|

उदयपुर : बिहेको जन्ती चढेको टिपर मदन भण्डारी लोकमार्गमा पल्टिँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो।

बिहेको जन्ती चढेको टिपर सिन्धुलीको दुधौली नगरपालिका–५ सिथौली र खनिया खण्डको तेस्रो पुलमा पल्टिँदा कुमाल र दनुवारको मृत्यु भएको हो। जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर पल्टिँदा २४ जना जन्ती घाइते भएका छन्। घाइतेमध्ये ४ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। 

सिकिस्त चारै जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको विराटनगर, कटारी र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार दुर्घटनाका दुवै जना मृतक र सबैजना घाइते उदयपुरको कटारी नगरपालिकाका रहेका छन्। दुधौलीस्थित ट्राफिक प्रहरी कार्यालयले टिपरमा रहेका अधिकांश व्यक्ति कटारी नगरपालिका-२ का स्थानीय रहेको जनाएको छ।

डिएसपी गौतमले छिमेकी जिल्ला सिन्धुलीको बाणेगाउँबाट जन्ती लिएर कटारीतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको बताए। जन्तीलाई टिपरमा पठाएर बेहुलाबेहुली भने अर्कै गाडीमा आएका थिए। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.