|
आगलागी पीडितको हाल त्रिपाल मुनिको आवास

सर्लाही : जिल्लाको धनकौलका आगलागीपीडितहरू छटपटीमा रात बिताउन बाध्य भएका छन्।​ उनीहरूलाई वर्षायाममा कसरी रात काट्ने भन्ने चिन्ताले पिरोलिरहेकाे छ।

आकाशमा कालो बादल मडारिने बित्तिकै धनकौल गाउँपालिका–५,पासवान टोलका नन्दकिशोर पासवानको छटपटी शुरु हुन्छ। वर्षा भइहाल्यो भने ५ जना बालबालिकासहित परिवारले सानो त्रिपालमुनिको बासमा कसरी कटाउने होला भन्ने चिन्ताले नन्दकिशोरलाई छोपिहाल्छ।

चर्काे घामसहितको गर्मी मौसम भएकाले एकदमै होचो त्रिपालको छाप्रोमा दिन कटाउनसमेत निकै मुस्किल पर्ने गरेको लीलावतीदेवी पासवानले गुनासो गरिन्।
उनीसँगै पासवान टोलका १४ परिवार सबैको अवस्था त्यस्तै छ।

'हुरीबतास चल्यो र पानी परिहाल्यो भने हामी ठूला मान्छे त दुःखसुख रात कटाउँला तर यी लालाबालाको कस्तो हरिबिजोग हुने हो?,' रामनाथले चिन्तित हुँदै भने, 'कोही दाताले कम्तिमा सानो झुपडी नै भएपनि घर बनाइदिए हाम्रो ठूलो कल्याण हुन्थ्यो।'

गत चैत १२ गते शनिबार दिउँसो एक्कासी विद्युत सट् भएर सल्केको आगोले पासवान टोलका १४ घर पूरै जलेर नष्ट भएका थिए भने एउटा घरमा आंशिक क्षति भएको थियो।

आगलागीबाट घरसँगै भाँडाकुँडा, अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामानसमेत जलेपछि पासवान परिवारको बिल्लीबाठ भएको छ। आगलागी भएकै दिन साँझतिर धनकौल गाउँपालिकाले प्रति परिवार ५/५ हजार नगदसहित २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिन्डर, औषधिलगायत सामग्री उपलब्ध गराएकाे थियो।

त्यस्तै जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, बागमती सेवा समाज, वर्ल्ड भिजन लगायतले पनि लत्ताकपडा सहित विभिन्न राहत सामग्री दिएका छन्।

प्राप्त सबै राहत सामग्री पीडित परिवारका लागि अपर्याप्त छन्। आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शितल पासवान, बिकाउ पासवान, जीतन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको ५ नम्बर वडाका वडाध्यक्ष गजेन्द्र महतोले बताए।                        
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.