|

सुर्खेत : बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा डोल्पा स्थित गठबन्धन दलहरुबीच भएको छलफलमा सहमति नहुँदा एक्ला एक्लै चुनाव लड्ने निर्णय भएकाे छ।

भागबण्डाका लागि बसेको बैठकमा सबैले आ आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो।

केन्द्रीय निर्णय र सर्कुलर अनुसार जिल्लामा दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ।

डोल्पाका ठूली भेरी , त्रिपुरासुन्दरी, उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पो बुद्ध, शे फोक्सुन्डो गाउँपालिका नेकपा एमालेले जितेको थियो। त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो।

केही समय अघि डोल्पो बुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो।

कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन।अहिले एमालेबाट फुटेर निर्माण भएको समाजवादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको शाहीले बताए।
नेपाली कांग्रेसले कतै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ।

प्रदेशमा हामी एक्ला एक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापति शाहीले बताए।

डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूली भेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाँड हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताए।

नेपाली कांग्रेस, नेकपा समाजवादी र माओवादी केन्द्र बीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई फेरि सहज हुने एमालेका एक नेताले  बताए।

जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओवादी केन्द्रलाई दिने र जहाँ एमाले कमजोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज रामलाल बिक ले जानकारी दिए।

उनका अनुसार  सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकाले एक्ला एक्लै लड्नुपर्ने अवस्था आएको तर गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उनले बताए।

स्थानीय तहको निर्वाचनमा कुनैपनि तहमा कुनैपनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो।

गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेदवार समेत फेरबदल गर्ने संकेत देखिएको छ। 

अन्य जिल्लाहरुमा बैठक जारी रहेकाले गठबन्धनको निर्णय सार्वजानिक भएको छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.