|

बन्दना बम

डोटी : डोटीमा सत्तारुढ दलहरुबिच गठबन्धनमा भागबण्डा नमिलेपछि नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी मिलेर चुनाबमा जाने भएका छन्। आइतबार रातिसम्म बसेको गठबन्धनको बैठकले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि पाँच दलको गठबन्धन नहुने पक्का भएको हो।

गठबन्धन नहुने भएपछि नेकपा माओबादी र नेकपा एसबीच हिजो राति नै छलफल भई मिलेर चुनाबमा जाने निर्णय गरेको हो। जिल्लाका नौ वटा पालिका मध्य ५ वटा पालिका नेकपा माओवादीले र ४ वटा पालिका नेकपा एसले पाउने गरी सहमत भएको छ। तर, उम्मेदवारको टुङ्गो लगाउन सकस भएको बताइएको छ।

नेकपा माओबादीले जिल्लाका दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआईसिंह गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको नेतृत्व गर्ने सहमत भएको छ भने शिखर नगरपालिका, पूबीचौकी गाउँपालिका, जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकाको नेतृत्व नेकपा एसले गर्ने सहमत भएको छ।

त्यसैगरी जिल्लाका ६५ वडा मध्य ४० वडाको नेतृत्व नेकपा माओबादीले गर्ने र २५ वडाको नेतृत्व नेकपा एसले गर्ने सहमति भएको छ।

कांग्रेस एक्लै लड्ने

उता नेपाली कांग्रेस भने एक्लै निर्वाचनमा जाने भएको छ। गठबन्धनमा कुरा नमिलेपछि एक्लै निर्वाचनमा जान लागेका नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए। नेपाली कांग्रसले एक्लै लड्ने भएपछि हिजो रातिदेखिनै बसेको कार्य समितिले जिल्लाका सबै पालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ।

पालिका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष लगायत सबै सदस्यहरुको टुङ्गो लगाएर टिकट बितरण भइसकेको सभापति सिंहले जानकारी दिए। जिल्लाको दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा बिजय खड्का उपप्रमुखमा कमला साउद, शिखर नगरपालिकाको प्रमुखमा दीर्घ बलायर उपप्रमुखमा सुनिता रावल, आदर्श गाउँपालिकाको अध्यक्षमा गणेश खड्का उपाध्यक्षमा लक्ष्मी रोकाय, केआईसिंह गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर शाही उपाध्यक्षमा मिना बिष्टलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी पूर्बीचौकी गाउँपालिको अध्यक्षमा रामप्रसाद उपाध्याय उपाध्यक्षमा पशुपती खड्का, जोरायल गाउँपालिकाको अध्यक्षमा दिपकबहादुर बिष्ट उपाध्यक्षमा चन्द्रा साउद, सायल गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी उपाध्यक्षमा निर्मला ओली, बडीकेदार गाउँपालिकाको अध्यक्षमा भैरबबहादुर साउद उपाध्यक्षमा डम्मरा बिष्ट कलेल तथा बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा दिलबहादुर बम उपाध्यक्षमा बिना बम उम्मेदवार रहेका छन्।

दलहरुले मनोनयन दर्ता गर्दै

डोटीमा सबै दलहरुले आज मनोनयन दर्ता गरिरहेका छन्। नेकपा एमालेले जिल्लाको जोरायलल गाउँपालिकामा हिजो नै मनोनयन दर्ता गराएपनि बाँकी सबै पालिकामा आजै दर्ता गरिरहेको छ। आज बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय रहेकाले सबै दलहरु पालैपालो गरी दर्ता गर्ने भएका छन्। अहिले नेकपा एमालेले सबै पालिकामा दर्ता गरिरहेको छ भने केही समयपछि कांग्रेसले दर्ता गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.