|

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ। दलहरु चुनावी तयारीमा होमिएका छन्। स्वतन्त्र उम्मेदवारले पनि शनिबार चुनाव चिन्ह पाएसँगै प्रचार थालिसकेका छन्। 

पौने दुई करोडभन्दा बढी मतदाता वैशाख ३० मा भोट हाल्ने प्रतिक्षामा छन्। तर तपाईं भोट हाल्न मतदान केन्द्र पुग्दा तपाईंको नाममा अर्कैले भोट खसालिसकेको रहेछ भने के होला ? यस्ता घटना नहोलान् भन्न सकिन्न। 

यस्तो सामान्यतः दुई अवस्थामा हुनसक्छ। पहिलो नाम थर ठेगाना उमेर मिलेको अवस्थामा झुक्किएर र दोस्रो भनेको अर्काको नाममा समेत भोट खसाल्ने दलका नेता कार्यकर्ताको ‘नाजायज’ प्रयत्न। यस्ता समस्या आउन सक्ने देखेरै स्थानीय तह निर्वाचन ऐन,२०७३ मा यसको समाधानको व्यवस्था राखिएको छ। 

तपाईं वास्तविक मतदाता हो भने अब तपाईंले भोट हाल्न निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। पहिला त तपाईंले आयोगले तोकेको ढाँचा (तल हेर्नुस्)मा निवेदन दिनुपर्छ।

यो निवेदनसँगै तपाईंले आफू वास्तविक मतदाता भएको भन्दै पेश गरेका प्रमाणहरु मतदान अधिकृतले जाँच गर्नेछन्। यदि तपाईं वास्तविक मतदाता पुष्टि भएको अवस्थामा तपाईलाई सम्बन्धित मतदान अधिकृतले निविदा मतपत्र उपलब्ध गराउँछन्।

मतदान अधिकृतले सही गर्ने ठाउँको बायाँ तिरको खाली ठाउँमा ‘निविदा मतपत्र’ लेखी सो मतपत्र दिनेछन्। त्यस्तो मतपत्रमा तपाईंले आफ्नो मत संकेत गरिसकेपछि मतपेटिकामा भने खसाल्न पाईंदैन। 

'यसरी निविदा मतपत्र दिएकोमा त्यस्तो मतपत्रमा मतदाताले आफ्नो मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली त्यसको प्रयोजनका लागि राखिएको छुट्टै खाममा राख्नुपर्नेछ।' स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६१ (१) मा उल्लेख छ। 

यस्तो मत गणना हुन्छ ? 

यस्तो निविदा मतपत्रमा तपाईंले मत संकेत गरे पनि तपाईंको मत भने गणना हुँदैन। निर्वाचन सम्बन्धी कुनै उजूरी परेको अवस्थामा भने अदालतले आवश्यक पर्दा निविदा मतपत्रहरु पनि गणना गर्न सक्ने कानुनी व्यवस्था छ। 

‘यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्रहरू त्यस समयमा गणना गरिने छैन। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६१(३) मा लेखिएको छ, ‘निर्वाचन सम्बन्धी उजुरी पर्न आइ त्यस्तो उजुरीको निर्णय गर्नका लागि आवश्यक पर्ने भनी ठहर गरेमा अदालतले त्यस्तो निविदा मतपत्रहरू समेत गणना गर्न सक्नेछ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.