|

काठमाडाैं : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीको अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरिएकाे छ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गा प्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा भानुभक्तलाई पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले विगतमा भानुजयन्तीका अवसरमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाद्वारा आदिकवि भानुभक्तको रचना वाचन गर्ने कार्यक्रम राखिएको उल्लेख गरे।

उनले भने, 'छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीले सिकून् भन्ने नै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य हो र यसले कविता–साहित्यको प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान दिनेछ भन्ने हाम्रो विश्वास रहेको छ।'

भानु बहुआयामिक व्यक्तित्व भएको र भौगोलिक सीमाभन्दा बाहिर गएर भानुजयन्ती मनाउनुपर्नेमा उनले जोड दिए। उनले भाषा–संस्कृतिको एकताको विम्बका रूपमा भानुभक्तलाई लिइने गरिएको बताए।

कार्यक्रमका सभाध्यक्ष तथा उपकुलपति डा.जगमान गुरुङले आयोजित कार्यक्रम पुस्ता हस्तान्तरणको सुन्दर नमुना भएको विचार व्यक्त गरे। उनले भानुभक्तलाई विद्यार्थीका बीचमा पुर्‍याउने उद्देश्यले बालबालिका केन्द्रित कार्यक्रम गरिएको उल्लेख गर्दै प्रवचनकर्ताबाट भानुभक्तको जीवनीसम्बन्धी नयाँ कुरा आएको बताए।

उनले भानुभक्तजस्ता विलक्षण क्षमता भएका प्रतिभाहरूलाई राष्ट्रले खोजी खोजी सम्मान गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.