|

उदयपुर : सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उद्योग उदयपुर सिमेण्ट उद्योगले उत्पादन क्षमता वृद्धिका लागि दुई नयाँ योजना अघि सारेको छ।

पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको उद्योगले क्षमताअनुरूप सिमेण्ट उत्पादन गर्न नसकेपछि व्यवस्थापन पक्षले नयाँ प्रविधि भित्र्याई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि सारेको हो।

कतिपय मेसिन र प्रविधि झण्डै तीन दशक अघिकै रहेकाले उत्पादनमा क्रमश: ह्रास आउन थालेपछि ‘मर्मत संभार तथा अपग्रेडिङ्ग अभियानअन्तर्गत नयाँ योजना अघि सारेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए।

उद्योगले फागुन १५ गते भित्र सम्पन्न गर्ने गरी २० मिटर क्लिन सेल फेर्न टेण्डर प्रक्रियाद्वारा सम्झौता गरिसकेको उनले बताए। त्यसैगरी रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्न अन्तिम अध्ययन गर्न कन्सल्टेण्ट (विज्ञ) नियुक्तिको प्रक्रिया पूरा गरेको उनले बताए।

दुवै नयाँ योजना चालु आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरी संचालक समितिले बजेट पारित गरिसकेको छ।​ पारित बजेट निकासाका लागि उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिफारिस भएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए।

अर्थ मन्त्रालयले ऋण सहयोग स्वीकृति दिएलगत्तै दुवै प्रविधि जडान हुने र उद्योगले गति लिने उनको भनाइ छ।

नयाँ प्रविधि जडानका लागि गरिएको प्रारम्भिक अध्ययनले हालको दैनिक क्षमता ८ सयबाट ११ सय मेट्रिकटन पुग्ने देखाएको छ।

पुरानो मेसिन मर्मतसम्भार गरी चलाउँदा समस्या आइरहने भएकाले सुधारका योजना अघि सारिएको उनको भनाइ छ।

महाप्रबन्धक न्यौपानेले भने, ‘पुरानो मेसिन मर्मत गरेर चलायो, दुई दिन बित्न नपाउँदै अन्य समस्या आउँछ, उद्योग सञ्चालनभन्दा पनि मर्मतसम्भारमै दिन बित्न थालेपछि नयाँ योजना अघि सारिएको हो।'

मर्मतसम्भार र क्षमता विस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उत्पादन तथा औषधि उपचार, सामाजिक कार्य, उदयपुरको विकास निर्माणमा समेत टेवा पुग्ने उनले बताए।

एकातर्फ मर्मतसम्भार खर्च वृद्धि र अर्कोतर्फ ब्रेक डाउनको समय बढी भएका कारण दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता रहेको उद्योगले औसतमा वार्षिक ३ सय मेट्रिक टनको हाराहारीमा उत्पादन गर्दै आएको महाप्रबन्धक न्यौपानेले बताए।

क्षमताअनुसार उद्योग सञ्चालन नहुँदा उद्योगलाई दैनिक आर्थिक व्यवहार थपिँदै गएको छ। लक्ष्यअनुसार उत्पादन नहुँदा उद्योगबाट सेवानिवृत भएका कर्मचारीको उपदान, औषधि उपचार लगायतको सेवासुविधा उपलब्ध गराउनसमेत असहज भएको प्रवक्ता पोखरेलले बताए।

अवकाश कर्मचारीलाई २ करोड २३ लाख भुक्तानी

आर्थिक संकटबीच उद्योगले पछिल्लो समय अवकाश प्राप्त कर्मचारीलाई उपदानबापत २ करोड बढी रकम भुक्तानी गरेको छ।

सेवानिवृत भएको ६ महिनासम्म पनि पाउने सुविधा नपाएको गुनासो बढ्न थालेपछि उद्योगले भर्खरै २ करोड २३ लाख भुक्तानी गरेको हो।

वर्षेनी कर्मचारीको उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यसअघिका महाप्रबन्धकहरुले नियमित जम्मा नगरिदिँदा अवकाश प्राप्त कर्मचारीलाई भुक्तानी दिन समस्या भएको प्रवक्ता पोखरेलले बताए।

एकातर्फ नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतर्फ पुरानो दायित्व भुक्तानी एकैसाथ गर्नुपर्ने दायित्व सृजना भएपछि केही समस्या भएको हो अब हामी यसलाई नियमित गर्नेतर्फ अघि बढिसकेको उनले बताए।

न्यौपाने नियुक्त हुनुअघि अवकाश प्राप्त २१ जना कर्मचारीको उपदानबापत ५ करोड ५४ लाख ९३ हजार ५ सय २० रुपैयाँ र  औषधि उपचारबापत १ करोड ५० लाख ३५ हजार गरी कुल ७ करोड ५ लाख २९ हजार बाँकी रकम मंगलबार  भुक्तानी गरिएको उनले बताए।

उद्योग परिरमा मन्दिर स्थापना

यसैबीच उद्योग परिसरमा उद्योगका कर्मचारीहरुले आफ्नै परिश्रमबाट तयार गरेको बाबा विश्वकर्माको मन्दिरको महाप्रबन्धक न्यौपानेले उद्घाटन गरेका छन्।

देशकै गौरवको उद्योग भएकाले अवलोकन गर्नका लागि जिल्लाबाहिरबाट पनि आउने भएकाले पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम अघि सारिएको उद्योगले जनाएको छ।

त्यसका लागि सरसफाइ, संरक्षण र सम्बर्धन फुलवारी, स्मारिका नजिकमा राष्ट्रिय झण्डा फहराउने काम भइसकेको उनले बताए। उद्योगलाई आकर्षक बनाउनका लागि  जीर्णोद्धार गरी पुनर्जीवन दिने, उत्पादन क्षमता बढाएर आर्थिक सबलीकरणतर्फ उन्मुख हुने नीति लिइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.