|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यको जित निश्चित भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको १ लाख ३९ हजार ४११ मत गणनाको नतिजामा आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ४८५ मतले पछाडि पारेका छन्।

जबकि अब गणना हुनका लागि ३ हजार ८१५ मत बाँकी रहेको छ। आचार्यले प्राप्त गरेको मतान्तर गणना हुन बाँकी रहेको मतभन्दा १ हजार ६७० ले बढी रहेको छ। बाँकी रहेका ३ हजार ८१५ मत लगातार थापालाई नै परे पनि आचार्यले १ हजार ६७० मतान्तरले विजयी हुने निश्चित देखिएको छ।

परिणाम अनुसार गठबन्धनका आचार्यले ५७ हजार ७२ मत प्राप्त गर्दा थापाले ५१ हजार ५८७ मत पाएका छन्। प्रमुखमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ६०७, अटेरी अभियानका खडक राज पौडेल (गनेश) ले २ हजार ९९० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकारी) ले ३३५ मत पाएका छन्।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो अग्रतालाई कायमै गरिरहेकी छिन्। सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहेको भए पनि पछि गुरुङकै अग्रता कायम रहँदै आएको छ।

गुरुङले कांग्रेसकी रानाभाटलाई ३ हजार ९९० मतले पछाडि पारेकी छिन्। गुरुङलाई ५९ हजार ७० मत पर्दा रानाभाटको पक्षमा ५५ हजार ८० मत आएका छन्। उपप्रमुख पदमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जना कुमारी सेन पौडेललाई ५ हजार ६१५ र विवेकशील साझाका माधव पौडेललाई २६१ मत प्राप्त भएको छ।

पोखरा महानगरपालिका–१८ मा नौ मत हराएको बारेमा निस्किएको विवादका कारण अहिले भने पोखराको मतगणना रोकिएको अवस्था छ। उक्त वडामा कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै पुन: मतगणनाको माग गरेको छ।

विवाद सुरु भएसँगै मतगणना स्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो। खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएको छ।

त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणना स्थल छोडेपछि मतगणना रोकिएको हो। वडाध्यक्ष पदमा एमालेका पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए।

सार्वजनिक मत परिणामअनुसार एमालेका पुष्कलले १ हजार ६४० र कांग्रेसका तिमिल्सिनाले १ हजार ६४३ मत ल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.