|

बन्दना बम

डोटी :  शुक्रबारदेखि हुने एसइई परीक्षाको तयारी डोटीमा पूरा भइसकेको छ। जिल्लाका ११ वटै सेन्टरहरुमा परीक्षाको लागि तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका इकाई प्रमुख रामदत्त भट्टले जानकारी दिए।

डोटीमा यसबर्ष एसइई परीक्षार्थी जम्मा तीन हजार छ सय ७८ जना रहेका छन्। जसमा एक हजार आठ सय ५० छात्रा र एक हजार आठ सय २८ छात्र रहेका छन्।

डोटीमा छात्रभन्दा छात्रा २२ जनाको संख्यामा बढी रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ। त्यसैगरी जिल्लाभरी ११ वटा परीक्षा सेन्टरहरु रहेका छन्।

यस बर्ष नियमित तर्फ छात्रा एक हजार आठ सय ३३ र छात्र एक हजार आठ सय १२ गरी जम्मा तीन हजार छ सय ४५ परीक्षार्थी रहेका छन्। त्यसैगरी ग्रेडबृद्धी तर्फ छात्रा १७ र छात्र १६ गरी ३३ परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जानकारी दिएको छ।

डोटीका नौ वटा पालिका मध्य आठ वटा पालिकामा सेन्टर राखिएको छ। दिपायल सिलगढी नगरपालिकामा प.प.मु.ना. मावि सिलगढी, दिल्पेश्वर मावि दिपायल र सुजुङ्ग बोर्डिङ्ग स्कुल राजपुर गरी तीन सेन्टर रहेका छन्।

शिखर नगरपालिकाको राधाकृष्ण मावि गोपघाटमा रहेको छ भने जोरायलल गाउँपालिकाको रामपुर मावि बुडरमा सेन्टर रहेको छ।

बडीकेदार गाउँपालिकाको बर्छैन मावि बर्छैन र दुर्गा मावि लमौते गरी दुई वटा विद्यालयमा सेन्टर राखिएको छ। त्यसैगरी पूर्बीचौकी गाउँपालिकाको सरस्वती मावि सानागाउँ, आदर्श गाउँपालिकाको शारदा मावि मौवा, केआईसिंह गाउँपालिकाको झिमेमालिका मावि दुर्गामाण्डौं, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी माविमा सेन्टर राखिएको छ। डोटीको सायल गाउँपालिकामा भने कुनैपनि सेन्टर राखिएको छैन।

प्राबिधिक शिक्षा पढाई हुने चार वटा विद्यालयहरुको सेन्टर जिल्लाको सदरमुकाम सिलगढीमा रहेको प.प.मु.ना. माविमा राखिएको छ। परीक्षा नियन्त्रण कार्यालयको निति र मापदण्ड अनुसार प्राविधिक शिक्षा पढाइ हुने बिद्यालयको सेन्टर जिल्लाको सदरमुकाममै राख्नुपर्ने भएकाले दुर्गम ठाउँका केही बिद्यालयहरुको सेन्टर सदरमुकाममा राखिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्राबिधिक सहायक टीकाराम जोशीले बताए।

होम सेन्टरमा नरहने नीति नै भएकाले रामपुर मावि, बुडरका बिद्यार्थीहरुको सेन्टर त्यहाँका शिक्षक र अविभावकहरुको सल्लाहरु अनुसारनै जिल्ला सदरमुकाममा सेन्टर राखिएको जोशीले बताए। 

परीक्षा नियन्त्रण कार्यालयको निति र मापदण्ड अनुसार रहेर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरी माथि पठाउने र सोहीअनुसार परीक्षा सेन्टरहरु स्थापना हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ।

शुक्रबारदेखि हुने एसइई परीक्षाको लागि डोटीका दुर्गम ठाउँबाट सयौंको संख्यामा बिद्यार्थीहरु जिल्ला सदरमुकाम सिलगढीमा आइसकेका छन् भने केहि बिद्यार्थीहरु आज साँझसम्म पुग्ने गर्दछन्।

विद्यालय शिक्षा १२ कक्षासम्मलाई मानिएपनि १० कक्षाको परीक्षा पुरानो एसएलसी जस्तै एसइईको रुपमा छुट्टै विद्यालयमा परीक्षा लिने कारणले विद्यार्थीले समस्या झेल्दै आइरहेका छन्। होम सेन्टरबाट परीक्षा दिन नपाउने व्यवस्थाका कारण विद्यार्थीले विभिन्न समस्या व्यहोर्नु परिरहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.