|

धनकुटा : धेरै ठाउँमा गर्मीले मानिसको दिनचर्यामा समस्या भइरहेको छ। धनकुटाका धेरै ठाउँमा गर्मी तथा कतिपय ठाउँमा न्यानो मौसम रहेको छ।

तर, धनकुटा पाख्रीबासको मौसम भने बाह्रै महिना चिसो हुने गरेको छ। हाल चिसो मौसम भए पनि गजल, कविता र मुक्तकले पाख्रीबासको माहौल तातिएको छ।

पाख्रीबासको चिसो मौसमलाई बेवास्ता गर्दै माहौल तताउन पाख्रीबासको पर्यटकीयस्थल संसारी सिमसारमा रहेको होटल ह्याङआउटको हलमा स्रष्टाहरूको जमघट भएको थियो।

कार्यक्रम थियो, पाख्रीबास कला साहित्य समाजले आयोजना गरेको कवि प्रज्वल पुकारको एकल कविता वाचन। कार्यक्रममा चर्चित गजलकारहरु उपस्थित थिए।

साहित्यसँग सम्बन्धित कार्यक्रम कमै मात्रामा हुने गरेकाले पनि पाख्रीवासमा काव्यको रसास्वादन गर्ने अवसर जुरेर होला तिनका पारखीहरू उल्लेख्य उपस्थिति थियो।

हलको अग्रस्थानमा रहेको स्टेजमा कवि पुकार बाहेक अरु कोही थिएनन्। औपचारिक कार्यक्रम सुरु भएपछि कार्यक्रम सञ्चालक ध्रुव एलेक्स पौडेलले केही अतिथिलाई स्वागत गर्दै यथास्थानमा बस्न भने र पुकारलाई कवि पुकारलाई सोझै कविता वाचन गर्न लगाए। मञ्चमा रहेका कवि पुकारलाई पीपलका पातमा कवि लेखिएको र कार्यक्रम सञ्चालक पौडेललाई पीपलकै पातमा कार्यक्रम सञ्चालक लेखिएको व्याच लगाए।

त्यसपछि कवि पुकारले आफ्ना अग्रजलाई सम्झँदै ७ वटा कविता वाचन गरे। उनले आमा, धितो, फूलमतीको यौन आन्दोलन, डिभोर्स, झरी, ताजा समाचार र पोष्टमार्टम शीर्षकका कविता वाचन गरे। हलमा उपस्थित रहेका सहभागीहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए।

बीच बीचमा वाह... वाह.. र वान्स मोर जस्ता शब्द निकालिरहेका थिए।

पुकारले कविता वाचन सकेपछि पाख्रीबासका साहित्यकार ओमप्रकाश निरौलाले छोटो भनाइ राख्दै स्थानीय तहले निर्माण गर्ने पाठ्यक्रममा स्थानीय कवि तथा साहित्यकारको रचना समेटेर पाठ्यक्रम बनाउनुपर्ने बताए। उनले स्थानीय विद्यार्थीले स्थानीय साहित्यकारलाई चिन्ने वातावरण बनाउनु पर्ने बताए।

त्यसपछि उपस्थित गजलकारहरूले माहौललाई तताए। हलमा उपस्थित धनकुटाका पत्रकार तथा कवि रमेशचन्द्र अधिकारी, पत्रकार तथा कवि नरेन्द्र कश्चित राई, कवि नगेन्द्र बस्नेत, कवि सञ्जय सयल, कवि अनिल सुवेदी, कवि मुकुन्द प्रयास, कवि तथा पत्रकार सन्तोष सुवेदीले कविता वाचन गरे।

त्यसपछि लमजुङकी कवि सम्झना जोशी, नवलपुरका कवि सुदिप कोइराला, धादिङका कविन्द्र इटनीले पनि कविता वाचन गरे भने धनकुटाका कवि केजी सुब्बा, इन्दु केसी,ओम प्रकाश निरौला, निश्चल भण्डारी, रोशन परियार, अनन्त अनुरागले कविता वाचन गरेपछि कार्यक्रम सञ्चालक ध्रुव एलेक्स पौडेलले आफ्नो कविता सुनाउँदै कार्यक्रमको समापन गरे।

साहित्यिक कार्यक्रम कम हुने गरेकाले सबैलाई रचना वाचन गर्न दिइएको पौडेलले बताए। सोही अवसरमा कवि पुकारकै अध्यक्षतामा ७ सदस्यीय पाख्रीबास कला साहित्य समाजको पुनर्गठन गरिएको छ। समाजको उपाध्यक्षमा अनन्त अनुराग, सचिवमा ध्रुव एलेक्स, कोषाध्यक्षमा इन्दु केसी रहेका छन्।

यस्तै सदस्यहरूमा ईश्वर दाहाल र रोजा घिमिरे रहेका छन् भने समाजको संरक्षणमा रोशन परियार र सल्लाहकारमा मुकुन्द प्रयास, ओम प्रकाश निरौला र सन्तोष मानन्धर रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.