नेपालका १२० स्थानबाट काम, ७० देशमा सप्लाई
नेपालका १२० स्थानबाट काम, ७० देशमा सप्लाई
काठमाडौं : अचेल राजधानीमा प्रकाशन भएका पुस्तक सोही दिन राजधानीबाहिरका पाठकले पाउँछन्। यसको माध्यम बनेको छ, 'किताब यात्रा'। २७ हजार पाँच सय रुपैयाँमा दिल्लीबाट तीनवटा बोरामा किताब हालेर रक्सौल नाका हुँदै नेपाल भित्रिएका थिए ऋषिराम अधिकारी।
कुनै पनि पाठकले साहित्यका पुस्तक नपाएर भौतारिनुपर्ने समयको अन्त्य गर्न अधिकारीले किताब यात्राको सुरूवात गरेका हुन्।
एक कल फोनकै भरमा पाठकको घरमा पुर्याउने लक्ष्य राखेको किताब यात्राले पाँच वर्ष बिताइसकेको छ।
०७४ चैतबाट औपचारिक रूपमा सुरु भएको 'किताब यात्रा'ले पुस्तकप्रेमीले चाहेको पुस्तक उसैले भनेको ठाउँमा छुटसहित पुर्याउँदै आएको छ।
पुस्तकले मान्छको जीवनमा धेरै कुरा सिकाउँन मद्धत गरिदिन्छ। 'किताब यात्रा'ले पुस्तकको यात्रा गराएरै पाठकलाई धेरै कुरा सिकाउन मद्दत गर्ने अधिकारीको विश्वास छ। 'किताब यात्रा'को थालनी, यसको वर्तमान अवस्था र भविष्यबारे थाहाखबरका लागि अधिकारीसँग राजु पौडेलले बुझ्ने प्रयास गरेका छन्।
'किताब यात्रा' को सोच कसरी फुर्यो?
मैले लालबन्दीमा हुर्किंदा वा बस्दा मैले चाहेको पुस्तक कहिल्यै पाइनँ। यो कुराले मलाई निकै दिक्क लाग्थ्यो।
आफ्नो ठाउँका मान्छेले किताब खोज्दाको दुःख देखेको थिएँ। साहित्य र इतिहासमा रूचि राख्ने म आफैँ पनि किताब किन्न लालबन्दी नजिकका बजार धाउँथेँ। कहिले त हेटौंडा वा नारायणगढ आउनुपर्थ्यो।
जब म सिए पढ्न दिल्ली गएँ मेरो दिमागले ती कुराहरू सम्झियो। अहिले यातायातको व्यवस्था छ तर, के अहिलेका पुस्ताले पनि सहजै पैसा तिरेर पुस्तक पढ्न पाएका छन् त? यसो हेर्दा पुस्तकको बजार मैले शहर केन्द्रित नै देखेँ।
कतिपय व्यक्ति घरबाट बाहिर निस्कन सक्ने अवस्थासमेत पनि देखिँदैन। उहाँहरूको पठनको भोकलाई मेटाउन माध्यम बन्न सकिन्छ भन्ने मात्र सानो लोभ पलायो। त्यहीअनुरूप नै मैले किताब यात्रा सुरु गरेको हुँ।
५ वर्ष पुग्यो। अनुभव कस्तो भइरहेको छ?
मैले संसारको सबैभन्दा खुसी र आनन्द लाग्ने काम गरिरहेको छु भन्ने लाग्छ। ५ वर्षअघि यो काम सुरु गर्दा जुन उत्साह थियो। जुन उमंग थियो। त्यो आज पनि कायम रहेको छ।
मागअनुसार किताब पुर्याउन सकिरहेको छैन यसमा मैले माफी माग्नैपर्छ। मैले गर्छु भनेर भनिसकेपछि गर्नुपर्थ्यो त्यो पूर्ण रूपमा गर्न सकेको छैन। कोसिस भने गरिरहेको छु। समग्रमा म सन्तुष्ट नै छु। चुनौती ज्यादा छ, मजा पनि छ।
१२० भन्दा बढी ठाउँमा तपाईहरूमा पुस्तक बिक्री गरिरहनुभएको छ। भेगीय हिसाबले पनि पुस्तकको अध्ययन गर्ने शैली फरक-फरक भेट्नुभएको होला है?
यो मैले आफ्ना व्यापारको हिसाबले हेर्दा कुनै एक भेगले एउटा पुस्तकको माग गर्ने र अर्को भेगले अर्को माग गर्ने गरेको देखिँदैन।
उदाहरणको लागि 'कर्णाली लोक संस्कृति' भन्ने पुस्तक कर्णालीका मान्छेले मात्र पढिरहनुभएको छैन। यो देशभर नै माग हुन्छ। कुनै एक जात विशेष वा स्थान विशेष भएर लेखिएका पुस्तकको माग देशैभरि भइरहेको छ।
पुस्तक कहाँ ज्यादा माग गरिन्छ भन्ने कुरा भने म भन्न सक्छु। ट्रान्जिट हब शहरहरूमा पुस्तकको माग ज्यादा हुने गर्छ। जस्तै, उपत्यका, पोखरा, नारायणगढ, बिर्तामोड, विराटनगर, इटहरी, धरान, हेटौडा, बुटवल, नेपालगञ्ज, सुर्खेत यहाँ पुस्तकको माग अत्यधिक रहेको छ।
७० देशमा पुस्तक कुरियर गर्नुहुन्छ। विदेशमा बस्नेले कस्ता खालका पुस्तकको माग गर्नुहुन्छ?
एकै प्रकारका पुस्तक भन्ने छैन। रोजगारीको लागि विदेशिएका युवाहरू उपन्यास र नेपाली इतिहास र समाजका पुस्तकहरू माग गरिरहनुभएको छ। जो परिवारसहित विदेशिनु भएको उहाँहरूले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनका लागि त्यसैअनुरूप पुस्तक मागिरहनुहुन्छ। तर, अहिले त ५० को दशकभन्दा अघि लेखिएका पुस्तकको बढी माग भइरहेका छन्। धेरै लेखक साथीहरू विदेशमा हुनुहुन्छ। उहाँहरू नयाँ पुस्तक आउनेबितिक्कै माग गरिरहनुभएको छ।
जमाना डिजिटलाइज्ड भइरहेको छ। तपाईं चाहिँ कुरियरमै हुनुहुन्छ। प्रविधिमैत्री बन्ने सोचले 'किताब यात्रा'लाई थप अग्रणी बनाउँछ भन्ने लाग्दैन?
नेपालको आवश्यकता के हो भन्ने कुरा मुख्य हो। हामीले डिजिटलाइज्ड नगर्ने भनिरहेका छैनौं। तर, डिजिटल माध्यम नेपाली पाठकहरू कति पुगेका छन् भन्ने मुख्य हो।
नेपालमा आवश्यकता अनुसारको पूर्ति गर्ने काम गरेका हौँ। हामी केवल साहित्यका किताब मात्र उपलब्ध गरिरहेका छेनौँ। हामीले पाठ्यपुस्तकको हकमा पनि काम गरिरहेका छौँ।
अहिलेको हाम्रो आवश्यकता फिजिकल बुकमा छ। यति भन्दै गर्दा ठूलो सम्भावना ई-बुकमा होला, अडियो बुकमा होला। तर, मार्केटअनुसार सुहाउँदो प्रोडक्ट बनाउनुपर्यो। पाठक वा क्रेतालाई बुझाउन सक्नुपर्यो।
सन् २०१३-१४ मा अमेजनले किन्डल लञ्च गर्दा अब विश्वबाट नै पुस्तकहरू डिजिटलाइज्ड हुने भए भन्ने लागेको थियो। तर, पुस्तकप्रतिको लगाव, पानासँग भावनात्मक सम्बन्ध पाठकले छोड्न सकेनन्।
पुस्तक एउटा मूल्य राखेर बिक्री गर्छौं। तर, पुस्तकसँग भावनात्मक सम्बन्ध त हुन्छ नै, पुस्तकको गन्ध पनि आफैँमा पोजेटिभ भ्वाइस ल्याउने हुन्छन्। हामीले डिजिटलाइज्डको बारेमा काम नै गरेको छैनौँ भन्ने होइन तर, अहिले बाहिर नदेखिएको मात्र हो।
कारागार जीवन बिताइरहेका कैदीहरूले सकारात्मक जीवन पाउन र अस्पतालमा बिरामी कुरुवालाई तनाव कम गर्न व्यवस्थित पुस्तकालय खोल्ने तपाईंको योजना कहाँ पुग्यो?
कारागारमा र अस्पतालमा लाइब्रेरी पुर्याउने मेरो संस्थाको लागि ठूलो सपना हो। कतिपय अवस्थामा पाइला रोकिँदैमा गन्तव्य भूलेको भन्ने होइन।
समय आएपछि अन्तिम बिन्दुमा पुग्छ। हाम्रो यो योजना रोकिएको छ। कारागारमा र अस्पतालमा लाइब्रेरी पुर्याउने मेरो संस्थाको लागि ठूलो सपना हो।
उपत्यकामा भने पुस्तक सप्लाई गरेका हौं। पूर्वका कारागारमा पुगेका थियौं। कारागारका नाइकेहरूसँग छलफल पनि गरेका हौं। सोचेअनुरूप जवाफ पाइरहेका छैनौँ। यसकारण रोकिएको हो। अस्पतालको हकमा पनि यस्तै भइरहेको छ।
‘किताब भनेकै किताब यात्रा’ बनाउने तपाईंको योजनाले सकारात्मक रिजल्ट दिइरहेको छ। चुनौती कस्ता छन्?
मैले २७ हजार ५ सय रुपैयाँबाट किताब यात्रा सुरु गरेको हुँ। यसले गर्दा अहिले गरिरहेका कामले म सन्तुष्ट नै छु। म लालबन्दीमा हुर्किंदा यति धेरै मान्छेसँग भेट्न वा चिनजान गर्न पाइन्छ भनेर अनुमान पनि गरेको थिइन्। अक्षरहरूको ग्रन्थ एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन सकिन्छ भन्ने सोचेको थिइनँ।
किताब भनेकै किताब यात्रा बनाउने मेरो योजना विस्तारै पूरा हुँदैछ। देशभरका विभिन्न १२० स्थानमा हामीले काम गरिरहेका छौँ। विश्वका ७० वटा देशमा रहेका नेपाली भाषीहरूलाई नेपाली भाषामा पुस्तकहरू सेवा दिइरहेका छौं।
सफल भइयो वा भइएन भन्ने कुरा त बल्ल हामीले आधा दशक काम गरिरहेका छौं। तर, अहिलेसम्म हेर्दा सकारात्मक नै देखिएको छ।
चुनौती छैन भन्दिनँ म। कुनै काममा चुनौती छैन भने काम गर्न मजा आउँदैन। चुनौती पूरा गर्न सके मात्र अवसरका ढोका खुल्ने हुन्। अहिले अवसरका ढोका खुलेका छन्। यसको अर्थ चुनौतीका चरणहरू पार गरियो भन्दा गज्जब होला।
किताब जात्रा दिल्लीमा गर्दै हुनुहुन्छ। यसले दिने सन्देश के हो?
हामीले चार संस्करण नेपालमा गरिसकेका छौँ। यसकारण हामीसँग किताब जात्रा गर्ने अनुभव छ। डिसेम्बर २३ गते हामीले दिल्लीमा कार्यक्रम गर्न खोजिरहेका छौं।
जहाँ नेपाली र भारतीय लेखकबीचको अन्तरक्रिया होस्। सम्बन्धका नयाँ आयामहरू थपिऊन् र दुई देशका लेखकहरूको लेखन अनुभवबारे छलफल होस् भन्ने मेरो चाहना हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।