विक्रम सम्बत २०७८ ले हामीलाई विभिन्न चिन्तन, सफलता,असफलता जीवन प्रतिका हाम्रा अर्थ्याएका अनुभवको रुपमा छोडिदिएर बिदा लिंदै नयाँ वर्ष २०७९ को रुपमा स्वागत गर्दैछ ।
अहिले हामी, हाम्रो नजिक र चिनजानमा रहनुभएका व्यक्तिहरु मात्र नभएर संसारभर,सामाजिक संजालहरू मार्फत, इमेल र फोन अनि शुभकामना कार्डबाट शुभकामना आदान प्रदान गर्ने ओइरो लागेको छ ।
सबै मानिसहरु खुसी र उमङ्गले भरिएका छन् । हर्षित देखिन्छन्, परिवार, साथीभाई, इस्ट मित्रसँग घुमघाम र रमाइला कार्यक्रमहरु तय गर्दैछन् । सबैमा सकारात्मक सोच छ, सुस्वास्थ्य, दीर्घायु,शान्ति र प्रगतिको शुभकामना आदान प्रदान भैरहेको छ ।
कुनै कार्यक्रममा सरिक हुनु, विशेष रुपले मनाउनु या नमनाउनु सँग सरोकार छैन, त्यसैपनि नयाँ वर्षको माहौलले युवा, केटाकेटीदेखि वयोवृद्ध सबैमा उमङ्ग छाएको छ ।
नयाँ वर्ष, विविधता र समानता
नयाँ वर्षलाई आधार मानेर अनेक संकल्प हामी गर्ने गर्छौं । थाहा छैन कति नयाँ वर्षहरू पुराना भए। के कति थिए हाम्रा संकल्प, कति हामीले पूरा गर्यौं या गरेनौं, गर्यौं त संकल्पमा अडिग रहेर गर्यौं होला, पूरा भएनन् त संकल्पको बाटोमा हामी हिडेनौं या बीचमै छोडिदियौँ।
विविधता र बहु आयामबाट सन्तुलनको जीवन बाँच्दै भित्र र बाहिर समृद्ध हुने चाहना राख्यौं र प्रयास पनि गर्यौं। त्यहि पनि सबैमा पूर्णता त मिलेन अनि सरसर्ती हेर्दा लाग्छ जीवनमा सोचेको जस्तो भएन।
हामीले निजी जीवनको मात्र चिन्ता गरेका छैनौँ देश र समाजको समृद्धि र स्थिरताप्रति उत्तिकै चासो राखेका छौं। देशकै उन्नति नभए कसरी उत्कृष्ट बन्छ जीवन ? जीवन उत्कृष्ट पार्ने र देशलाई समृद्ध बनाउने सहि मार्गका पथ प्रदर्शक र नीति नियमले धेरै भूमिका खेलेको हुन्छ।
त्यसको लागि जिम्मेवार भनेकै सरकार, सरकार भनेकै राजनीतिक दलका नेतृत्व एवं कार्यकर्ता अनि तिनलाई चुनेर उच्च स्थानमा, जिम्मेवार स्थानमा र निर्णायक स्थानमा पुर्याउने नागरिक उत्तिकै महत्त्वपूर्ण छन्।
दशकौंदेखि अनुभूति गर्दै आइरहेको विषय र यथास्थिति हो देशमा सोचे जति विकास भएन। त्यो विकास व्यक्तिगत अनुशासनमा, सामाजिक दायित्वमा, नागरिक र नेतृत्व तहको भावनात्मक तहमा, मानसिक सोचमा, आर्थिक उन्नतीमा अनि आध्यात्मिक रुपान्तरणमा अर्थात् उच्च चेतनाको स्तरमा स्थित भएर कल्याणकारी सोचका सहित कर्म गर्ने अभ्यासमा खोजिएको थियो।
खोज्ने माध्यम अनेक बने होलान् । तर परिणाम चाहेका थियौं सुशासन,स्थिरता, जीवनस्तर सुधार, आर्थिक विकास, राजनीतिक स्थिरता, मानव कल्याणकारी कार्यमा स्तरोन्नति अनि भित्र र बाहिर दुबै अवस्थामा सम्पन्न र समृद्ध अनुभूति गर्न सक्ने वातावरण।
धेरैलाई यो मिल्यो पनि, हामी समाजमा देख्न सक्छौं यो सुबिधा र अवसर आफ्नो मुठ्ठीमा लिएर सम्पन्न जीवन बाँच्नेहरू जसलाई नागरिकले त्यो ठाउँमा पुर्याएका थिए। तर, यो स्वार्थ गत, दलगत, केहि विशेष व्यक्तिको मुट्ठिको नतिजा आम नागरिकलाई स्वीकार्य छैन।
निर्वाचन महिला र अपेक्षा
त्यसो भए अबको नयाँ सोच र परिकल्पना के त ? स्थानीय चुनावलाई साथमै लिएर आएको नयाँ वर्षमा हामी नयाँलाई चुन्ने छौं या सबै बिर्सेर फेरि पुरानै नेतृत्व, पुरानै परिपाटी अनि त्यहि स्वार्थगत व्यवहारमा अल्झिन्छौँ ? खोज्ने नयाँ अनि रोज्ने पुरानै अभ्यास ?
सबैभन्दा चुनौती र अवसरको समय छ महिला उम्मेदवारी र नेतृत्वको। विगतमा उपमा लगेर थन्क्याइएका महिलाहरूको जुन गुनासो थियो के ति महिलाहरूमा नयाँ संकल्प जागृत भएको छ। के अब म प्रमुख हुने क्षमता राख्दछु ? निर्वाचन पछि धेरै गुनासाहरू आए, समाचार आए, उपमा रहने महिला नेतृत्वको निर्णायक भूमिकाका प्रश्न र क्षमताका विषय उठेका छन्।
चार वर्षमा के योगदान दिन सकियो र के नतिजा प्राप्त भयो सबैले स्वयंमा मूल्यांकन गरेकै होलान्। गत निर्वाचनमा संघीयदेखि स्थानीय तहसम्म महिलालाई उप पद दिएर, महिला राख्नु पर्ने भएकै कारण आरक्षणमा परे, महिला भएकैले प्रतिद्वन्द्वीले महिलाले के गर्न सक्छन् र भन्ने अभिव्यक्ति दिएर हेप्ने काम गरे । चुनावी प्रचार प्रसारमा समेत महिला वा पुरुष उम्मेदवार भनेर विभेद गरेको अनुभूति भयो भन्दै महिला उम्मेदवारले आवाज उठाए।
तर, यसपटक हेर्न बाँकी छ। ति महिलालाई हौसला दिन बाँकि छ। आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्ने अवसर नगुमाउने हो भने, स्वनिर्णयमा स्थित रहन सक्ने महिला शक्तिको उजागर गर्ने हो भने, आरक्षणमा होइन, कसैको पछि लागेर होइन आफ्नै क्षमता र विवेकले अगाडि आउने संकल्प लिन सक्ने हो भने यो नयाँ वर्षको ऊर्जाले पनि मद्दत गर्नेछ।
अगाडि आउन आवश्यक पर्ने सहयोगहरू,आर्थिक, सामाजिक, भावनात्मक, मनोवल विकासमा महिलाले महिलालाई, समाजले महिलालाई, दलगत रूपमा आफ्ना महिला नेतृत्वलाई सघाउने मानसिकता विकास भएको छ होला त? विविधता, समानता र समावेशिताको अर्थ महिलालाई आरक्षण होइन, क्षमता भएका महिला होउन् या पुरुष उनीहरूले नेतृत्व लिनु र अहिलेसम्म पूर्णता दिन नसकेका विकासका काममा भूमिका निर्वाह गर्न अग्रसर हुनु हो। पुरानो मानसिक सोच त्यागेर नयाँ ऊर्जा सहित नयाँ सोचमा उत्प्रेरित हुन यो नयाँ वर्षले महिला वर्गलाई प्रेरित गर्ला त?
नेपाललाई नेपाल जस्तै बनाए हुने
विगतमा धेरै नेतृत्व तहका नेताले नेपाललाई स्वीटजरल्याण्ड बनाउँछौं भन्ने सुनेको र पढेको थिएँ। संकल्पका विकास भएछ राम्रै हो जस्तो लाग्थ्यो। फेरि मनमनै सोच्थें– भर्खर विदेश घुमेर आउँदा त्यस्तै लाग्छ हाम्रो देश पनि त्यस्तै किन बन्दैन र ? स्वीटजरल्याण्ड किन बनाउनु पर्यो र नेपाललाई नेपाल जस्तै बनाए हुने।
सगरमाथाको देश सगरमाथा जस्तै उच्च सोच र प्राकृतिक सुन्दरताको उच्चतम प्रयोग गरे हुन्थ्यो नि। बुद्ध जन्मेको देश, शान्ति, मैत्री र कलाकारिताले पूर्ण हुनमा कठिनाई के थियो र ?
जल, जंगल र जडीबुटीले चिनिने नेपाल यसकै भरपूर्ण प्रयोग गरेर विविध उत्पादन मार्फत निर्यात बढाएर व्यापार विकास गरेर आर्थिक उन्नति गर्न पाए हुने नि। ऋषि भूमि, तपो भूमि यो शान्त र प्राकृतिक विविधताको सुन्दरताले भरिएको आध्यात्मिक भूमी नेपाललाई ध्यान, योग, र पर्यटनको संगम भनेर विदेशीलाई आकर्षित गर्न पाए हुने नि।
कल्पना स्विटजरल्याण्डको होइन नेपाल नै बनोस् हाम्रो देश भन्ने थियो। अहिले त विदेशी च्यानलले समेत बताउन थालेछन् नेपाल केहि समयमै श्रीलंका जस्तै हुँदै छ रे ! भूँइ तहकाले बुझ्दैनन् यसलाई किन श्रीलंका जस्तो हुन लाग्यो भनेर। अर्थशास्त्र र अर्थतन्त्रको अभ्यास बुझेका छैनन्। तर बुझेका छन् र महसुस गरेका छन्।
बजेटको घाटा र गजेटले नदेखेको मूल्यबृद्धि
एक्कासी दैनिक उपभोग्य हरेक वस्तुको मूल्य किन बढेको छ ? एक्कासी यो परिवर्तन किन आएको ? चुनावले हो कि ? कुनै युद्ध त भएको छैन। अर्थशास्त्रीले व्याख्या गर्ने भाषा नेपालको अर्थतन्त्र पनि यतिखेर ठूलो चुनौतीसँग लडिरहेछ । देशको पुँजीगत खर्च गर्न सक्ने क्षमता असाध्यै घटेको छ ।
मूल्यवृद्धि आकासिएको छ । व्यापार घाटा बढिरहेछ । बजेट सधैं घाटामा छ। गजेटले मूल्यबृद्धि कहिल्यै देख्दैन। भुक्तानी असन्तुलनको दायरा झन् फराकिलो बनिरहेछ। विप्रेषण घटिरहेछ। राष्ट्रिय ऋणको मात्रा दिनानु दिन बढिरहेछ ।
बैङ्किङ क्षेत्रमा तरलताको अभाव हुनाले विकास, निर्माण र पुँजीगत क्षेत्रलाई पाइला चाल्न नै मुस्किल पर्न थालेको छ भन्ने कुरा भुँइ तहका नागरिकले बुझेका छैनन्।तर, यसको सिधै प्रभाव निम्न आयस्तर हुनेलाई परेको छ जति देशलाई पर्छ।
आर्थिक उपलब्धि अर्थात् रुपियाँ पैसाको गतिशीलता र प्रयोगकै आधारमा अर्थतन्त्रको विकास मापन हुने गर्दछ विश्वमै। योजना बनाउनु, पैसा आर्जन गर्नु, लगानी गर्नु, लगानीबाट मुनाफा लिनको लागि सामग्रीको उत्पादन र वितरण गर्नु एवं उपभोग्यस्तरमा बढोत्तरी ल्याउनु अर्थतन्त्र नियमित सुचारु हुने माध्यम र संकेत हुन्।
सरसर्ती हेर्दा यो विषय चुनावको लागि, राजनीतिज्ञको लागि या अर्थशास्त्रीको लागि जस्तो बुझिन्छ। तर, यसको अभ्यास, निरन्तरता र बढोन्न्तिले जसरी व्यापारीलाई प्रभाव पार्छ त्यसैगरी, उद्यमी, अर्थ विज्ञको साथसाथै सामान्य जीवनयापन गर्ने नागरिकको पनि क्षमताको मापनमा पर्दछ त्यो उपभोगको माध्यमबाट होस् या लगानीको।
एक्कासी अर्थतन्त्र संकटको अवस्था आएको हो या विगतदेखि नै हाम्रो बजेट निर्माण, सञ्चालन र अनुगमन क्षेत्रमा रहेको कमजोरीको परिणाम हो ? वैदेशिक लगानीलाई कसरी समावेश गरियो ? जतिपनि आयोजना लागू भए तिनको प्रकृति, विस्तृत लागत अनुमान, आयोजना सञ्चालनको प्राविधिक र प्रशासनिक संयन्त्र दिर्घकालिन रूपमै अर्थतन्त्रलाई टेवा पुग्ने खालका भएर समावेश भए या आवश्यक सूचक नै तयार नभई बजेटमा समावेश गरिए ?
प्रत्येक आयोजना संचालनमा लागू हुने समयावधि, बजेट व्यवस्थापन, प्राविधिक, ज्ञान, सीप र क्षमताको आधारमा लागू गरिएको थियो या पहुँच र राजनीतिक प्रभावमा ? देशकै विकास बजेट पारित भएपछि तोकिएको समयमा निर्धारित क्षेत्रमा निकासा हुन सक्यो कि सकेन ?
निश्चित अवधिमा निर्माण व्यवसायीले काम सके सकेनन्, पेश्की मात्र लिएर बस्ने काम नसक्ने ठेकेदारको अनुगमन भयो भएन ? जति काम भए त्यहाँ आयोजनाको गुणस्तर तोकिएअनुसार नआएको कारण सोचेजस्तो प्रतिफल नआउनु पनि त अर्थतन्त्रमा प्रभाव पार्ने तत्त्व हुन्।
विकास निर्माणको काम तिब्र भए मात्र न रुपियाँ पैसा प्रवाह हुन्छ। नागरिकले रोजगारी पाउँछन्। कलकारखाना र उद्योग धन्दा चलायमान हुन्छन्। यसले जीवनस्तर सहज र समग्र अर्थतन्त्रलाई गतिशील र शक्तिशाली बन्न मद्दत गर्दछ ।
सरकारी ढुकुटी मा पैसा जोगाड गरेर पुँजी निर्माणमा लगानी गर्न सकिएको छैन भने आर्थिक चलायमानको स्थिति विकास नहुँदा सम्म उत्पादकत्व बढ्न सक्दैन जसको विना निर्यात बढाउन र औद्योगिक उत्पादनमा उल्लेखनीय विकास गर्न सम्भव हुँदैन। अबको सोच भनेको वैदेशिक ऋणलाई उत्पादनमूलक र पूर्वाधार निर्माणमा लगानी गर्नु महत्त्वपूर्ण पक्ष हो। वैधानिक तरिकाबाट कसरी विदेशी लगानी आउँछ त्यसमा ध्यान दिनु जरूरी देखिन्छ।
स्रोत साधनको अधिकतम प्रयोग,निर्माण र पूर्वाधारका काममा तिब्रता, रोजगारी सृजना जस्ता धेरै पक्ष छन् जसले देशको अर्थतन्त्र संकटतालाई सुधार गरोस् अनि आम नागरिकको जीवनशैली सहज र भय रहित बनोस्। नेपाललाई नेपाल नै बनाउन यो नयाँ वर्षमा सबैले आफ्नो क्षेत्रबाट सकारात्मक ऊर्जाका साथ कर्म गर्नुको विकल्प छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।