|

 
सुर्खेत : पाँच वर्षअघिको चुनावपछि अनुहार नदेखाएका नेता आइतवार घरआँगनमै देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाही दंग परे। 

फोन गर्दा कहिल्यै नउठाउने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय कार्यकर्तासहित गाउँ आएर भोट मागेको देख्दा शाही आश्चर्यमा परेका हुन्। ‘जनता चुनावका लागि मात्र चाहिने हो?’, उनले प्रश्न गरे।

अघिल्लो स्थानीय चुनावमा मुड्केचुलाबाट नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाइ झिनो मतले पराजित गरेका थिए। रोकाय अहिलेका बहालवाला अध्यक्षसँग तीन भोटले मात्र पराजित भएका थिए। उपाध्यक्ष भने एमालेकी सविता रोकायले जितेकी थिइन्। बहुमत वडासमेत एमालले नै जितेको थियो। 

अघिल्लो पटकको चुनावमा पराजित भएका रोकाय पुनः स्थानीय तहको चुनावमा उम्मेदवार भएर फेरि गाउँ पुगेका हुन्।  उनी गाउँ नपुग्दै एमालेका कार्यकर्ता परिचालित भएर भोट माग्न थालेका छन्। यति मात्र नभई रोजगारीको सिलसिलामा भारत गएकालाई समेत बोलाउन उनीहरू घरमूलीलाई दबाब दिइरहेका छन् । 

एमाले डोल्पा सचिव रोकाय निर्माण व्यवसायी पनि हुन्। चुनाव हारेपछि गाउँमा कहिले नआएका उनी भोट माग्न आउँदा दंग परेको शर्मलाल शाहीले बताए। ‘चुनाव हारे पनि नियमित सम्पर्कमा रहनुपथ्र्याे नि’, उनले भने, ‘अहिले भोट माग्न आएको देखेर चकित भएका छौँ।’ 

अघिल्लो चुनावमा तेस्रा भएको कांग्रेसका नेता–कार्यकर्ता पनि गाउँमा देखिन थालेको स्थानीय सोमराज शाहीले बताए। ‘चुनाव हार्नेबित्तिकै ठाउँ नै छोडेर भाग्ने फेरि उम्मेदवार बनेपछि गाउँ चहार्ने प्रवृत्तिले दलहरूले जनतालाई भोट बैंक मात्र बनाएको देखियो’, उनले भने ।

अरु समय सुखदुःखको वास्ता नगर्नेले अहिले भोट दिन मात्र होइन, विदेशमा रहेका आफन्तलाई झिकाउनसमेत दबाब दिने गरेका छन्। विदेशमा रहेका परिवारका सदस्य बोलाउन दबाब दिएकोमा उनीहरू आक्रोशित छन्। सिम्ता गाउँपालिका गोजीका राम केसी भारतमा रहेका परिवारका सदस्यलाई ल्याउन भन्दै दबाब दिन थालेको बताउँछन् । भोट माग्न विभिन्न नाता लगाउने गरेको उनको भनाइ छ ।

भोट माग्न आउनेहरूले विकास निर्माण र रोजगारीका कुराभन्दा पनि एकले अर्कालाई गाली गर्ने गरेको स्थानीय दिक्क छन्। अस्वस्थ प्रतिस्पर्धा गरेर आफन्त र गाउँबस्तीबीच वैमनस्य सिर्जना गराउन खोजेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.