्युत् आयोजनाको निर्माण एकसाथ शुभारम्म गरेको हो।

नेपालमा निजी क्षेत्रमा यति ठूलो लगानीमा एकसाथ निर्माण सुरु भएको यो हालसम्मकै पहिलो हो। दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले आफ्नो समूहले ५ सय मेगावाट जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा समेत गरे।

विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको तीनवटै आयोजना २०७७ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ। कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले  शिलालेख अनावरण गरेर ७७ मेगावाटको लिखु–१, ५१ मेगावाटको लिखु–२ र २९ मेगावाटको लिखु ए आयोजना निर्माण शुभारम्भ भएको घोषणा गरे।

ऊर्जासचिव अनुपकुमार उपाध्याय, पुनर्निर्माण प्राधिकरणका सचिव डा‍.सञ्जय शर्मा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी कार्यक्रममा मन्त्री शर्माले जलविद्युत्मा जनताको लगानी बढाउन ऊर्जा मन्त्रालय अघि बढेको बताउँदै जलविद्युत् उत्पादनलाई सरकारले विशेष प्राथमिकता दिएको बताए।

रामेछाप र सोलुखुम्बुमा बन्ने तीन आयोजनाको कुल लागत २१ अर्ब रुपैयाँ छ। आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्वीटी) रहेको छ। दुगडको सहायक कम्पनी पान हिमालय इनर्जी लिमिटेडद्वारा प्रवर्धित लिखु–१ को लागत ९ अर्ब २८ लागत रहेकोमा प्राइम बैकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनीसहित आठ बैकले ६ अर्ब ९६  लगानी गरेका छन्।

नुम्बुर हिमालयन हाइड्रोपावरद्वारा प्रवर्धित ५१ मेगावाटको लिखु–२ को लागत ६ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेकोमा माच्छापुच्छ्रे बैंकको नेतृत्वमा ६ बैकले ४ अर्ब ५१ तथा ग्लोबल हाइड्रो पावर एसोसियटद्वारा प्रवर्धित २९ मेगावाटको लिखु ए को लागत ४ अर्ब ४४ करोड रहेकोमा लक्ष्मी बैंकको नेतृत्वमा ५ बैकले ३ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन्।

कार्यक्रममा दुगड समूहका अध्यक्ष दुगडले उद्योग व्यापारी जलविद्युत् आयोजना बनाउन अनिच्छुक देखिए पनि आफूले लगानी बढाउन लागेको बताउँदै ५ सय मेगावाट आयोजना अघि बढाउन अमेरिकी लगानीकर्ताहरूसँग वार्ता भइरहेको जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.