इलाम : आगामी असोज २८ गतेदेखि पोखरामा ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ। क्रिकेट खेल भने उद्घाटन भन्दा एक महिनाअघि नै काठमाडौंमा सुरु भएको थियो।
त्रिवि खेल मैदानमा १८ र मूलपानीमा ११ वटा खेल आयोजना गर्ने तय भएको थियो। तर प्रतियोगितामा वर्षा बाधक बन्यो। मूलपानी मैदानमा भदौ २८ गतेसम्म हुनुपर्ने ११ मध्ये कुनै पनि खेल टस समेत हुन नपाइ अंक बाँडिएका छन्। त्रिवि मैदानमा समेत १३ खेलमा ८ खेल नतिजाविहीन बनेको छ। यस्तो अवस्थामा उपाधिको दाबेदार मानिएको बागमती प्रदेश र विभागीय टोली एपीएफले एक खेल समेत नखेल्दै समूह चरणबाट बाहिरिन बाध्य भएका छन्।
वर्षाले प्रभावित प्रतियोगिताको मिति समायोजनाका लागि मंगलबार साँझ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा गैर आवासीय नेपाली (एनआरएन) बाहेकका १० वटा टोलीका प्रशिक्षक, कप्तान र म्यानेजर सहभागी थिए। सहभागीमध्ये ९क्लब मिति समायोजन बारे एकमत थिए। तर विभागीय टोली त्रिभुवन आर्मीले फरक मत राखेपछि बागमती र एपिएफ बाहिरिए। आईसीसी र क्यानको नियमअनुसार नै प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आर्मीको माग छ।
बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात ९ वटा टिमले गरेको मिति समायोजनको माग नमान्नु दुर्भाग्यपूर्ण भएको बताउँछन्। बेमौसममा भएको प्रतियोगिताले राष्ट्रको लगानीसंगै खेलाडीको मेहनतको समेत अवमूल्यन भएको उनले बताए। ‘ग्राउण्डमै नपसी कसरी प्रतियोगिताबाट बाहिरियो? खेलाडीको सपना र राष्ट्रको लगानी सबै पानीले बगायो।
आर्मी सेमीफाइनलमा पुग्ने प्रबल सम्भावना भएकाले फरक मत राखेको होला? ९० प्रतिशत खेल नहूँदा ९ वटा टिमले रिसेडुल गरौँ भन्दा पनि नमान्नु दुर्भाग्यपूर्ण हो।’ उनले भने ‘राखेप अभिभावक भएकाले आर्मीलाई मात्र हेर्नुभएन् ११ वटा टिमलाई हेर्नुपर्छ। ९ वटा टिमले फरक मत राखेको छ भने समायोजन गर्नुपर्छ भन्ने हाम्रो माग हो। नयाँ खेलाडीलाई एक्सपोजर दिने एउटा राम्रो अवसर समेत हो।’
मैदान नै निर्णय नभई हतारोमा आयोजना भएको प्रतियोगिताले नेपाली क्रिकेटमा सुधार नल्याउने बस्न्यातले बताए। ‘प्रतियोगिता आयोजकले सम्पूर्ण टिमलाई समायोजन गर्नुपर्यो। कुल १८ वटा खेल भएको छैन्। खेलाडीले मेहनत गरेको छ। ‘इग्नोर’ गरेर अघि बढ्ने त ?’ उनले भने ‘प्रतियोगिता गर्दा हुनुपर्ने समयअगावै बर्खामा गर्नु सबैभन्दा दुर्भाग्य हो।
खेलमैदान नै टुंगो नभई टीयूु बाहेक माथिल्लो मूलपानीमा गेम गर्ने भनिएको छ। त्यहाँ पनि नभएपछि तल्लो मुलपानीमा सार्दा पनि ११ वटा खेल नहुनु भनेको त काल्पनिक कुरा भयो।’ राखेपले ठोस निर्णय दिन नसक्दा समस्या पैदा भएको उनी बताउँछन्। ‘मैदान नै नपुगी टिम बाहिरिएको छ। यस्तो अवस्थामा राखेपले मौन भएर एउटा टिमको निर्णयमा लाग्नु नेपाली क्रिकेटका लागि दुर्भाग्य हो। यसको जिम्मेवारी कस्ले लिने ? प्रदेशको अध्यक्ष भएकाले खेलाडीले सोध्छन्, मैले के जवाफ दिने ?’
समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन्। समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपीएफ क्लब छन्। बागमतीले पहिलो खेलमा प्रदेश १ संग भदौ २३ गते प्रतिस्पर्धा गर्ने मिति तय भएको थियो। तर टसका लागि बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल मैदान प्रवेश गर्नेवित्तिकै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो। समूह ए मा नेपाल पुलिस क्लब ४ खेलमा २ मा जित र २ अंक बाँड्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ।
आर्मी ४ खेलमा २ मा जित र २ खेलमा अंक बाँड्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ। समूह बी मा एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो। एक जित र २ खेलमा अंक बाडेको सुदूरपश्चिमले समेत सेमिफाइलनमा स्थान बनाएको छ।
बागमती ४ खेलमा अंक बाड्दै ४ अंकका साथ तेस्रो स्थानमा रह्यो। एपीएफ चार खेलमा चार नै अंक बाँडेर चौथो स्थानमा रह्यो। प्रदेश १ चार खेलमा ३ अंक बाडेर समुह बी को अन्तिम स्थानमा रहँदै बाहिरिएको छ। समूह बीका कुल १० खेल हुनुपर्ने भए पनि दुई खेलको मात्र नतिजा आयो। अन्य ८ खेलमा अंक बाड्नु पर्यो। कर्णालीले बुधबार पहिलो खेलमा टीयूमा गण्डकीसँग खेल्नेछ। पुलिस र आर्मी आमनेसामने हुनेछन्। कर्णालीले विशाल जित निकाल्दा र पुलिससँग आर्मी पराजित हुँदा भने आर्मी बाहिरिने सम्भावना रहन्छ। कर्णालीले ४ मध्ये १ जित र २ खेलमा अंक बाडेको छ।
मधेश प्रदेशले ५ खेल मध्ये ३ खेलमा अंक बाँड्दै बाहिरिएको छ। त्यसैगरी आजको खेलमा आर्मीसँग पराजित भएपछि लुम्बिनी समेत बाहिरिएको छ। २ मा हार र तीनमा अंक बाँड्दै ३ अंक जोडेर पुछारमा रहेर बाहिरियो। सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।