|

दाङ  : धान दिवसका दिन लमही नगरपालिका १ का लिलाराम चौधरीले खेतमा आली लगाइरहेका थिए। सिमसिम पानी परिरहेको अवस्थामा भोलिपल्ट रोपाइँको तयारीका लागि खेतको गरामा आली लगाइरहेको थिए। तर, उनी धान दिवसबारे बेखबर थिए। 

‘मैले अहिलेसम्म यो धान दिवस भनेर थाहा पाएको छैन। हामी जस्ता किसानलाई यस्ता कार्यक्रमको कुनै मतलब हुँदैन!, उनले भने, ‘हामीलाई सधैँ खेतीपाती  गर्ने समयमा उही चिन्ता हुन्छ, राम्रो बीउ, मल र पानी। भोलि मेरो रोपाइँ छ। अहिलेसम्म रासायनिक मल पाएको छैन।’ 

यस्तै उनले गत वर्ष माघको महिना मल पाएको भएयता पनि अहिले असारको १५ गतेसम्म मल नपाउँदा यसपटक कुखुराको मल हालेर धान रोप्न लागेको पनि बताए। उनका अनुसार अहिले डीएपी मल मात्र आएको थियो। त्यो पनि हारालुछ भयो।  बाहिर किन्दा महँगो र गुणस्तरहीन हुने भएकाले कुखुराको मल प्रयोग गर्न लागेको उनले बताए। 

‘सरकारले अनुदानमा दिने मल अहिलेसम्म आएको छैन। बाहिर बजारमा युरियालाई २५ सय र डीएपीलाई ३ हजार पर्छ’, उनले भने, ‘त्यो पनि राम्रो जस्तो छैन। त्यसैले यस पटक कुखुराको मल हालेर विचार गर्न लागेको छु।’ उनले पछिल्लो समय खेती गर्दा काम गर्ने मान्छे पनि पाउन समस्या भएको बताए। 

यो वर्ष पनि बुधबार धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। जिल्लामा पनि तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र देउखुरी क्षेत्रमा पनि यो दिवस मनाइएको थियो। 

लमही नगरपालिका ३ का दामोदर अधिकारीले सरकारी कर्मचारी, जनप्रतिनिधिले धान दिवसलाई फोटो खिच्ने दिनका रूपमा मात्र मनाउने गरेका बताए। उनले धान दिवस भनेर केही ठाउँमा केही व्यक्तिगएर फोटो खिच्ने र धान रोपेको जस्तो मात्र गर्ने गरेको बताए।  ‘नारा मानो रोपेर मुरी फलाउने भन्ने हुन्छ। तर, मुरी फलाउन किसानहरूले राम्रो बीउ, मल र पानी पाएका छन्’, उनले भने, अनि धान दिवस मनाउने भनेर मात्र एक दिन फोटो खिच्न खेतमा आएर हुँदैन। किसानहरूको समस्या बुझ्नुपर्‍यो।’ 

उनले नेताहरूले कृषि क्षेत्रमा अनुदान दिने भन्ने गरेको भए पनि किसानहरूले केही नपाउने गुनासो गरे। उनका अनुसार दुई बोरा मल आवश्यक भएकोमा सरकारले अनुदानमा १० किलो मात्र मल दिएको छ। यसले गर्दा अहिले धेरै किसानले मलविना खेती गर्न बाध्य भएका छन्। गत वर्षको भन्दा अहिले मलका कारण आफ्नो ठाउँमा धान खेतीमा ढिलाइ भएको पनि बताए।  

उनले अहिले बजारमा पनि गुणस्तरहीन जस्तो मल  पाएको भन्दै गुनासो गरे। उनले भने,‘ सरकारले मल दिएको छैन । बजारमा महँगोमा किनेर ल्याएको मल खेतमा ३ दिनसम्म हाल्दा पनि  बिलाउँदैन। हामी किसानले न राम्रो मल, पाउँछौ, न त बीउ नै?’ गत वर्ष धानको बीउमा समस्या हुँदा धान नै नफलेको उनले बताए। 
उनले पछिल्लो समय विभिन्न हाइब्रिड जातको धानका कारण स्थानीय रैथाने धान हराउँदै गएको चिन्ता व्यक्त गरे। उनका अनुसार  बढ्का हसन, छोट्की हसन जस्तो लोकल धान हराएको छ।  यस्ता रैथाने धानको संरक्षण गर्नको लागि राज्यले ध्यान दिनु पर्ने पनि बताए।  

१३ प्रतिशत रोपाइँ, मलको  माग १० हजार मेट्रिक 

पानी र मलका कारण गत वर्षको  जिल्लामा यसवर्ष अहिलेसम्म १३ प्रतिशत मात्रै धान रोपाइ भएको छ।  गत वर्ष असार १५ गतेसम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सकिएको थियो। वर्षात् कम हुँदा यो वर्ष असारको मध्यमसम्ममा न्यून मात्रामा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। दाङ उपत्यकाको तुलनामा देउखुरी क्षेत्रमा धान रोपाइ समयमै हुने गरे पनि यो वर्ष देउखुरी क्षेत्रमा पनि कम हालसम्म कम रोपाइ भएको छ। 

जिल्लामा करिब ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।  दाङमा असार १५ लाग्दै गर्दा अहिलेसम्म रासायनिक मलको माग आधा पनि पूरा हुन सकेको छैन्। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार जिल्लामा मागको करिब ५० प्रतिशतमात्रै आपूर्ति भएको छ। जिल्लामा करिब १० हजार मेट्रिक टन युरिया मल आवश्यकदेखिए पनि मागको करिब आधा मात्रै आपूर्ति भएको हो।

रासायनिक मलले माटो र स्वास्थ्यलाई असर 

किसानहरूलाई अहिले रासायनिक मलको अभाव  भएको छ। रासायनिक मलका कारण माटो र मानिसको स्वास्थ्यलाई पनि असर गरेको भएयता पनि रासायनिक मल नहाल्दा उत्पादन नहुने  तुलसीपुर उपमहानगरपालिका ६ का राजु वलीले बताए। उनले अहिले खेतमा धान रोप्न तयार भए पनि मलका कारण ढिलो भएको बताए। उनले पहिला गाईभैँसी पालेर त्यसैको मल खेतबारीमा हाल्दा माटो र मानिसको स्वास्थ्यमा पनि राम्रो भएको अनुभव गरेको बताए। अहिले रासायनिक मलको प्रयोगले माटो र स्वास्थ्यमा असर परेको उनको भनाइ छ। 

उनले भने,‘ अब यस्तो समय आएको छ। कुनै पनि खेती गर्दा रासायनिक मल नहाल्दा उत्पादन हुँदैन। खेती गर्नु भन्दा पहिला नै घरमा औषधि ल्याएर राख्नु पर्ने अवस्था आएको छ। खेतीमा विभिन्न रोग लागेर पनि समस्या हुन्छ। पहिला गाईभैँसीको मल प्रयोग गर्दा यस्तो समस्या हुँदैन्थ्यो।’

राज्यले अर्गानिक मलमा जोड दिनुपर्छ 

यसैगरी तुलसीपुर उपमहानगरपालिका १७ का स्थानीय डिल्लीबहादुर रावतले राज्यले कृषि क्रान्तिका नाममा रासायनिक मल र कीटनाशक औषधिलाई प्राथामिकता दिँदा अहिले माटो र स्वास्थ्यमा असर परेको बताए। उनले रासायनिक  मलले माटोलाई मरुभूमि बनाइरहेको भन्दै अब राज्यले अर्गानिक मल उत्पादन गर्न ध्यान दिनुपर्ने सुझाव दिए।

‘शुरुमा भारतको पञ्जाबबाट रासायनिक मल  प्रयोग गर्न शुरु भएको थियो। तर, अहिले  त्यहाँ अर्गानिक  मललाई नै प्राथामिकता दिइँदै आएको छ',  उनले भने, 'त्यसैले अब हाम्रो देशमा पनि रासायनिक भन्दा अर्गानिक मल प्रयोगमा जोड दिने वेला आएको छ।’ उनले गाउँ गाउँमा कृषि सम्बन्धी प्राविधिकहरू नहुँदा पनि दिनप्रतिदिन माटो बिग्रिँदै गएको र उत्पादनमा कमी हुँदै गएको दाबी गरे।  

 रैथाने धान बचाउन जरुरी : मेयर खड्का

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले आफूलाई किसानका समस्याबारे जानकारी रहेको बताए। उनले अहिले धानको खेती गर्न समयमा किसानले पानी, मल लगायतको समस्यामा रहेको भन्दै समाधान गर्नआफ्नोतर्फबाट प्रयास भइरहेको बताए। उनले पछिल्लो  समय रैथाने प्रजातिका धान लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरे। उनले हाइब्रिड धानका कारण रैथाने धान लोप हुन लागेको भन्दै अब संरक्षण गर्न जरुरी रहेको पनि बताए। 

‘पहिला हाम्रा घरमा धान, मकैको लगायत अन्यको बीउ हुन्थ्यो। त्यही बीउ हामीले रोपेर उत्पादन गर्ने गर्थ्यौँ', उनले भने, 'तर, अहिले हाइब्रिड धान बहुराष्ट्रिय कम्पनीलाई उत्पादन गर्न दिँदा रैथाने जातको बीउ हराउँदै गएको छ। यसले किसानहरू विभिन्न समस्यामा परेका छन्।’ उनले बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गरेको बीउ महँगो  हुँदा पनि सामान्य किसानहरूले किन्न नसक्ने भएकाले यो कार्य रोक्न जरुरी रहेको बताए। 

‘हामी बर्सेनि धान दिवस मनाउँछौँ। तर, किसानहरू बीउ र मल किन्न नसक्ने अवस्थामा रहेका छन्’, उनले भने, ‘अब सरकारले आफै उत्पादन गरेको बीउ र रासायनिक मल भन्दा प्रांगारिक मल प्रयोग गर्नमा किसानलाई सहयोग गर्नु पर्छ। होइन, भने यो धान दिवस औपचारिकता मात्र हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.