काठमाडौं : विद्यालय स्तरका दृष्टिविहीनहरूका लागि छापिएका ब्रेल पाठ्यपुस्तकमा त्रुटि भेटिएको छ। जसकारण दृष्टिविहीन विद्यार्थी र शिक्षकहरूलाई समस्या भएको छ।
दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पाठ्यपुस्तक छापिन्छ। सोही पाठ्यपुस्तक उनीहरूले छामेर पढ्छन्। ललितपुरको एक विद्यालयमा दृष्टिविहीनहरूलाई पढाउने शिक्षिकाले ब्रेल पाठ्यपुस्तकमा ५० प्रतिशत गल्ती पाइएको बताइन्। ‘ब्रेल पाठ्यपुस्तकमा धेरै गल्ती छ,’ दृष्टिविहिन ती शिक्षिकाले भनिन्, ‘एक लाइनमा नेपाली भए अर्को लाइनमा अर्कै शब्द हुन्छ, कुनैमा टाइप नै हुँदैन।’
उनका अनुसार कक्षा ३ र ४ को पाठ्यपुस्तकमा यस्ता त्रुटि धेरै छन्। ‘अरु कुन विषयको कस्तो भन्ने त सबै बसेर पत्ता लगाउनु नै पर्छ,’ उनले भनिन्‚ ‘यसो गरे झनै धेरै त्रुटि भेटिन्छ।’
सधैं पुरानो पुस्तक वितरण!
भक्तपुर नेत्रहीन संघका अध्यक्ष सुरेशराज भण्डारीले दृष्टिविहीन विद्यार्थीलाई पुराना पाठ्यपुस्तक वितरण गरिएको पाइएको बताए। उनले भने, ‘केही दिनअगाडि कक्षा १० मा पढ्ने एक जना बहिनीका लागि निवेदन दिएर जेओग्राफी पुस्तक मागेका थियौँ, तर पुरानो पो दिएको रहेछ।’
शिक्षक/शिक्षिकाहरूबाट ब्रेल पाठ्यपुस्तकमा त्रुटि भएको गुनासो आउने गरेको भण्डारीले बताए। उनका अनुसार पुस्तकमा कतै लाइन छुट्टिएको त कतै शब्द नै बिग्रेको छ। ‘हामीले सम्बन्धित पुस्तक छाप्ने संस्थालाई ध्यानाकर्षण गराएका छौँ,’ उनले भने‚ ‘अब उप्रान्त यस्तो समस्या नआउँला कि।’
पुस २० गते २१३ औँ लुई ब्रेल जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय ब्रेल दिवसको अवसरमा आयोजित ‘शिक्षामा स्थानीय सरकारको भूमिका’माथि अन्तर संवादमा पनि दृष्टिविहीन विद्यार्थीहरूले यो गल्ती सच्याउनुपर्ने माग गरेका थिए। पाठ्यपुस्तक छपाइका लागि बर्सेनि बजेट विनियोजन भए पनि पुरानै पुस्तक वितरण गर्ने गरिएको उनीहरूको गुनासो थियो।
कीर्तिपुर नगरपालिकाद्वारा दृष्टिविहीनका लागि गठित श्रव्य पुस्तकालय तथा स्रोत केन्द्र नेपालका अध्यक्ष रमेशबाबु तिवारीले पाठ्यपुस्तक छपाइमा देखिएको त्रुटिलाई अझै पहिचान गरी तत्कालै सच्याउन पहल गरिने प्रतिवद्धता जाहेर गरेका छन्।
स्रोत केन्द्र नेपालले दृष्टिविहीनहरूलाई शिक्षाबाट बञ्चित नगराउन श्रव्य सामग्रीलगायत पाठ्य सामग्रीहरू वितरण गरिरहेको बताउँदै उनले भने, ‘हामी सबैबाट त्रुटि भेला पार्छौं, त्यसपछि सच्याउन पाठ्यपुस्तक छाप्ने संस्थालाई जानकारी गराउँछौँ।
त्रुटि गरेको छैन : नेत्रहीन संघ
ब्रेल पाठ्यपुस्तक नेपाल नेत्रहीन संघ र नेपाल दृष्टिविहीन कल्याण संघले छाप्ने गर्छ। नेत्रहीन संघका अध्यक्ष सुरेशचन्द्र न्यौपाने पाठ्यपुस्तक छपाइमा केही त्रुटि नगरेको दाबी गर्छन्।
‘हामीले छाप्दा त्रुटि गरेका छैनौँ, सबै फाइनल गरेर मात्र छाप्छौँ,’ उनले भने‚ ‘एक दुई वटामा त्यस्तो भएको हुनसक्छ, कुनमा कस्तो त्रुटि छ‚ हामीकहाँ जानकारी आएमा सच्याउँछौँ।’
न्यौपानेका अनुसार कक्षा १ देखि १० सम्मको ब्रेल पाठ्यपुस्तक छापिन्छ। हरेक वर्ष नयाँ पाठ्यपुस्तक छाप्ने गरेको उनले दाबी गरे।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा श्रवण क्षमता नभएका र दृष्टिविहीनहरूको संख्या ९ हजार ७१४ छ। जुन नेपालको कुल जनसंख्याको शून्य दशमलब ०३६ प्रतिशत हो।
सरकारले गत भदौमै दृष्टिविहिन बालबालिकालाई ब्रेल पाठ्यपुस्तकलगायत आधुनिक प्रविधिको सहायताबाट शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाउने बताए पनि नीतिगत योजना कार्यान्वयनमा आउन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।