|

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।

बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने, साथीभाइ जम्मा हुन पाउनेजस्ता थुप्रै मन फुरूङ्ग पार्ने कुरा थिए।

वैशाख लाग्नासाथ स्कुलदेखि गोठालो जाँदासम्म साथीभाइसँग दशैंमा कस्तो लुगा किन्ने भन्ने चर्चा हुन्थ्यो। जेठ लागेपछि नयाँ लुगा किन्न बजार जाउँ भन्दै बाआमालाई करकर गर्दाको रमाइलो छुट्टै थियो।

छिटोछिटो खेतमा रोपाइँ र बारीमा मकैको काम सकेर लुगा किन्न जाने भन्दै बाआमाले मन लोभ्याउनुहुन्थ्यो। नयाँ लुगा लगाउन र ठूलठूला घर र बजार हेर्न जान वर्ष दिनभरि कुरिरहेका खुट्टा बाआमाभन्दा पहिले खेतबारीमा पुग्थे। सबैतिरको काम भ्याइसकेपछि असोजमा लुगा महँगो हुन्छ भन्दै बाआमाले पनि साउनतिरै लुगा किनिदिनुहुन्थयो। वर्ष दिनपछि बजार आउँदाको उत्साह अहिले सम्झँदा सपना जस्तै लाग्छ।

नयाँ लुगा किनेर पुग्दा आफूभन्दा अगाडि नै लुगा हेर्न साथीहरू आएर बसिसकेका हुन्थे। हतारिँदै त्यो लुगा लगाएर साथीहरूको घर चहार्दाको आनन्द पनि बेग्लै थियो।

अहिलेको तिहार त एउटा औपचारिकता निभाउनका लागि मात्रै आएको जस्तो लाग्छ। बन्द कोठाभित्र भाइटीका लगाएर सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्रै मान्छेहरू हतारिएका हुन्छन्।

पिङ हाल्न भनेर गाउँभरिको साथीहरू भेला भएर बाबियो काट्न गइन्थ्यो। बाबियोले हात काट्यो भन्दै २-४ दिनसम्म भाडा नमाझी काम ठग्दा कम्ता खुशी मिल्थेन। हजुरबालाई बाबियो बाट्न लगाएर घरपछाडी खोल्सीमा भएको बाँस काट्न जाने‚ बाँस काटेर लिङ्गो गाँडेर पिङ खेल्ने गरिन्थ्यो। कमेरो र रातो माटो ल्याएर घर रंग्याइन्थ्यो। यसरी दशैंलाई बिदा गरिसकेपछि आउने तिहारको रमाइलोको त झन् जति फेहरिस्त सुनाए पनि सकिँदैन। यमपञ्चकबाट नै गाउँभरि पाक्ने सेलको बास्ना नाकमा अझै पनि उस्तै छ।

दशैं सकिनुअघि नै तिहारको देउसी भैलोको तयारी सुरू भइसकेको हुन्थ्यो। आँखामा अझै पनि बाल्यकालका त्यतिबेलाको सम्झनाहरू ताजा नै छन्। जतिबेला तिहार आउनु महिनौं दिनअघिदेखि साथीभाइ जम्मा हुनु, तिहारमा कुन गीतमा नाच्ने भन्दै तयारी गर्नु, भट्याउने, पैसा बोक्ने, चामल र रोटी बोक्ने जिम्मा एकअर्कामा बाँडफाड गर्ने काम तिहार सुरू हुनुअघि नै भइसकेको हुन्थे। लक्ष्मी पूजाको दिन पूजा गरी नसक्दै आफ्नै घरको आगँनमा दाजुबहिनी मात्रै भट्याउन थाल्नु पनि बाल्यकालको सबैभन्दा मिठो पल थियो।

हतारहतार बत्ती बालिसकेर आमाले पूजा गरिसक्दा नसक्दै आगँनमा उभिएर दाजुबहिनी पालैपालो देउसी भट्याउँथ्यौं। दाइलाई र मलाई १०-१० रूपैयाँ दिनैपर्छ भनेर हामी आन्दोलन नै गर्थ्यौं। त्यसपछि गाउँका साथीभाइसँग भैलीनी भन्न गाउँभरि पुथ्यौं। कतिको घरमा लक्ष्मी पूजा गर्न भ्याएको छैन अलि पछि आउनु भन्दै फिर्ता पठाउँथे। पैसा धेरै दिनेको घरमा अझ धेरै बेरसम्म बसेर भट्याइन्थ्यो। पैसा, चामल र रोटीजस्तो आफूले भनेको परिकार पाएपछि ‘अर्को वर्ष आउँदा यो घरको छाना र ढोका सुनको होस्’ भन्दै आशीष दिएर हिँडिन्थ्यो। पैसा थोरै दिनेको घरमा भने धेरैबेर बसिँदैनथ्यो। उसो त कतिले त ढोका नै खोल्दैनथे। ‘छानामाथि घण्टी, छिटो गर्नु अन्टी’ भन्दै बोलाइन्थ्यो। त्यति गर्दा पनि ढोका खोलेनन् भने दुःखी भएर अर्कोतिर लागिन्थ्यो।  

बली राजाले पठाएको भन्दै देउसीभैली भट्याउँदै आधा रात बिताइन्थ्यो। देउसी भैलो खेलेर उठेको चामल र पैसा लिएर साथीभाइ सबै घरपछाडिको बारीमा पिकनिक जाने गर्थ्यौं। आगो, पानी, नुन र तेलजस्ता सबै सामान घरबाटै ओसारिन्थ्यो। छोराछोरीले पकाएर खान जान्दैनन् भनेर आमाहरू बारीको पाटामा नै पकाउन सिकाउन आइपुग्नुहुन्थ्यो। भर्खर कोदोको नल काटेको ठोसामाथि गुन्द्री ओच्छ्याएर बसिन्थ्यो र पकाएर खाइन्थ्यो। वर्ष दिनभरि झगडा मात्रै गरेर बसेका हामी दाजुबहिनी त्यो एक दिन भने झगडा नगर्ने है भन्थ्यौं। तिहारमा दिदीबहिनीले दाजुभाइलाई पुजा गर्नुपर्छ भन्दै दाइले धेरै सताउनुहुन्थ्यो। कहिले यसो गर कहिले उसो गर भन्दै काम लगाएपछि म फनक्क फन्किन्थें। तर, तिहारको दिनमा दाइले भनेको मान्दिनस् भन्दै काम लगाउनुहुन्थ्यो।

ती सबै पलहरू अहिलेका लागि त केवल एउटा याद बनेर बसेको छ। पहिलेको तिहार र अहिलेको तिहारलाई हेर्दा जिन्दगीको एक जुग नै पार गरिसकेको आभास हुन्छ। आजभोलि त न भैलेनीका गीत सुनिन्छ न भैलेनीको नाच नै नाचिन्छ। उसो त गाउँमा त्यस बेलाको साथीहरू पनि कोही छैनन्। पहिला वर्ष दिनमा एकपटक बजार आइन्थ्यो। तर, अहिले वर्ष दिनमा एकपटक घर गइन्छ।

कोही साथीहरू विवाह गरेर गए, कोही वैदेशिक रोजगारिमा लागे। भएका केही साथीहरूसँग पनि गाउँ जाँदा भेटिँदैन। साथीहरूका घरसँगै आफ्नो घर जोडिएका छन्। तर न उनीहरू घरबाहिर निस्किन्छन् न म आफैं निस्कन्छु। मोबाइलइन्टरनेटको दुनियामा मस्त रमाइरहेका हामीले बाल्यकालको तिहारलाई वर्षौं पहिले नै छोडिसकेका छौं। अहिलेको तिहार त एउटा औपचारिकता निभाउनका लागि मात्रै आएको जस्तो लाग्छ। बन्द कोठाभित्र भाइटीका लगाएर सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्रै मान्छेहरू हतारिएका हुन्छन्।

तिहारको महत्त्व र विश्वास पनि आधुनिकतर्फ अघि बढिरहेको समाजले भुल्दै गएको जस्तो लाग्छ। पहिलापहिला पसलमा गएर १० रूपैयाँको एक पुरी बिस्कुट मात्रै दिँदा पनि मुहारमा खुशी छाउथ्यो। तर, अहिले दिदीबहिनीले दाजुभाइलाई दिने र दाजुभाइले दिदीबहिनीलाई दिने कुराहरूमा पनि प्रतिस्पर्धाजस्तो देखिन्छ। तिहारलाई दाजुबहिनीको सम्बन्धको प्रतीकको रूपमा भन्दा पनि महँगो उपहार आदानप्रदान गर्ने पर्वको रूपमा मनाएको देखिन्छ।

दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई अझ बढी बलियो बनाउने कडीको रूपमा रहेको तिहार देखावटी र प्रतिस्पर्धा गर्दै नभई संस्कृतिको संरक्षण गर्दै मनाऔं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.