|

तुलसीपुर : लामो समयदेखि विद्युत् झ्याप्प झ्याप्प जान थालेपछि उपभोक्ता मारमा परेको भन्दै स्थानीय युवाले तुलसीपुरस्थित विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएका छन्।

स्थानीय युवाले विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन्। कार्यालयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यालयको भवनभित्रै थुनिएका थिए। केही समयदेखि विनाजानकारी पटक पटक विद्युत् जाने गर्दा आम उपभोक्ताले निकै सास्ती भोग्नुपरेको भन्दै तुलसीपुरका युवाले ताला लगाएका हुन्।

विभिन्न बहानामा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सूचना जारी गरी विद्युत् कटौती गर्न आग्रह समेत गरेका छन्।

यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको र त्यसको कुनै सुनुवाइ नभएकाले बाध्य भएर कार्यालयमा ताला लगाउनुपरेको तुलसीपुर-६ निवासी युवा वसन्त गिरीले बताए। उनले विद्युत् प्राधिकरणको चरम लापर्वाहीका कारण उपभोक्तालाई समस्या भएको भन्दै आफूहरूको मागको सुनुवाइ नभएपछि ताला लगाएको पनि बताए।

उनले भने, ‘विद्युत् आउने जाने गर्दा हामी सबैले समस्या भोग्दै आएका छौँ। यसको समाधानका लागि हामीले पहिला पनि ज्ञापनपत्र बुझाएका थियौँ तर अहिलेसम्म समाधान नभएपछि बाध्य भएर आज ताला लगाएका हौँ।’

उनले विद्युत्‌को समस्या बुझ्न फोन गर्दा हावाहुरीका कारण समस्या भएको भन्दै रेडिमेड जवाफ आइरहने पनि बताए। उनले भने‚ ‘कार्यालयको फोन सकभर फोन उठ्दैन‚ उठे पनि हावाहुरीका कारण समस्या भएको भन्ने जवाफ आउँछ। के सधैँ हावाहुरी लागेको हुन्छ?’  

प्रत्येक ५–५ मिनेटमा विद्युत् कटौतीले आम उपभोक्ता निकै समस्यामा परेको तुलसीपुर-६ का अर्का युवा यमलाल सुवेदीले बताए। पटक पटक विद्युत्‌ कटौती हुँदा पनि त्यसको समाधानका लागि प्राधिकरणले चासो नदिने र नागरिकको समस्यालाई बेवास्ता गरेको बताउँदै दिक्क भएर आफूहरूले तालाबन्दी गरेको उनको भनाइ छ। उनले आफूहरू कुनै संघसंस्था तथा पार्टीगत रूपमा नभई आमनागरिकको रूपबाट तालाबन्दी गरेको पनि बताए।

उनले भने, ‘यदि विद्युत्‌ काट्ने नै हो भने जानकारी दिएर तालिकासहित काट्नु पर्‍यो। होइन भने विनासूचना एकपटक होइन पटक पटक लाइन आउनेजाने गर्दा समस्या भएको छ। धेरैका इलेक्ट्रोनिक सामान जलेर नष्ट भएका छन्। एक्कासि बत्ती जान्छ। फेरि आउँदा भोल्टेज धेरै आउँछ। जसले गर्दा समान जल्ने गरेका छन्।’ तत्काल विद्युतीय सेवामा सुधार नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो।

वाणिज्य सङ्घबाट ज्ञापनपत्र

झ्याप झ्याप बत्ती आउने जाने गर्दा व्यवसायी धेरै समस्यामा परेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले पनि नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रलाई आइतबार ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद चालिसेले तत्काल समस्या समाधान हुनुपर्ने बताए। उनले त्यसका लागि संघले कर्मचारीदखि अन्य आवश्यक सहयोग गर्ने समेत बताए। उनले विद्युत् अनियमित हुँदा उद्योगधन्दा सञ्चालनमा समस्या रहेको र मोटर, पंखा,  फ्रिज, हिटर, कम्प्यूटर,ल्याप्टप, बल्ब, मोबाइल बिग्रिने गरेको पनि बताए।

उनले भने, ‘प्राविधिक समस्या छ भने त्यसलाई समाधान गर्नुपर्‍यो। भारतबाट विद्युत् ल्याउँदा ३८ रुपैयाँमा किन्ने र भारतलाई १२ रुपैयाँमा बेच्ने गर्दा पनि समस्या भएको भए ध्यान दिनु पर्‍यो। बाहिर बत्ती पठाउने तर यहाँका उपभोक्ताले समस्या भोग्ने कहिलेसम्म हो।’

ज्ञापनपत्र बुझ्दै विद्युत् प्राधिकरण विद्युत् केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले यो समस्यामा आफू गम्भीर बनेको बताए। उनले अहिले देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी लगायतका समस्याले गर्दा विद्युत् अनियमित हुने गरेको बताए। उनले अन्य ठाउँमा समस्या हुँदा त्यसले तुलसीपुरलाई पनि असर गर्ने बताए।

उनले तुलसीपुरमा विद्युत् भोल्टेजको समस्या नभएको पनि उल्लेख गरे। उनले पश्चिम दाङको च्याटीखोलामा १३२ केभी लाइन तुलसीपुर आएकाले भोल्टेजको समस्या नभएको भन्दै यदि कुनै ठाउँमा भोल्टेजको समस्या भए जानकारी दिन आग्रह गर्दै तत्काल समस्या समाधान गर्ने पनि बताए।

उनले तुलसीपुरको कृष्णमन्दिर र आँखा अस्पतालको विद्युत्‌को समस्या हल गर्न दुईवटा ट्रान्सफर्मर जडानको काम अगाडि बढाउन लागेको समेत बताए। त्यसका लागि १ करोड बजेट आएको उनको भनाइ छ। त्यस्तै मानपुर, बिजौरी, टरीगाउँ, फूलबारीको समस्या समाधानका लागि पनि बजेट ल्याउने प्रक्रिया अघि बढेको उनको भनाइ छ। त्यस्तै उनले पुराना लाइन भएका कारणले पनि समस्या हुने भएकाले त्यसलाई सुधार गरेमात्र समस्या हल हुनसक्ने बताए।

उनले व्यवसायीलाई टिओडी मिटर तथा क्यापेसिट ब्याङ जोड्न पटक पटक आग्रह गर्दै आए पनि व्यवसायीले बेवास्ता गर्दै आएको पनि गुनासो गरे। उनले नयाँ तथा पुरानालाई क्यापेसिट ब्याङ अनिवार्य जोड्न र २५ केभीभन्दा माथिको लाइन जोडेकालाई टिओडी मिटर अनिवार्य जोड्नका लागि सहयोग गरिदिन वाणिज्य संघको टिमलाई आग्रह गरे। त्यस्तै उनले व्यवसायीहरूले तिर्न बाँकी वक्यौता रकम पनि समयमा बुझाउनका लागि पहल गरिदिन आग्रह गरे। त्यो काम भएपछि आफूहरूको समय बच्ने र विद्युत्‌को समस्या हल गर्नेतर्फ लाग्ने पनि बताए।

घोराहीमा लालटिन उपहार

तुलसीपुरमा मात्र नभई यो समस्या घोराहीमा पनि छ। नेपाली कांग्रेस घोराहीले नेपाल विद्युत् प्राधिकरण घोराही शाखाका प्रमुखलाई लालटिन उपहार दिएको छ। यसअघि पनि अघोषित लोडसेडिङका कारण देखिएका समस्या सम्बोधन गर्न र विद्युत् आपूर्तिमा सहजता ल्याउन घोराही नगर कांग्रेसले नेपाल विद्युत् प्राधिकरण घोराही शाखाको ध्यानाकर्षण गराएको थियो।

शुक्रबार घोराही नगर कांग्रेस  ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयमा डेलिगेशन पुगेको थियो। पुनः डेलिगेशन गएको कांग्रेस नगर समितिले अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न आग्रह गर्दै लालटिन उपहार दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.