|

हेर तिमी र ममा फरक कति छ कति छ 
तिमीलाई केवल आफू मात्र आफू बन्नु छ 

मलाई तिमी, ऊ अनि सके आफू बन्नु छ  
त्यसैले भन्छु तिमीलाई म बन्न धेरै गार्हो छ ।

तिमी गुलावको फूलमा त काँडा छ भन्छौ 
म काँडाको बीचमा त गुलाव फूल्छ भन्छु 
तिमी कमल कस्तो हिलोमा फूल्यो भन्छौ 
म हिलोमा कमल कति राम्रो फूल्यो भन्छु ।

तिमी मेरो अनुहारको हासो मात्र देख्छौ 
म तिम्रो हासोभित्रको पीडा पनि देख्छु 
तिमी मबाट केही पाउँदा खुसी हुन्छौ 
म तिमीलाई केही दिन सक्दा खुसी हुन्छु ।

मलाई तिमी बन्न फेदैबाट उक्लिनुपर्छ 
तिमीलाई म बन्न टुप्पोबाट झर्नुपर्छ  
तिमी खहरे हुँदा म खोला भई बग्नुपर्छ 
हामी एकै बन्न सागरमा गई मिल्नुपर्छ ।

बिडम्बना तिमी कोलाहलमा विश्वास गर्छौ 
म शान्तिसँग समाधान खोज्दै अघि बढ्छु  
हुन सक्छ तिम्रो उसको नजरमा म गलत छु  
एकदिन समयले भन्छ बास्तवमा को गलत छ । 

त्यसैले फरक छ हामीबीच धेरै फरक छ 
तिमीले नदेखेको मेरो भोगाई गराई अलग छ 
मैले लुकाई राखेको गहिरो इतिहास पृथक् छ  
किनकि हाम्रा सोच विचार धेरै धेरै फरक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.