|

बुटवल : रूपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट उद्धार गरी अभिभावकलाई बुझाएको छ। 

गत ५ गते स्कुलबसबाटै फकाएर अपहरण गरी लगिएका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाललाई झापाबाट अपहरण मुक्त गराएर आज अभिभावकलाई जिम्मा लगाएको झापा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत ५ गते गते बिहान ९:३० बजे रूपन्देही, सैनामैना-६ दुधराक्षस्थित घरबाट सैनामैना-४ बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुलको बस चढेर दाजुबहिनी स्कुल गएका थिए।

साँझ स्कुल बसमा नआएपछि बालबालिकाका बुवा प्रेम दाहालले स्कुलमा गई बुझ्दा उक्त बसका स्टाफले बच्चाहरु अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिई गएको बताएपछि बुवा दाहालले प्रहरीमा उजुरी गरेका थिए।

बसमा रहेका विद्यार्थीले खेमबहादुर पौडेलले स्कुल बसबाट झारी बिहानै साथमा लिई गएको बताएपछि दाहालले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा जानकारी गराएका थिए।

खोजतलास गर्ने क्रममा खेमबहादुर पौडेलले प्रयोग गर्दै आएको मोबाइल दिउँसो १५:४० बजे बुटवलको ट्राफिकचोकबाट स्वीचअफ भएको देखिएको थियो।  पौडेलसँग सम्पर्क भएका नम्बरहरूको सम्बन्धमा बुझ्ने क्रममा पौडेलका भाइ गुप्तबहादुर पौडेलले अन्दाजी १२:३४ बजेको समयमा बुटवलको नेपालगञ्जरोडमा सुटकेस दिएको प्रहरीलाई बताएपछि प्रहरीले सो क्षेत्रको सिसी क्यामेराको फुटेज हेर्दा पौडेल ब्रिफकेस लिई ट्राफिकचोकतर्फ गएको देखिएको प्रहरीले जनाएको छ। 

सोही फुटेजका आधारमा शुक्रबार ११:१२ बजे पौडेलको मोबाइल नम्बरको लोकेसन झापाको अनारमनी बिर्तामोड देखिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

पौडेलले बुटवलबाट बिर्तामोड जाने टिकट बुटवल, बसपार्कबाट काटेको देखिएको आधारमा प्रहरीले बिर्तामोड बसपार्कबाट उनलाई पक्राउ गरी बालबालिकालाई उद्धार गरेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए।

पक्राउ परेका पौडेलसहित अपहृत दुई बालबालिकालाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याउन प्रहरी सफल भएको डिएसपी पौडेलले बताए। पौडेलमाथि अपहरण तथा शरीरबन्धक मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.