|
पदभारका क्रममा आफूले गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै सिलगढी नगरपालिकाका नगरप्रमुख बाजिसिं खड्का।

दिपायल : वैशाख ३० गते सम्पन्न भएको डोटीका स्थानीय तहका नवनिर्वाचित प्रमुखहरूले बिहीबार जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृतबाट शपथ लिएका छन्। शपथ लिएपछि आ–आफ्नो पालिकामा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूलाई समेत शपथ खुवाउने र पदभार ग्रहण गर्ने काम भइरहेको छ।

नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्ने क्रममा स्थानीय तहका प्रमुखहरूले जनमुखी निर्णय गरिरहेका छन्। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले पदभार ग्रहण गर्दै महत्त्वपूर्ण दुईवटा निर्णय गरेका छन्। उनले पालिकाभित्रका ज्येष्ठ नागरिक, महिला स्वयंसेविका र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिकाभित्रका गरिब परिवारको पहिचान गरी उनीहरूका छोराछोरीलाई आजैबाट निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेका छन्।

शुक्रबार पदभार ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बाजीसिं खड्का ‘विजय’ले दुईवटा निर्णय गरेका छन्। पदभार ग्रहण गर्दै खड्काले नगरभित्रका सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन् भने अर्को दिपायल सिलगढी नगरपालिकाभित्रको उपयुक्त ठाउँमा सुविधासम्पन्न खेलमैदान निर्माणका लागि काम अगाडि बढाउने निर्णय गरेका छन्।

शिखर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीर्घबहादुर बलायरले पदभार ग्रहणपछि नगरका कर्मचारीहरूलाई निर्देशन दिँदै सूचनाको कार्यान्वयनमा जोड दिन र कार्यालय समयमा सरकारी पोशाक अनिवार्य लगाउन भनेका छन्। उनले नगरपालिकाका हरेक सार्वजनिक सूचना जनताले सहजै भेटाउने गरी स्मार्ट एप सञ्चालन र सबै वडाका डाटा वेबसाइटमा अनिवार्य राख्न आग्रह गरे।

यसैगरी के.आई. सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पनि पदभार ग्रहण गर्दै गाउँपालिकाभित्र विशेषज्ञ चिकित्सक बोलाई जनताको स्वास्थ्य परीक्षणमा जोड दिने निर्णय गरेका छन्। साथै शिक्षा, खानेपानी लगायतको पनि उचित व्यवस्था गर्ने समेत उल्लेख गरेका छन्। 

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी लगायतका नवनिर्वाचित जनप्रतिनिधिले समेत पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष जोशीले गाउँपालिकाभित्रका सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेका छन्। जिल्लाका अधिकांश पालिकाका प्रमुखहरूले पदभार ग्रहण गर्ने क्रममा यस्तै निर्णय गरेको पाइन्छ। अधिकांशले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गराउने निर्णय गरेको पाइन्छ।

डोटीका सबैजसो स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अन्य जनप्रतिनिधिले आजै पदभार ग्रहण गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.