|

पर्वत : ‘म मर्न तयार छु! फलेवास रङ्गशाला मर्न दिन्नँ! चाहे मेरो छातीमा गोली लागोस्, शासकहरूबाट नै आज  खेलाडी र फलेवासीको भविष्यमाथि बन्दुक हान्ने आदेश दिँदै हुनुहुन्छ? खबरदार।’जिल्लाको फलेवास नगरपालिका–५ देवीस्थानका  नागरिकहरूले सामाजिक सञ्जाल फेसबुकमा रहेको स्ट्याटस अंश हो यो।

कालीगण्डकी प्रसारण कोरिडोरको कुश्मा–बुटवल खण्ड विस्तारको लाइन सार्न माग गर्दै फलेवासको देवीस्थानका बासिन्दा आन्दोलनमा छन्। प्रसारण लाइनका कारण नगरकै गौरवका रूपमा निर्माणाधीन फलेवास रङ्गशाला विस्थापित हुने भन्दै देवीस्थानवासीले ‘हाइटेन्सन’ ‘लाइन’ लाई अन्यत्रैबाट लैजानुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन्।

स्थानीय लकास सुवेदीले राष्ट्रिय स्तरको रङ्गशाला, आधारभूत विद्यालय र क्षेत्रीय स्तरको बसपार्क रहेको ठाउँलाई सखाप पारेर अन्य आयोजनालाई प्राथमिकतामा राख्नु राज्यको नै गलत प्रवृत्ति भएको बताउँछन्। विकासको एउटा परियोजनाले विकासको अर्को परियोजनाको अस्तित्व मेटाउनुले कुनै पनि प्रकारका विकासका उद्देश्य पूरा नहुने उनको भनाइ छ।

‘फलेवास रङ्गशाला बचाउन हजार युवाहरू तयार छन्। निर्माणाधीन खेलमैदान र यसले बोकेको भविष्य सँगसँगै हजारौँ मानिस भित्रिने गण्डकी प्रदेशकै ठूलो फलेवास रङ्गशाला हो,’ उनले भने, ‘यस ठाउँको गरिमालाई धज्जी उडाउँदै विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार गर्नु खेदजनक छ। उक्त विवादित ठाउँमा अध्ययन गरी प्राविधिक रूपमा साबिकको रङ्गशालालाई हानि नपुग्ने गरी केही पश्चिम डिलतिरबाट विकल्पको सम्भावनालाई प्रयोग गर्नु प्रसारण लाइन विस्तार गर्नेहरूको आवश्यकता हो।’

विकासको कामअन्तर्गत ‘हाइटेन्स’ ‘लाइन’ को विरोध नभई उक्त लाइनले फलेवासकै गौरवको रूपमा रहेको रङ्गशालाको अस्तित्व सङ्कटमा पार्ने भएकाले त्यसको विरोध गरेको स्थानीयको भनाइ छ।

कोरिडोर आयोजना कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण प्रदेश र केन्द्र सरकारको समेत प्राथमिकतामा परेको निर्माणाधीन रङ्गशाला लगायतका पूर्वाधारमा क्षति पुग्ने गरी भइरहेको काम वैकल्पिक बाटोबाट गर्न नगरपालिकासमेतले सम्बन्धित निकायलाई आग्रह गरेको छ। फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन, विद्युत् प्राधिकरण, आयोजना कार्यालय लगायतलाई आयोजनाका टावर निर्माण गर्दा सार्वजनिक संरचना जोगिने गरी वैकल्पिक उपाय खोज्न दबाब दिएको छ। विकासका नाममा सबै नागरिकलाई उठिबास लाउन नमिल्ने स्थानीय ढाकाराम सुवेदी बताउँछन्।

अर्का स्थानीय दिवाकर भुसालले नागरिकको संरक्षण गर्ने राज्यले नै नागरिकको उठीबास गराउन खोज्नु गलत भएको तर्क गर्छन्।

‘लाइन विस्तारका अरू विकल्पहरू हुँदाहुँदै  त्यही ठाउँबाट नलगी नहुने के छ? त्यो भनेको हाम्रो छातीमा गोली ठोक्नुजस्तै हो,’ उनले भने, ‘अहिले निर्माण गर्नेभन्दा १५ मिटर परबाट लाइन लैजानुहोस् भनेको हो। रङ्गशालाको बीचबाट टावर लैजान दिँदैनौँ।’ स्थानीयका अनुसार ‘हाइटेन्सन’ का तीन ओटा टावरलाई अहिले ‘मार्किङ’ गरेको स्थानबाट १५ मिटर पश्चिमतर्फ सार्दा दुवै पक्षलाई क्षति हुँदैन।

नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले यसअघि १६ असारमा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय सच्याउन माग गरेको छ। बैठकले राष्ट्रिय महत्त्वको आयोजना भएकाले प्राविधिक ‘एलाइनमेन्ट’ अनुसार प्रसारण लाइन विस्तार गर्ने निर्णय गरेको थियो।

फलेवासका नगरप्रमुख तिवारीले आफूले फलेवासको विकास र जनताविरोधी कामको सधैँ विरोध गर्ने भन्दै उक्त निर्णय सच्याएर टावर सार्न जुनसुकै निकायमा दबाब दिन पछि नपर्ने बताए। अहिले तोकिएको भन्दा केही पर ‘लाइन’ सार्दा दुवै पक्षको माग पूरा हुने अवस्था रहने र फलेवासको गौरवको रूपमा रहेको रङ्गशालामा कुनै पनि असर नपर्ने भएकाले लाइन सार्ने बारेमा फलेवासवासीले आफूलाई पनि तीव्र दबाबमा राखेको उनको भनाइ छ।

तर आयोजना प्रमुख आयोजना प्रमुख चन्दनकुमार घोषले भने प्राविधिक मूल्याङ्कनबाट गरिएको निर्णय अटेर गरी आयोजना रोक्न खोजे कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी दिएका छन्। स्थानीयले तीन ओटा टावर निर्माणमा अवरोध गरिरहेको बताउँदै उनले ‘एलाइन्मेन्ट’ कहिल्यै परिवर्तन नहुने भएकाले ‘टावर’ सार्ने विकल्प आफूहरूसँग नरहेको बताउँछन्।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि बुटवलसम्मका दुई सय ३३ ओटा मध्ये दुई सय ३० ओटा टावरहरूको निर्माण कार्य पूरा भइसकेको छ।

पाँच बिगाहा भन्दा बढी क्षेत्रमा फलिएको खेल मैदान लामो समयदेखि चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको थियो। अहिले निर्माणाधीन अवस्थामा रहेको रङ्गशाला धौलागिरि अञ्चलकै पहिलो व्यवस्थित र पूर्वाधारयुक्त रङ्गशाला बन्ने दाबी फलेवास नगरपालिकाले गरेको छ।

रङ्गशाला निर्माणका लागि २९ करोड बजेट लाग्ने अनुमान गरिएको छ। हालसम्म नगरपालिकामार्फत ४६ लाख, प्रदेश सरकार मार्फत १० लाख र सङ्घ सरकार मार्फत ३० लाख बजेट विनियोजन गरी काम भइरहेको छ। गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्र्याकसहित फुटबल मैदान, कभर्ड हल पनि रङ्गशालामा निर्माण हुँदै गरेको रङ्गशाला निर्माण समितिका सचिव हिटलर थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.