|

हेटौंडा : बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मंगलबार 'रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश' विषयक अन्तरक्रिया भएको छ। 

रुपचन्द्र विष्टलाई नजिकबाट नियालेका जनमुखीहरूसँग उनको व्यक्तित्व, उनले अघि सारेको आन्दोलन र थाहा दर्शनको विषयमा रेडियोले छलफल गरेको हो। साथै उनको थाहा दर्शनलाई जोडेर अहिलेको राजनीतिक परिवेशबारे सरोकारवाला व्यक्तिहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरेको छ।

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीसँगै विष्टलाई नजिकबाट बुझेका जनमुखीकर्मीहरू एकराज उप्रेती, लवशेर विष्ट, भरत धिताल, भीमसेन पौडेल, राप्रपा नेता सिताराम बर्तौला लगायतले थाहा दर्शन, राजनीतिक परिवेश, विष्टको व्यक्तित्वबारे चर्चा गरेका थिए।  रेडियोले कार्यक्रमको प्रत्यक्ष प्रशारणसमेत गरेको थियो।

रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमका अनुसार सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुने छ। कार्यक्रममा प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईं, मन्त्रालयका सचिव, किसान तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहनेछ।

५ गते सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा माविस्तरीय वक्तृत्वकला कार्यक्रम हुने गौतमले बताए। त्यस्तै ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औँ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुनेछ।

कार्यक्रमको पहिलो दिन आइतबार पर्यावरण प्रवर्द्धनका लागि रेडियोले साइकल र्‍याली गरेको थियो। कार्यक्रमको दोस्रो दिन सोमबार रेडियोले बृहत रक्तदान आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.