कि पत्रकारिताबाट, कि राजनीतिबाट अलग हुनुपर्छः प्राध्यापक खरेल

|

काठमाडौँ: स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका कतिपय पत्रकार विजयी बनेका छन् भने कतिपय पराजित भएर मैदानबाट फर्किएका छन्। चुनावमा कति जना पत्रकार उम्मेदवार थिए र कति पत्रकार विजयी भए भन्ने यकिन तथ्यांक प्राप्त नभए पनि स्थानीय चुनावमा पत्रकारको उम्मेदवारी यस पटक चर्चाको विषय बन्यो।

चुनावी मैदानबाट फर्किएकी एक पत्रकार हुन्, राधिका ढकाल। कारोबार दैनिकमा कार्यरत ढकाल काभ्रेको मण्डनदेउपुर नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिइन्। नगरको उपप्रमुख निर्वाचित हुन उनीसँग ३४१ मत कम भयो। उनले सात हजार १६० मत ल्याइन् भने विजयी हुने एमालेकी निर्मला शाहीले सात हजार ५०१ मत ल्याइन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरूले विजय प्राप्त गरे।  

चुनावी दौडमा दोस्रो भएर भर्खरै काठमाडौँ फर्केकी राधिका ‘राजनीति निकै चुनौतीपूर्ण रहेको अनुभूति भएको’ बताउँछिन्। ‘नागरिकको एक एक भोट लिएर नेतृत्वमा पुग्नेहरूले शासनमा पुगेपछि तिनै जनतालाई कति छिटो बिर्सन सकेको होला भन्ने लाग्यो’, ढकाल भन्छिन्, ‘हामी राजनीति गर्नेहरू त केही पनि होइनौँ, मुख्य कुरा त जनता रहेछन्, मतदाता रहेछन्।‘ नेताहरूले नागरिकको अमूल्य मतको सम्मान गर्न सकेका रहेनछन् भन्ने बुझेर आफू फर्किएको उनले बताइन्।

चुनावमा पराजित भए पनि स्थानीय क्षेत्रको विकासमा आफू लागिरहने उनले बताइन्। ‘म एक दिन राजनीतिमा जान्छु भन्ने त थियो तर यही चुनावमा सहभागी हुन्छु भन्ने थिएन। पार्टीले जिम्मेवारी दियो, मैले पूरा गरेँ’, उनले भनिन्, ‘पराजित भए पनि म मेरो क्षेत्रको विकासमा सक्रिय रहन्छु।‘

पत्रकारितामा स्नातकोत्तर (एमए) गरेकी, धेरै वर्षदेखि पत्रकारितामा रहेकी उनले मिडियाको नशा भने छोड्न नसकेको बताइन्। ‘कुनै न कुनै रूपमा मिडियासँग जोडिन्छु। राजनीतिलाई पेशा बनाउनु हुँदैन। राजनीतिसँगै अन्य के व्यवसाय गर्ने भन्ने सोच्दै छु‘, उनले भनिन्।

टेलिभिजन पत्रकार उद्धवराज भेटवाल पनि यस पटक चुनावी दौडमा थिए। उनले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ बाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। ‘यो मेरा लागि जनताको घरदैलोसम्म पुग्ने र उनीहरूको राजनीतिक मनोविज्ञान बुझ्ने उत्कृष्ट अवसर थियो। भावी दिनमा राजनीति गर्न एउटा आधार पनि थियो’, उनले अनलाइनखबरमा चुनावी डायरी लेखेका छन्, ‘राजनीतिमा पूरै होमिने स्थिति पनि नभएको र सक्रियता पनि बढाउनुपर्ने भएकाले मेरो लागि यो स्थानीय निर्वाचन उपयुक्त अवसर बन्यो।‘ यो चुनावी अभियानले आउँदो राजनीतिक यात्रा अघि बढाउन सहज भएको उनको अनुभव छ।

नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका पत्रकार विद्रोही गिरीले पनि आफूलाई सहयोग गर्नेलाई फेसबुकबाट सम्झिएका छन्। उनी कांग्रेसका शशिकिरण बस्ताकोटीसँग पराजित भए।

कास्की आवाज दैनिककी प्रकाशकसमेत रहेकी पत्रकार सरस्वती गुरुङ पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखको दौडमा छन्। जारी मतगणनामा उनले नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङलाई पछ्याइरहेकी छन्।

जाजरकोटका पत्रकार दीपेन्द्र शर्मा कुशे गाउँपालिकाको वडा नम्बर ३ मा पराजित भए। उनी माओवादी केन्द्रका उम्मेदवार थिए। 

र, जसले जिते

बागलुङ एफएमका स्टेसन म्यानेजर ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका वडा नम्बर ११ को अध्यक्ष निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थिए।

प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार उपेन्द्र केसी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ को अध्यक्ष निर्वाचित भएका छन्।

यस्तै पत्रकार सविन न्यौपाने कांग्रेसबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्ष निर्वाचित भएका छन्। हेटौँडाकै पत्रकार नवीन सिग्देल नेकपा एमालेका तर्फबाट वडा नम्बर ५ का अध्यक्ष निर्वाचित भएका छन्।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा हामफालेका घनश्याम भण्डारी दैलेखको दुल्लु नगरपालिकाको प्रमुख निर्वाचित भएका छन्। २०५६ सालमा काठमाडौँमा 'चुलिमालिका साप्ताहिक' बाट पत्रकारिता सुरु गरेका भण्डारी २०५९ सालमा माओवादीबाट बुबा पूर्णबहादुरको हत्या भएपछि २०६० सालमा दैलेख फर्किए। दैलेखमा रहँदा उनले नेपाल समाचारपत्र, राजधानी दैनिक र न्युज २४ टेलिभिजनको स्थानीय सम्वाददाता भएर काम गरे। दैलेखमा पहिलो पटक साप्ताहिक पत्रिका प्रकाशित गर्ने श्रेय पनि उनैलाई जान्छ। उनी हाल रेडियो दुल्लुको प्रबन्धक हुन्।   

वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा विजयी देवकुमार सुवेदी नेपाल प्रेस युनियनका दुई पटकका जिल्ला अध्यक्ष हुन्। उनी अहिले पनि नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद (पार्षद) हुन्। कांग्रेसबाट उम्मेदवारी दिएका उनी १४ हजार ४०५ मत प्राप्त गरी वीरेन्द्रनगर नगरपालिकाको प्रमुख विजयी भएका हुन्। सुवेदीका निकटतम प्रतिद्वन्द्वी बालाराम शर्मा पनि पत्रकार नै हुन्। उनी २०५४ सालको स्थानीय चुनावमा नगर प्रमुखमा निर्वाचित भएका थिए। 

पत्रकार लक्ष्मी पौडेल स्थानीय तहको निर्वाचनमा सुनकोसी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भइन्। उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ४२१ मत बढी अर्थात चार हजार २०६ मत ल्याइन्। नेपाली कांग्रेसबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएकी उनले २०६८ सालदेखि ‘सिन्धु सञ्चार साप्ताहिक’ प्रकाशन गर्दै आइरहेकी छन्। उनी त्यस पत्रिकाको सम्पादकसमेत हुन्।

‘राजनीति र पत्रकारितालाई सँगसँगै अघि बढाएकी’ उनले पत्रकारिता र राजनीतिको उद्देश्य समाज रहेको बताइन्। ‘मैले पत्रकारिता गर्दा पनि गाउँगाउँमा रिपोर्टिङ जान्थेँ। एउटा पत्रकारले नागरिकका पीडा मात्र लेख्‍दैन, त्यसलाई महसुस पनि गर्छ’, उनी भन्छिन्, ‘पत्रकारिता जस्तै राजनीति पनि राम्रो नीति बनाएर समाज बनाउने क्षेत्र हो।‘   

कानुनमा स्नातक (एलएलबी) उत्तीर्ण उनी अधिवक्तासमेत हुन्। गाउँपालिका उपाध्यक्ष न्यायिक समितिको संयोजकसमेत हुने संवैधानिक व्यवस्था रहेको र आफू कानुनी पृष्ठभूमिको भएकोले नागरिकले आफूलाई जिताएको हुनसक्ने उनी बताउँछिन्। सुनकोसी गाउँपालिकाको केन्द्र अहिले लामासाँघुमा राखिएको छ, जुन सबै गाउँबासीलाई पायक नपर्ने उनी बताउँछिन्।

‘मेरो पहिलो प्राथमिकता केन्द्र निर्धारण हो। सबै जनतालाई पायक पर्ने गरी केन्द्र निर्धारण गर्छौँ’, उनी भन्छिन्, ‘नमुना गाउँपालिका बनाउने गरी योजनाहरू तर्जुमा गर्छौँ।‘ 

कि पत्रकारिताबाट, कि राजनीतिबाट अलग हुनुपर्छः प्राध्यापक खरेल
पत्रकारिताका प्राध्यापक पी खरेल पत्रकारले चुनाव लड्नु स्वाभाविक भए पनि राजनीतिमा लाग्नुअघि उसले पत्रकारिताबाट आफूलाई अलग गर्नुपर्ने बताउँछन्। ‘चुनाव लड्न पाइन्छ तर त्यसअघि उसले पत्रकारिता छोड्दा राम्रो’, उनी भन्छन्, ‘पत्रकार कुनै दलको कार्यकर्ता बन्नु र चुनाव लड्नु अनि फेरि पत्रकारितामा फर्किनुलाई स्वाभाविक मान्न सकिँदैन। उसले आफूलाई कि राजनीतिबाट, कि पत्रकारिताबाट अलग गर्न सक्नुपर्छ।‘ नेपालका पत्रकारले मिडियामार्फत नै राजनीतिक आन्दोलनहरूलाई सहयोग पुर्‍याएको उदाहरण दिँदै प्राध्यापक खरेल भन्छन्, ‘अब आफूले खोजेको जस्तो व्यवस्था आइसक्यो। अब पनि एक्टिभिस्ट (कार्यकर्ता) भैरहनु हुँदैन।‘ ‘नेपालका अधिकांश पत्रकार कुनै न कुनै दलका भ्रातृ संगठनका सदस्य रहेको’ बताउँदै खरेलले ‘११ हजारभन्दा बढी पत्रकार भएको ठाउँमा केही पत्रकारले चुनाव लड्नुलाई आफूले स्वाभाविक रूपमै लिएको’ बताए। ‘यो नौलो होइन, अब यो ट्रेन्ड अझ बढ्छ’, उनी भन्छन्। चुनाव लडेको वा राजनीतिमा रहेको व्यक्ति पुनः पत्रकारितामा आउन सक्ने भए पनि उसले पत्रकारिताको मर्यादा र आचारसंहिता बुझ्न सक्नुपर्ने खरेल बताउँछन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.