नियतवश मूल्‍य तोक्न ढिला गरेको आरोप

|

सर्लाही : उखुको मूल्य तय नभए पनि सर्लाहीका चिनी उद्योग भने चल्न थालेका छन्। काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य नै तय नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन्।

यसैक्रममा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ। बिहीबार दिउँसो २ बजेदेखि उद्योग संचालनमा आएको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए।

किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भइसकेको छ। टायरगाढाको यार्ड भने खाली नै छ। दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको इन्दुशंकरले गत वर्ष २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो।

मूल्य तोक्नै बाँकी

उखुको मूल्य तय भइनसके पनि किसानकै आग्रहमा उद्योग संचालनमा ल्याइएको प्रशासकीय अधिकृत नेपालले जानकारी दिए। ‘उखु काट्न ढिलाइ हुँदा खेतमै सुक्ने डर तथा खुट्टी उखु तत्काल हटाएर अन्य बाली लगाउन पनि ढिला भएकाले किसानहरुकै आग्रहमा उद्योग सञ्चालनमा ल्याईएको हो’, नेपालले भने, ‘सरकारले तोकेअनुसार पछि किसानलाई भुक्तानी गर्ने गरी हाललाई उखु संकलन भइरहेको छ।’

जिल्लाकै दक्षिणी क्षेत्रमा रहेको गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल पनि सञ्‍चालनको अन्तिम तयारीमा रहेको बताइएको छ। उक्त उद्योग शुक्रबार दिउँसोबाट संचालनमा आएको प्रसाशनले जनाएको छ।

‘उद्योगका यार्डहरू किसानको उखु बोकेका सवारी साधनले भरिभराउ भएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए। उक्त उद्योगले गत वर्ष ८ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। उद्योग सम्बद्ध कसैसँग सम्पर्क हुन सकेको छैन।

अन्‍नपूर्ण मिल सञ्‍चालन नहुने

त्यस्तै, जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौल स्थित अन्नपूर्ण सुगर मिल भने यसवर्ष पनि संचालनमा नआउने सम्भावना बढेको छ।

उद्योगका संचालक राकेशकुमार अग्रवालसँग ज्ञानप्रसाद भट्टराई लगायतको समूहले यसै वर्षदेखि उद्योग सञ्‍चालन गर्नेगरी चिनिमिल खरिद गरेको भए पनि अहिलेसम्म नामसारी हुन नसकेको लगायत समस्याका कारण उक्त उद्योग यसवर्ष संचालनमा नआउने सम्भावना रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।

किसानको भुक्तानी दिन नसकेपछि उक्त उद्योग दुई वर्षदेखि सञ्‍चालनमा आएको छैन। गतवर्ष किसानको बाँकी बक्यौता भुक्तानी गरे पनि उद्योगको स्वामित्व नामसारीलगायत प्रक्रियामा ढिलाइ हुँदा उक्त उद्योग यसवर्ष सञ्‍चालनमा नआउने सम्भावना बढेको हो।

मूल्‍य तोक्न नियतवश ढिला गरेको आरोप

उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले उखुको मूल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन्। ‘हाँम्रोतर्फबाट लागतका आधारमा उखुको मुख्य कम्तीमा प्रतिक्विन्टल ६८० रुपैयाँ हुनुपर्ने मागसहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाइसकेका छौं’, मैनालीले भने, ‘कृषिले उद्योग मन्त्रालयमा मुल्य तोक्ने विषयको फाइल पठाएको र उद्योग मन्त्रालयले पनि मन्त्रिपरिषदमा पेश गरिसकेको भन्ने सुनेका छौं।’

उखुको मूल्य तोक्ने विषयमा उद्योगपतिहरुले समेत ढिलासुस्ती गरिरहेको मैनालीले आरोप लगाए।

गतवर्ष उखुको मूल्य ५३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो। जसमा उद्योगपतिले ४७१ रुपैयाँ २८ पैसा तथा सरकारले ६५ रुपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराएको हो।

मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष २५ हजार हेक्टर हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ।

हरेकवर्ष उखुको मूल्य तोक्ने विषयमा रडाको मच्चिने र मूल्य तोकिसकेपछि पनि किसानले समयमै उद्योग र सरकारबाट भुक्तानी नपाउने अवस्थाबाट गुज्रनुपर्दा किसानले पछिल्लो केही वर्षयता उखु खेती छाडेर अन्य खेतीको विकल्प रोज्न थालेका छन्।

उद्योगपति र सरकारले दुवैपक्षले वर्षौंसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले नगदे भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भइरहको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.