|

काठमाडौं : अनलाइनमा जुवा खेल्नेविरुद्ध प्रहरी आक्रामक बनेको छ। पछिल्लो १० दिनमा मात्र काठमाडौं उपत्यकाबाट ८८ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

माघ १६ गते प्रहरीले बौद्धस्थित एक रेष्टुरेण्टमा अनलाइन जुवा खेलिरहेको अवस्थामा ६६ जना पुरुष र ८ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दोलखा घर भई बानेश्‍वर बस्दै आइका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेण्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ‚ मोबाइल र बिङ्गो खेल्न प्रयोग गरिने कुपन बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताए।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत 'जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने' कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको मैनालीको भनाइ छ।

पछिल्लो समय लुकिछिपी विभिन्‍न अनलाइन खेल तथा आर्थिक क्रियाकलाप हुने गरेको प्रहरीको भनाइ छ। माघ ६ गते महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कीर्तिपुरबाट 'अनलाइन क्यासिनो' चलाएको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएको थियो। कीर्तिपुर नगरपालिका वडा नम्बर ६, ९ र १० मा रहेका घरहरू खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइललगायतका विद्युतीय उपकरणहरूसहित उनीहरूलाई नित्रन्त्रणमा लिइएको थियो। उनीहरूले अनलाइन जुवा र क्यासिनो चलाउने तथा अनलाइनमार्फत विभिन्न खेलहरू खेलाउने गरेका थिए।

पक्राउ पर्नेमा चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा र समीर  थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रवीन खड्का, ४५ वर्षीय बुद्ध महर्जन, २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, १९ वर्षीय हनिशा महर्जन, ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङको केदारस्युँ गाउँपालिका-५ घर भई कीर्तिपुर-५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोकको मेलम्ची-१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीय रमादेवी श्रेष्ठ छन्।

अनुसन्धानका क्रममा पक्राउ परेका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन तीनवटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखेको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए।

प्रवक्ता कोइरालाले भने‚ ‘उनीहरुले खटाएका कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई अनलाइन जुवा खेल्न लिंक शेयर गरी उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पैसा पुरस्कारको रुपमा दिने गरेको देखिएको छ।'

जुवा खेलाउनेले करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ।

यस्तै, माघ ११ गते ठमेलमा घनश्याम अम्गाईले सञ्चालन गरेको होस्टलको २०४ नम्बर कोठा भाडामा लिएर अनलाइनमार्फत जुवा खेलाउने दुई जनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाग्लुङ थाइवाङका होस्टल सञ्चालक राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह छन्। उनीहरूको साथबाट प्रहरीले उनीहरूको साथबाट करिब २९ लाख रूपैइँ बराबरका विभिन्न बैंकको भौचर तथा मोबाइल प्रहरीले बरामद गरेको थियो।

सन्तानलाई निगरानी जरुरी छ : प्रवक्ता मैनाली

अनलाइन जुवामा संग्लनहरुको उमेर हेर्दा प्राः युवा रहेका छन्। यो संग्लनता हेर्दा समाजका लागि गम्भीर संकेत रहेको परिसर प्रवक्ता मैनालीले बताउँछन्।

‘करियर निर्माण गर्ने र पढ्ने उमेरका धेरै व्यक्ति यसमा संग्लन देखिएको छ‚’ प्रवक्ता मैनालीले भने, ‘आफ्ना सन्तानले के गरिरहेका छन? कस्तो संगतमा छन्? उनीहरुलाई कसरी हुर्काउने भन्ने अभिभावकले पनि बुझ्न जरुरी भइसकेको छ।’

हरेक व्यक्तिलाई इन्टरनेट र मोबाइल सहजै उपलब्ध भएको छ। तर, यसले निम्त्याउने अपराधका बारेमा पनि सचेत हुनुपर्ने उनले सुनाए।

भौतिक रुपमा पनि हुनुनपर्ने  र सजिलै इन्टरनेटको माध्यमबाट जुवा खेल्ने घटना बढेपछि प्रहरी यसतर्फ थप गम्भीर भएको मैनालीको भनाइ छ।

‘हामीले समाजमा हुने गैरकानुनी काम कानुनी अधिकारमार्फत निस्तेज पार्न खोजिरहेका छौं। तर, समाजका हरेक व्यक्तिले नैतिकतामा बस्नुपर्ने कुरा बुझ्नुपर्छ‚’ मैनालीले भने, ‘प्रहरीले मात्र यसलाई निस्तेज गर्न सक्दैन। त्यसैले हामीले हरेक दिन सर्वसाधारणलाई समाजमा हुने गरेका यस्ता गलत हर्कतबारे खबर दिनुस् भनिरहेका छौं।’

सरकारलले नियमन गर्नुपर्‍यो : पूर्वडिआइजी मल्ल

अहिले अनलाइनमार्फत अवैध जुवा खेल्ने विभिन्न उमेर समूहका छन्। सजिलै उपलब्ध मोबाइल, इन्टरनेट तथा विभिन्न ग्याजेटले गर्दा मान्छेहरू अनलाइनमार्फत अवैध हर्कत गरिरहेका छन्। अनलाइनमा जुवाको खेललाई (अनलाइनबाट हुने अवैध कार्य) रोक्न सरकाले चासो नदेखाएको नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बताउँछनत्। सरकारले अनलाइन प्रदायक संस्थामार्फत कहाँ के भइरहेको छ भन्ने विषयमा नियमन गर्नुपर्ने उनको जोड छ। इन्टरनेटमार्फत हुने अवैध धन्दा रोक्नका लागि सरकार गम्भिर नहुनु चिन्ताको विषय रहेको मल्लले बताए।

‘अनलाइन जुवा रोक्न प्रहरीका विभिन्न निकायमा प्रविधिलाई थप मजबुत बनाउनुपर्छ‚’ मल्लले भने‚ ‘साइबर ब्यूरोजस्ता जिम्मेवारी प्रहरी निकायमा प्रविधि तथा दक्ष जनशक्ति थप्नुपर्‍यो।’

कोरोना महामारीका कारण बढ्दो बेरोजगारीले मान्छेलाई अनलाइनमा बस्ने लत बसेको छ। कोरोनाले घरमा बसेकाहरूलाई अनलाइन जुवाबाट छिटो र सजिलै पैसा कमाउन सकिन्छ भन्ने लोभ र भ्रम पैदा भएको मल्लले बताए। सजिलो माध्यमबाट धेरै पैसा कमाउन सकिने गलत बुझाईले गर्दा अनलाइन जुवालाई लिन थालिएको प्रति सरकार गम्भीर हुनुपर्ने मल्लको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.