|

काठमाडौँ : मतदाता शिक्षामा निर्वाचन आयोगले २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको थियो। १६ भाषामा मतदाता शिक्षा सामाग्री प्रकाशन गरेको आयोगले मतदाता शिक्षा कार्यकर्तालाई भर्ती गरेर  भोट हाल्न सिकाउनका लागि मात्रै  ७५ करोड खर्च गरेको थियो। तर अहिले धेरै मतहरु बदर भइरहेका छन् अर्थात आयोगको लगानी बालुवामा पानी भएको छ।

एक महिनासम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा पनि प्रभावकारी काम हुन सकेन। उम्मेदवारको मत बदर संख्याको अनुपात १००० मत गन्दा सात मत बदर भएको जानकारी निर्वाचन आयोगमा प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 'बाहिर सार्वजनिक भएजस्तो धेरै मत बदर भएको छैन १००० गणना गर्दा सात बदर भएको जानकारी हामीलाई प्राप्त भएको छ,' प्रवक्ता शर्माले भने।

सबै दोष राजनीतिक दललाई थोपार्दै आयोग

मतदाता शिक्षा  प्रभावकारी नभएको, मतगणनामा ढिलाई भएको भन्दै चौतर्फी आलोचना बढ्दै गएपछि निर्वाचन आयोगले दोष जति राजनीतिक दलहरुलाई थोपरेको छ ।

१ मतगणना ढिलाईमा दल नै जिम्मेवार

दलहरुले अनावश्यक झन्झट सिर्जना गर्दा मतगणनामा ढिलाई भएको निर्वाचन आयोगको आरोप छ। निर्वाचन आयोगले दलहरुले मतगणनालाई तीव्रता दिन दलीय सहयोग प्राप्त नभएको भन्दै विज्ञप्ति प्रकाशित गर्‍यो। 'मतगणना कार्य निरन्तर चलिरहेको र मतपरिणाम पनि प्राप्त भइरहेको अवस्थामा कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेद्वारको तर्फबाट स-सना र आधारहीन विषयमा समेत अनावश्यक समस्या खडा गरी मतगणनाको कार्य लम्ब्याउने गरेको पाइएको छ,' विज्ञप्तिमा भनिएको छ।

२ मतबदर हुनुमा पनि दलनै दोषी

निर्वाचन आयोगले मत बदर हुनुमा पनि दलहरुनै दोष भएको दाबी गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बदर मतको अनुपात बढ्नुमा आयोग मात्रै दोषी नभएको बताएका हुन्। विशेष निर्वाचनका लागि विशेष शिक्षाको आवश्यकता पर्ने भन्दै उनले मतदाता शिक्षाको कमीले बदर मतको संख्या बढ्यो भन्न नमिल्ने तर्क गरे। दल विशेषले दिने मतदाता शिक्षामा राजनीति पनि मिसिएर गएको उनको भनाइ छ।'मत बदर हुनुमा दलहरु पनि उत्तिकै जिम्मेवार छन् । आफ्ना उम्मेदवारले प्राप्त गर्ने मत बदर नहुनेगरी संकेत गर्न  सिकाउनु उहाँहरुको पनि दायित्व हो,' प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने।

बुधबार राजधानीमा निर्वाचन पर्यवेक्षण गरेका गैर सरकारी संस्थाले गरेको कार्यक्रममा यादवले बदर मतको संख्या बढ्नुका अन्य धेरै कारण रहेको बताए। आयोग र सरकारको आलोचना गर्नेहरुलाई आलोचना मात्रै नभएर काम गरेर देखाउन चुनौती दिए। निर्वाचन पर्यवेक्षण गर्ने अनुमति लिएका संघ-संस्था, पूर्व निर्वाचन आयुक्त लगायतले आयोगको मतदाता शिक्षा सूचनामा मात्रै सीमित भएकाले बदर मत बढेको बताईरहेका बेला प्रमुख आयुक्त यादवले आयोग मात्रै त्यसको दोषी नभएको दाबी गरे।

किन भयो मत बदर ?

मत धेरै बदर हुनुमा तीनवटा कारण रहेका छन्। मतदाता शिक्षा प्रभावकारी नहुनु, निर्वाचन आयोगले हतारोमा मतपत्र छपाई गर्नु र दलहरुले प्रभावकारी प्रचार नगर्नु प्रमुख कारण हुन्।

१ मतदाता शिक्षा अभाव

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार कार्यकर्ता परिचालन गरेको थियो। एक महिना कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी हुन सकेन। मतदान हुनु ४ दिन अघि थप ६ हजार ६ सय ४२ स्वयंम्सेवी पनि खटाइएको थियो। तर मतदाता शिक्षा प्रभावकारी देखिएन। 

२ मतपत्र छाप्न हतारो

योगले मतदाताको सहजता भन्दा पनि आफ्नो सहजता हेरेर मतपत्र छाप्दा बदर मतको संख्या बढेको हो। आयोगले १९ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो भने त्यसको एक महिनाअघि नै मतपत्र छाप्न सुरु गरेको थियो। नामावली प्रकाशन हुनु अगावै मतपत्र तयार भएका कारण उम्मेदवार नभएका दलको निर्वाचन चिह्न पनि मतपत्रमा समावेश भयो। जसका कारण मतदाता अन्यौलमा परे।

आयोगले उम्मेदवारको टुंगो नभईकन मतपत्र छाप्नु आफूहरुको बाध्यता भएको बताए। 'उम्मेदवार नै नभएको स्थानको मतपत्रमा पनि दलका चुनाव चिन्ह राखेर अनावश्यक रुपमा मत पत्रको आकार बनाउनु हाम्रो बाध्यता थियो। थोरै समयमा धेरै काम गर्नुपर्ने भएको यो परिस्थिति सिर्जना भएको हो,' यादवले भने।

दलीय प्रचार अभाव

स्थानीय तह निर्वाचन दलहरुले ‍विभिन्न तहमा तालमेल समेत गरे। दलहरुले तालमेल अनुसार मतदान गर्न मतदातालाई सिकाएनन्। उनीहरुले सातै छाप आफ्नै चुनाव चिन्हमा संकेत गर्न सिकाएपछि उम्मेदवार नै नभएको चुनाव चिन्हमा समेत मत संकेत भएको छ। यसले पनि धेरै मत बदर भएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.