|

म्याग्दी : म्याग्दीको बगरफाँट, सिंगा र बाबियाचौरमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो।

अन्नबालीले यहाँका फाँट निकै हरिया हुन्थे। यहाँको उत्पादनले स्थानीयलाई १२ महिना खान पुग्थ्यो। जब सडक बनेर गाडीहरू कुद्न थाले यहाँको अवस्था फेरियो। अन्न फल्ने हरिया फाँटहरू अब कंक्रिटका घरले भरिन थालेका छन्।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी नगरपालिका–४ सिंगा, बेनी नगरपालिका–१ रत्नेचौर, मंगला गाउँपालिकाको बाबियाचौर लगायतका सडकको पहुँच पुगेका ठाउँहरूको अवस्था पनि यस्तै छ।

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कंक्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन्। सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँचमा रहेको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो।

धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ। एक त खेतीयोग्य जमिन नै छैन, अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतिपाती गरिँदैन। बेनी नगरपालिका–२ बगरफाँटका वेदप्रसाद शर्माले भने, ‘बाली झुल्नुपर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नबालीको उत्पादनमा कमी आएको छ। आयातित खाद्यान्नमा निर्भर रहनुपरेको छ।’

खेती गरेर उत्पादित कृषिजन्य वस्तुबाट भन्दा बढी पैसा जग्गा बेच्दा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयको भनाइ छ। खेतीयोग्य जमिन घडेरी बनाउनको लागि बेच्न थाले, फलस्वरूप अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार म्याग्दीको खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आए पनि कृषि योग्य जमिन मासिँदै जान थालेको छ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठवटा पक्की घर निर्माण भएका छन्। उपल्लो फाँट र तल्लोफाँट (पलाँसे क्षेत्र) गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रूपमा चिनिन्छ।

जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीले बताएका छन्। 

सदरमुकाम बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बेनी बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउने आकर्षण बढेको हो।

बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि १ लाख ५० हजार रुपैयाँमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँट आउने गरेका हुन्।

हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए। यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उनको भनाइ छ।

‘जिल्लामा न त आधुनिक खेती प्रणालीको विकास हुन सकेको छ न त रैथाने परम्परागत कृषि पेशालाई राम्रोसँग अपनाउन सकिएको छ’, स्थानीय किसान टेकबहादुर कार्कीले भने, ‘किसानले खेतीयोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन।’

म्याग्दी जिल्लामा ८ प्रतिशत बेसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६ प्रतिशत हिमाली क्षेत्रको भू–बनोट रहेको छ। समुद्री सतहबाट ७९२ मिटर (बेनी नगरपालिका १ रत्नेचौर) देखि ८,१६७ मिटर (धौलागिरि हिमाल)सम्म फैलिएको यो जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हेक्टर) रहेको छ। 

१५ वर्षयताको तथ्यांक हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधाभन्दा बढी जमिन घटिसकेको छ। अहिले आयातित खाद्यान्नको भरमा यहाँको जनजीवन चलेको छ।

दैनिक खेतीयोग्य जमिनमा पक्की भवन ठडिँदा समेत कसैले जमिनको पक्षमा वकालत गरेका छैनन्। बाहिरका मानिस सदरमुकाममा बसाइँ सरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवन जस्ता शहरमा जाने क्रम बढेको छ।

अव्यवस्थित शहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीय बताउँछन्।

शहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ। अहिले यहाँका बूढापाकाले खेतिपातीको काम गर्दै आए पनि युवाहरू पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न देखिएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.